NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जब रुद्रप्रसाद शर्माले पुस्तकबाट एक करोड कमाए

काठमाडाैं । सामान्य कामदारका रूपमा कोरिया पुगेका थिए, रुद्रप्रसाद शर्मा ‘पौडेल’ । तर कोरियन भाषाको पुस्तक लेखेर नाम र दाम दुवै कमाए । उनी कोरिया पुग्नुको कहानी लामो छ ।

कोरिया जानुअघि उनले पोखरामा अंग्रेजी पढाउँथे, भाषा पढाउने इन्स्टिच्युट पनि खोलेका थिए । सँगसँगै गेस्ट हाउसका मालिक पनि थिए । सरसापटी दिने स्वभावले गर्दा उनले असफलता व्यहोरे । त्यसपछि उनी हङकङ हुँदै कोरिया हानिए, कोरियामा उनको कर्म चम्कियो ।

कोरियामा पहिले उनले गार्मेन्टमा काम गरेका थिए । त्यसपछि मिनारी (पानीमा उम्रने साग) उत्पादन गर्ने ठाउँमा काम गर्न बाध्य भए । त्यहाँ उनले घुँडाघुँडा पानी हुने ठाउँमा डुबेर काम गर्नुपथ्र्यो । यता २४ प्रतिशत ब्याजसहितको ऋणको बोझ छँदै थियो । त्यसैले हरेस नखाई कर्म गरे, नयाँ अवसरलाई चियाउन थाले ।

‘सधैँ केही नयाँ गरौँ भन्ने लागिरहन्थ्यो । त्यहाँ मैले दिनमा काम र रातमा कोरियन भाषा सिक्न थालेँ,’ शर्मा भन्छन्, ‘आफूले जानेको अंग्रेजी भाषा कोरियनहरूलाई सिकाउन पनि थालेँ ।’

अब भने उनलाई केही नयाँ आभास हुन थाल्यो । कोरियनलाई अंग्रेजी बढाउँदै र कोरियन भाषा सिक्दै जाँदा उनी कोरियन भाषामा निपुर्ण भए।

‘मैले सन् २००३मा पहिलो कोरियन भाषा शिक्षक पुस्तक लेखेँ । त्यो भाषा किताब कोरियन, अंग्रेजी र नेपाली भाषामा प्रकाशित भयो,’ उनी भन्छन्, ‘मैले त्यस पुस्तकबाट एक करोड जति कमाएँ । त्यही किताबले मलाई चिनायो, ऋण मुक्त पनि बनायो । खोजी–खोजी ब्याजसहित सबैको ऋण तिरेँ ।’

बुवाको वाणी

‘बाबु, मानिस सत्यमा हिँड्यो भने धेरै माथि पुग्न सक्छ । सकेसम्म राम्रो मान्छे हुनुपर्छ है,’ अगेनाको वरिपरि बसेर मकै छोडाउँदै र पोलेको मकै खाँदै उनलाई पिताले भनेका थिए ।

एकपटक दशैँमा अरुलाई मासु दिन उत्प्रेरित गर्दै उनलाई बुवाले अर्को वाक्य भने, ‘मासु त कुकुरले पनि खान्छ, मानिसले सधैं बाँडेर खानुपर्छ।’

पिताका थुप्रै भनाइमध्ये उनको मनमा यिनै भनाइले डेरा जमाए । ‘सायद त्यसैको प्रभावले होला, व्यापारमा पारदर्शिता कायम गर्दै र कमाइको केही प्रतिशत सामाजिक काममा सघाउँदै आएको छु,’ उनी भन्छन्, ‘सत्य कुराले कहिल्यै हार्दैन, म सधैँ यसमा अडिग रहन्छु ।’

पर्वतको राम्जा चालिसे (हालको कुश्मा)मा सामान्य किसान परिवारमा जन्मेका हुन्, रुद्रप्रसाद । उनको बाल्यकाल गाउँमै पढेर, खेती–किसानीमा परिवारलाई सघाएर बित्यो ।

लालटिनको उज्यालोमा अक्षर

रुद्रका बुवा छोराछोरीलाई पढाउनैपर्छ भन्ने विचार र मान्यता राख्थे । उनी विद्यालय व्यवस्थापन समितिमा पनि थिए । त्यतिबेला गाउँमा टुकी बालेर पढ्नुपथ्र्यो ।

टुकीको धुवाँले छोराछोरीलाई पढ्न गाह्रो भयो भनेर उनले लालटिन किनिदिए । कक्षा ८ मा पुगेपछि काठको टेबुल र कुर्सी नै बनाइदिए । ‘गुन्द्रीमा पढ्न गाह्रो भयो भनेर बुवाले टेबुल र कुर्सी बनाइदिनुभएको थियो,’ रुद्र भन्छन्, ‘म पढाइमा सानैदेखि अब्बल थिएँ । प्रायः कक्षामा प्रथम नै हुन्थेँ ।’

उनले पशुपति माविबाट २०४२ सालमा एसएलसी गरे । त्यतिबेला उच्च शिक्षाका लागि काठमाडौं आउनु सपनाजस्तै थियो ।

उच्च शिक्षाका लागि उनी मामासँग काठमाडौं आए । काठमाडौंमा साना–ठूला थुप्रै गाडी देख्दा उनलाई रमाइलो लागेको थियो । उनलाई मामाले सरस्वती क्याम्पसमा व्यवस्थापन संकायमा भर्ना गरिदिए । पछि उनले मेजर अंग्रेजी पनि पढेँ ।

सफलताको घुम्ती

अंग्रेजी मुख्य बिषय लिएर स्नातक पास गरेर २०४८ मा शर्मा पोखरा आए र अमरज्योति बोर्डिङ स्कुलमा तीन वर्ष अंग्रेजी पढाए । त्यसपछि साथीहरूसँग मिलेर चिप्लेढुंगामा अंग्रेजी भाषा पढाउने ‘एभरेस्ट ल्यांग्वेज इन्स्टिच्युट’ खोले ।

‘त्यो बेला विदेश जाने होड थियो । विदेश जानका लागि अंग्रेजी जान्नुपथ्र्यो,’ उनी भन्छन्, ‘हामीले छोटो समयमै अंग्रेजी सिकाउँथौंँ । निकै सफलता पनि पायौं । पोखरामा हामी नम्बर १ थियौं ।’

एउटै काममा मात्रै अडिने उनको स्वभाव थिएन । उनलाई केही न केही नयाँ गरिरहनुपथ्र्यो । त्यसैले उनी लायन्स क्लबमा पनि आबद्ध थिए । पोखरामै सिटी गेस्ट हाउस पनि खोलेका थिए । ‘प्रायः थालेको काममा मलाई असफलता मिल्यो,’ उनी भन्छन्, ‘सजिलै सापटी दिने, सहयोगी भावना राख्ने र बदमासी नगर्ने मेरो कमजोरी भएर पो हो कि !’

सन् १९९० मा उनलाई हङकङ जाने अवसर मिल्यो, साथीको निमन्त्रणामा । त्यतिबेला केही समय बसेर फर्के । त्यहाँको आधुनिकीकरण र व्यापारले उनलाई लोभ्याएको थियो ।

जिन्दगीमा केही गर्नुपर्छ भन्ने अभिलाषा बोकेर उनी सन् १९९८ मा पुनः हङकङको सेन्ट्रल सिटीमा पुगे र अमेरिकी नागरिकको सहकार्यमा ‘बु्रस्ली क्याफे’का मालिक बने । उनको क्याफेमा केही बेलायती र केही नेपाली कर्मचारी थिए । क्याफे राम्रैसँग चलेको थियो । तर त्यहाँको महँगो जीवनशैली र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका कारण उनले आफूलाई असफल नै ठाने, अर्को अवसरको खोजीमा नेपाल फर्किए ।

यसरी एकपछि अर्को असफलता व्यहोर्दा उनको ऋण बढ्यो । केही साथीले मेनपावर व्यवसायी बन्न भने, उनले रुचि देखाएनन् । एकपटक बेलायत वा अमेरिका जाने रहर गरे, सफल भएनन् । अन्ततः भिजिट भिसामा सन् २००० मा उनी दक्षिण कोरिया पुगेका थिए ।

त्यति बेला कोरियामा उनी अवैधानिक थिए । कोरिया सरकारले उनलाई नेपाल गएर फेरि कानुनी प्रक्रिया पु-याएर आउने अवसर दियो । सन् २००५ मा नेपाल आएर व्यावसायिक भिसामा पुनः कोरिया गए ।

त्यसपछि नेपाली पुस्तक, पत्रपत्रिका नेपाली मसला लगायत नेपाली सामग्री बेच्ने गरी दक्षिण कोरियाको राजधानी सोलमा ‘नेपाल सेन्टर’ खोले, जो नेपालीको भेटघाट गर्ने थलो बन्यो । त्यहाँ उनले ‘चौतारी’ नामको नेपाली पत्रिका करिब एक वर्ष चलाए ।

त्यसपछि उनले कोरियाको इन्सानमा ‘फस्र्ट नेपाल’ रेस्टुरेन्ट खोले, जसलाई कोरियनले मन पराउँदै गए । ‘करिब नेपाली रुपैयाँ ५० लाख लगानी गरेर रेस्टुरेन्टको आठवटा शाखा बनाएँ,’ उनी भन्छन्, ‘सयभन्दा बढी त विदेशी कामदार थिए ।’

सन् २०१२ देखि उनले त्यहाँको व्यवसाय मामाको छोरालाई जिम्मा लगाए, आफू नेपाल–कोरिया गर्न थालेँ ।

नेपाल–कोरिया व्यापारमा पुल

शर्माले कोरियाबाट हुने अवैधानिक आर्थिक कारोबारलाई रोक्न सन् २०१८ बाट आफैँ इन्भेस्टर डाइरेक्टर भई ‘स्टार रेमिट’ कम्पनी सञ्चालनमा ल्याए । यस कम्पनीमा कुल सेयरको ८० प्रतिशत नेपालीकै लगानी रहेको छ ।

निकट समयमै विश्वका ३० भन्दा बढी राष्ट्रमा कम्पनीको सेवालाई विस्तार गर्ने उनको योजना छ । यस रेमिटले नेपालीसहित कोरियन नागरिकलाई रोजगार दिएको छ । दक्षिण कोरियाको स्टार रेमिट र नेपालको नबिल बैंकबीच कोरियाबाट नेपालमा रेमिट्यान्स भित्त्र्याउने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भइसकेको छ ।

नेपाल–कोरिया व्यापारमा पुलको भूमिका निभाउँदै पौडेलले कोरियाको प्रविधि नेपाल भित्त्र्याउने उद्देश्यका साथ तत्कालीन उद्योग संघका अध्यक्ष हरिभक्त शर्मासहितको टोलीलाई कोरिया भ्रमण गराएका छन् । ‘नेपालमा लगानी सुरक्षित नभएको हल्ला छ,’ उनी भन्छन्, ‘त्यस्तो हल्लालाई चिर्न निर्माण व्यवसाय, गल्फ स्पोर्ट, होटेल व्यवसायमा लगानी रहेका कोरियाका धनाढ्य व्यक्तिलाई धेरैपटक नेपाल भ्रमण गराएँ ।’

सामाजिक सक्रियता

सामाजिक काममा पनि सक्रिय पौडेल एनआरएन लगायत धेरै संस्थामा आबद्ध छन् । ०७२ को भूकम्पमा देश छटपटाइरहँदा उनी त्यसै बस्न सकेनन् ।

आपतकालीन् क्षतिलाई कम गर्न सकिन्छ कि भन्ने हेतुले कोरियन मेडिकल टिमको नेतृत्व गर्दै उनी नेपाल आए । उनको टिमले भूकम्पबाट प्रभावित लगभग ६ हजार ५ सय जनाको स्वास्थ्योपचार गरेको थियो ।

त्यही टिमका वरिष्ठ डाक्टर जोन, जो नेपाललाई औधि माया गर्ने र नेपाल दर्जनौँपटक आइसकेका छन्, उनले शर्माको गाउँमा केही गरिदिने योजना बनाएर कोरिया फर्किए ।

पछि उनै जोनको सक्रियतामा दक्षिण कोरियाको ख्वाङ्जु महानगरपालिकाको समन्वयमा पर्वतकै डिमुवामा एडभान्स मेडिकल सामग्रीसहित लगभग चार करोड रुपैयाँ लगानीमा ‘ख्वाङ्जु क्लिनिक’ खोल्न उनी सफल भए । यहाँ समयअनुकूल कोरियन डाक्टरको समेत निःशुल्क सेवा र सुविधा उपलब्ध रहन्छ । यस क्लिनिकलाई अस्पतालमा परिणत गर्ने हो भने आधुनिक सेवा–सुविधासहित ५० बेड क्षमताको सेवा दिन सक्ने शर्मा बताउँछन् ।

नेपालमा व्यवसाय

स्वदेशमै केही गर्ने सोचका साथ शर्माले सन् २०१२ मा नेपाल हाउस रेस्टुरेन्ट खोले । बालुवाटारमा खोलेको रेस्टुरेन्टको शाखा अहिले कमलपोखरी र पोखरामा पनि विस्तार भएको छ । उनले टे«किङ, ट्राभलिङ लगायत एक्सचेन्जमा समेत सफलताका साथ काम गर्दै आएका छन् ।

ठूलो कन्फेरेन्स हलको सुविधा उपलब्ध हुने गरी व्यवसाय स्थापना गरेका शर्माले अहिले सयभन्दा बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपबाट रोजगार दिएका छन् ।

उनको ‘पहिलो कोरियन भाषा शिक्षक’ नामको कितावको दोश्रो एडिसन केही समय अघिमात्रै प्रकाशनमा आएको छ ।