NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
कुसुम कटाक्ष

रामकुमारी झाँक्रीलाई ‘पिर्के सलाम’

राजनीतिक नेताहरू जब कुनै विवादमा फस्छन्, तब त्यो विवादबाट उम्कन उनीहरू अनेक शब्दजाल र सैद्धान्तिक लेपन लगाउन थाल्छन् । आफूबाट गल्ती भइसक्यो, पटक्कै गल्ती स्वीकार्र्दैनन् । बरु, गल्तीलाई जायज ठहर्‍ याउन अनेक माथापच्ची गर्छन् ।

एउटा प्रसंगबाट सुरु गर्छु । यो ०५१ सालतिरको कुरा हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरे । उनले संसदमा ल्याएको नीति तथा कार्यक्रम सत्तारुढ नेपाली कांग्रेसकै ३६ जना सांसद (छत्तीसे समूह) अनुपस्थित भएपछि फेल भयो । त्यही झोकमा प्रधानमन्त्री कोइरालाले संसद् विघटन गरेपछि मध्यावधि चुनाव भयो ।

कसैको पनि बहुमत आएन । एमाले ठूलो दल बन्यो । त्रिशंकु संसद् बन्यो । सत्ता समीकरणको खेल प्रारम्भ भयो । त्यसैताक सांसदहरूलाई कर सहुलियतमा पजेरो गाडी झिकाउन पाउने नियम बनाइयो । सांसदहरूले धमाधम कर छुटको दुरूपयोग गर्दै पजेरो झिकाए र ती पजेरो नाफा लिएर अरू कसैलाई बेचे । केही नेताहरूले चाहिँ पजेरो चढेरै हिँड्न थाले ।

नेपालका नेताहरू सत्तामा नहुँदा शासकीय चरित्र, संस्कार र शैली जनपक्षीय हुनुपर्छ भनेर बडा आदर्शवादी गफ दिन्छन् । तर, जब मन्त्री या प्रधानमन्त्री बन्छन्, तब पुरानै शासकीय शैली र संस्कारले उनीहरूलाई गाँजिहाल्छ 

जनस्तरमा व्यापक विरोध भयो । ‘पजेरो काण्ड’का रूपमा नेपालको संसदीय इतिहासमा कलंकित यो प्रवृत्तिको विरोधमा त्यसबेला एमाले नेता वामदेव गौतम निकै आवाज उठाउँथे । प्रतिनिधिसभा वैठकमा नेता गौतम पजेरो संस्कृतिको विरोधमा बोल्थे ।

२०५२ सालतिर एकपटक एमालेको बल्खुस्थित तत्कालीन मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । ‘कान्तिपुर दैनिक’को रिपोर्टरका नाताले पंक्तिकार पनि रिपोर्टिङका लागि त्यहाँ पुगेको थियो । पंक्तिकार त्योबेला एमाले बिट हेथ्र्यो ।

एक तलामाथिको सभाहलमा पत्रकार सम्मेलन हुँदै थियो, नेताहरू धमाधम आइरहेका थिए । झ्यालबाट बाहिर नियाल्दै गर्दा पंक्तिकारले पजेरो संस्कृतिका चर्को विरोधी वामदेव गौतम पजेरोबाट झरेको देख्यो । आश्चर्य लाग्यो, पजेरो संस्कृतिको विरोध गर्ने नेता आफैं पजेरो चढेर आएका थिए ।

नेता गौतम पत्रकार सम्मेलन आयोजना हुने सभा हलमा प्रवेश गर्नासाथ पंक्तिकारले सोधिहाल्यो, ‘तपाईं त पजेरो संस्कृतिको विरोध गर्ने नेता, आज आफैं पजेरो चढेर आउनु भो नि कमरेड ?’

प्रश्न चोटिलो थियो । हुन पनि हो । नेता गौतम केहीबेर मौन रहे । अनि गोलमटोल तर्क राख्दै भने, ‘देश र जनताको पक्षमा काम गर्दा आवश्यक परे पजेरो मात्र होइन, जहाज पनि चढ्नुपर्ने हुनसक्छ । क्रान्तिमा होमिँदा आवश्यक परे रकेट पनि चढ्नुपर्ने हुनसक्छ, यो त आवश्यकताअनुसार तय हुन्छ, पजेरोको के कुरा ?’
कमरेडले यस्तो जवाफ दिएपछि पंक्तिकारको मुखमा बुझो लागिहाल्यो । प्रतिप्रश्नको गुन्जायसै रहेन ।

नेपालको शासकीय शैली र संस्कार चाकडी र चाप्लुसीमा आधारित छ । यो आजको होइन, युगौंदेखिको संस्कार हो

नेपालका नेताहरू सत्तामा नहुँदा शासकीय चरित्र, संस्कार र शैली जनपक्षीय हुनुपर्छ भनेर बडा आदर्शवादी गफ दिन्छन् । तर, जब मन्त्री या प्रधानमन्त्री बन्छन्, तब पुरानै शासकीय शैली र संस्कारले उनीहरूलाई गाँजिहाल्छ ।

नेपालको शासकीय शैली र संस्कार चाकडी र चाप्लुसीमा आधारित छ । यो आजको होइन, युगौंदेखिको संस्कार हो । शासकहरूको ज्य,ू हजुरी गर्ने प्रवृत्ति अझै हटेको छैन । शासकको चाकडी गर्ने अनि मख्ख बनाएर आफ्नो दुनो सोझ्याउने संस्कार राज्य संयन्त्रमा यसरी व्याप्त छ कि मै हुँ भन्ने ‘क्रान्तिकारी’ पनि त्यसको मोह जालमा फसिहाल्छ ।

बहालवाला मन्त्री रामकुमारी झाँक्रीको छवि एउटी जुझारु नेतृका रूपमा स्थापित भएको हो । गणतन्त्र स्थापनाको संघर्षमा उनको योगदान अग्रणी छ । सामन्ती या शाही संस्कारविरुद्ध उनी लडेकी हुन् । पुरानै संस्कृति र संस्कारको निरन्तरता हुने हो भने गणतन्त्र नै किन चाहिएको थियो र ?

सामन्ती शाही संस्कारविरुद्ध लडेकी रामकुमारीलाई अचेल लालसलामभन्दा बढी पिर्के सलाम मनपर्न थालेको हो कि ?

यो राजनीति र सत्ताको वृत्त नै यस्तै छ । लेखक खगेन्द्र संग्रौलाले कुनैबेला भनेका थिए, ‘नेपालको सत्ता राजनीतिको पाइप कस्तो छ भने त्यो पाइपको एउटा मुखबाट साहित्यकार सञ्जय थापालाई घुसाउने हो भने अर्को मुखबाट प्रदीप नेपाल निस्कन्छ ।’

हो त, यो पाइपको एकातिरबाट कमरेड प्रचण्ड छिरे, अर्कोतिरबाट पुष्पकमल दाहाल निस्किए । यो पाइपको एकातिरबाट केपी शर्मा ओली छिरे, अर्कोतिरबाट ‘केपी बा’ निस्किए ।

रामकुमारी पनि सत्ताको त्यही पाइपमा छिरेकी छिन्, अब अर्कोतिरबाट के भएर निस्कने हुन्, अहिल्यै भन्न सकिन्न ।

हाललाई पिर्के सलाम रामकुमारी ।

०००

शासकीय स्वरूप परिवर्तन भएपछि शासकीय संस्कार पनि परिवर्तन गर्नसक्ने पहल हुनुपर्छ । मन्त्री झाँक्रीलाई प्रहरीहरूले सलामी दिनु उनीहरूको चलन होला । यसमा उनीहरूको के दोष ?

पिके सलामी दिन लागेकालाई रामकुमारीले भन्न सक्नुपथ्र्यो, ‘हेर्नुस्, हामी नयाँ संस्कार, शैली र सांस्कृतिक रूपान्तरणका लागि संघर्ष गरेर आएका हौं । त्यसैले यो पिर्का हटाउनुस् र यो सलामीको झन्झट पनि नगर्नुस् । म सलामी खान होइन, देश विकासको अभियानमा हिँडेकी हुँ ।’

यत्ति भनिदिएको भए प्रहरी संगठनले जर्बजस्ती मन्त्रीलाई पिर्के सलामी त दिँदैनथ्यो होला । मन्त्रीले नै भनिसकेपछि आदेश तामेल हुन्थ्यो होला ।

तर समस्या यहाँ अर्कै छ । हामी जतिसुकै क्रान्तिकारी र सांस्कृतिक रूपान्तरणको कुरा गरौं, सत्तामा गएपछि अभ्यन्तरमा कताकता मान–सम्मान, सलामी, प्रशंसा र वाहवाहीका भोका छौं । यो निम्न पुँजीवादी सोच हो ।

विदेशमा पुँजीवादी भनिने विकसित मुलुकका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म साइकल चलाएर जनतासँग हात मिलाउँदै हिँडेको हामीले इन्टरनेटमार्फत देख्दै आएका छौं । आजको पुस्ता विश्वका ज्ञान र विज्ञानबाट अनभिज्ञ छैन ।

मन्त्री रामकुमारी तिनै नेतृ हुन्, जसले सत्तामा पुग्नुअघि सामाजिक सञ्जालमा यस्ता सलामी प्रवृत्तिको विरोध गर्दै आएकी थिइन् । विरोध जायज थियो, किनकि हाम्रा जनप्रतिनिधिहरूलाई यस्ता अति सम्मानको संस्कारले जनताबाट टाढा लैजान्छ ।

गणतन्त्रमा जनप्रतिनिधि र जनताको दूरी नजिक हुनुपर्छ । नेता या मन्त्री जनतासँग एकाकार हुनुपर्छ । जनताभन्दा जनप्रतिनिधि भिन्न, विशिष्ठ, अदभूत, विशेष मान दिनुपर्ने पात्र हो र ? गणतन्त्रमा जनता नै जनार्दन हो ।

तर, निम्नपुँजीवादी सोचका कारण नेताहरू जब मन्त्री या प्रधानमन्त्री बन्छन्, उनीहरू आफूलाई जनताभन्दा भिन्नै विशिष्ठ प्रजाति ठान्छन् । जनतालाई मतदाता मात्र ठान्ने, आफूचाहिँ दैविक गुण भएको विशेष ठान्ने ।

सामन्ती शाही संस्कारविरुद्ध लडेकी रामकुमारीलाई अचेल लालसलामभन्दा बढी पिर्के सलाम मनपर्न थालेको हो कि ?

कम्युनिस्ट जार्गनमा यसलाई सायद ‘पेटी बुर्जुवा’ सोच र संस्कार भनिन्छ । सत्तामा नजाँदासम्म क्रान्तिकारी कहलिएका कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि पेटी बुर्जुवा ।
हामीले देखेकै हो, संघर्ष र क्रान्तिको चरणमा ‘बुर्जुवा संस्कृति मुर्दावाद’ भन्दै नङ पोलिस, लिपस्टिक, लाली पाउडर नलगाउने अखिल नेपाल महिला संघका नेतृहरू जब सत्ताको नजिक पुगे, अनि ब्युटीपार्लर धाउन थाले । साउना, स्टिमबाथ, ज्याकुजी के–के गर्न थाले ।

पंक्तिकारले एक पटक दरबारमार्गको नाङलो बेकरी क्याफे छेउकै पार्लरबाट एउटी क्रान्तिकारी महिला नेतृलाई ब्युटी पार्लरबाट चिटिक्क परेर निस्किएको देखेको थियो, नाम नभनिहालुँ ।

ब्युटी पार्लर जानुपर्छ, सुन्दर हुनुपर्छ । पंक्तिकार यसको पक्षमा छ । किनकि, पंक्तिकार कथित क्रान्तिकारी होइन ।

तर, विगतमा नारीले पितृसत्तात्मक समाजको ‘ब्युटी मिथ’को दास बन्नु हुन्न, पुरुषका लागि नारीले राम्री भइदिनुपर्ने चलन हटाउनुपर्छ भनेर रेशमी कपालसमेत काटी थाइकट बनाउने, तर सत्ताको चमकधमकमा उक्लिएपछि चाहिँ फेरि ती सारा सौन्दर्य प्रशाधन अपनाउने । यस्तो पाखण्डचाहिँ गलत हो ।

मन्त्री झाँक्रीले एकपटक पिर्के सलामी लिइन्, विवादमा पनि आइन् । जनताले अब मन पराउँदैनन् यस्ता कुरा । त्यसैले यस्ता कुराको ‘जस्टिफिकेसन’ गर्नुको साटो उनले ‘अबदेखि यस्तो कुरा दोहार्‍याउने छैन’ भनिदिएको भए उनको कद अझ उचो हुने थियो ।

तर, केही दिनयता उनी उल्टै पिर्के सलामी ठीकै हो भन्ने भावमा अभिव्यक्ति दिइरहेकी छन् । सत्ताले मानिसलाई दृष्टिविहीन बनाउँछ ।

कवि भूपीले त्यसै लेखेका होइनन्, ‘घुम्ने मेचमाथि अन्धो मान्छे ।’

मन्त्री झाँक्रीलाई हाललाई लालसलाम त भन्दिनँ, पिर्के सलामचाहिँ भन्छु ।

पिर्के सलाम ।