NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बढ्दै मोटर बीमा व्यवसाय

कसरी गर्ने, कस्तो छ भुक्तानी प्रक्रिया ?

काठमाडौं । नेपालमा मोटर बीमाको व्यवसाय उकालो लागेको छ । पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकले मोटर बीमा व्यवसाय बढ्दै गएको देखाएको हो ।

सरकारले मोटर बीमाअन्र्तगत तेस्रो पक्ष बीमालाई अनिवार्य गरेको छ । यही कारण अन्य बीमाको तुलनामा मोटर बीमा व्यवसाय बढ्दै गएको बीमा कम्पनीहरूको दाबी छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ७४ करोड ९१ लाख ८३ हजार बीमा शुल्क संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूमध्ये शिखर इन्स्यारेन्सले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्सले उक्त अवधिमा ४७ करोड २७ लाख ५४ हजार बीमा शुल्क संकलन गरेको हो ।

५ वर्षको मोटर बीमा तथ्यांक

आर्थिक वर्ष ०७३/७४ मा निर्जीवन बीमा कम्पनीहले मोटर बीमाबाट ८ अर्ब १७ करोड ५ लाख ५७ हजार रूपैयाँ बीमा शुल्क उठाएका छन् । आर्थिक वर्ष ०७४/७५ मा आइपुग्दा सो रकम बढेर कम्पनीहरूले ९ अर्ब ५४ करोड ४ लाख ७७ हजार रूपैयाँ आर्जन गरेका छन् ।

आर्थिक वर्ष ०७५/७६ मा आइपुग्दा बीमा कम्पनीहरूले १० अर्ब ८६ करोड २२ लाख २१ हजार रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
त्यसैगरी, आर्थिक वर्ष ०७६/७७ मा बीमा कम्पनीहरूले मोटर बीमाबाट १० अर्ब ४५ करोड ३८ लाख ८ हजार रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

गत आवमा कम्पनीहरूले मोटर बीमाबाट १२ अर्ब १४ करोड ८१ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । पाँच वर्षको अवधिमा बीमा कम्पनीले ५१ अर्ब रूपैयाँभन्दा बढी रकमको मात्रै मोटर बीमाको व्यवसाय गरेका छन् ।

तेस्रो पक्ष बीमा अनिवार्य हुँदा व्यवसाय बढ्यो

सरकाले तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ । कुनै पनि सवारी साधन किनेपछि सवारी धनीले अनिवार्य तेस्रो पक्ष बीमा गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि अरू व्यवसाय भन्दा मोटर बीमा व्यवसाय फस्टाउँदै गएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेल बताउँछन् । पछिल्लो समय नेपालमा सवारी साधनको संख्या पनि बढ्दै जाँदा मोटर बीमाको अंश बढी हुनु स्वभाविक भएको उनको भनाइ छ ।

अन्य बीमाको तुलनामा सबै निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमाको हिस्सा राम्रै रहेको उनले बताए । सगरमाथा इन्स्यारेन्सका सिइओ तथा बिमक संघका अध्यक्ष चंकी क्षेत्री तेस्रो पक्ष बीमा अनियार्य हुँदा–हुँदै कतिपय सवारी धनीले बीमा नगराउने प्रवृत्ति रहेको सुनाउँछन् । यस्तो प्रवृत्ति बढ्नुमा उनी सरकार जिम्मेवार रहेको देख्छन् ।

के हो मोटर बीमा ?

यान्त्रिक शक्तिबाट सडकमा चल्ने सवारी साधनहरू जस्तै, मोटरसाइकल, कार, जिप ट्रक, बस आदिमा हुनसक्ने सम्भावित जोखिमको सुरक्षण नै मोटर बीमा हो । सडक दुर्घटना, चोरी, बाढी भूकम्पलगायतबाट मोटरमा हुने क्षतिबाट बच्नको लागि अपनाइने सुरक्षण नै मोटर बीमा हो । यो बीमाले सवारी साधन वा तेस्रो पक्षलाई हानि पुगेमा क्षतिपूर्ति प्रदान गर्ने गर्दछ ।

तेस्रो पक्ष बीमा

तेस्रो पक्ष बीमा सरकारले अनियार्य गरेको छ । यसलाई अनिवार्य बीमा भन्ने पनि गरिन्छ । आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पतिलाई हानि पु¥याएको खण्डमा आइपर्ने आर्थिक जोखिम हस्तान्तरण गर्नु नै तेस्रो पक्ष बीमा हो ।

यस योजनाअनुसार आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई हानि पु¥याएमा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ ।

तेस्रो पक्ष बीमा नभएको अवस्थामा सम्पूर्ण खर्च स्वयं सवारी धनीले व्योहोर्नु पर्ने हुन्छ ।

तेस्रो पक्ष बीमा भुक्तानी प्रक्रिया

तेस्रो पक्ष बीमाबापत् दुर्घटना भएको अवस्थामा पीडित पक्षले सहज भुक्तानी पाउनुपर्छ र पाउने व्यवस्था पनि छ । तेस्रो पक्ष बीमा भुक्तानीको लागि सवारी धनीले कम्पनीमा जानकारी गराउनु पर्छ । कम्पनीले हानि–नोक्सानीअनुसार भुक्तानी गर्छ । यसले सवारी धनीलाई आर्थिक समस्याबाट छुटकारा दिलाउँछ ।

तेस्रो पक्ष बीमाले मोटरसाइकल दुर्घटना भई तेस्रो पक्षलाई हानि पुर्‍याएको अवस्थामा अधिकतम २५ लाख रूपैयाँ भुक्तानी गर्छ । सामानको क्षति भएमा पनि अधिकतम २५ लाख रूपैयाँ नै भुक्तानी गर्छ ।

त्यस्तै, नीजी गाडीले व्यक्ति वा सामानमा क्षति पु¥याएको अवस्थामा अधिकतम ८० लाख रूपैयाँ भुक्तानी गर्छ भने व्यावसायिक गाडी दुर्घटनामा अधिकतम ५० /५० लाख रूपैयाँ भुक्तानी गर्छ । तेस्रो पक्ष बीमा चालकको ब्लू बुकको आधारमा गरिन्छ ।

अध्यक्ष क्षेत्रीका अनुसार, दाबी भुक्तानी गर्न प्रमाण र रिर्पोटहरू जस्तै, अस्पतालमा उपचार गरेको अवस्थामा हो भने, अस्पतालका सम्पूर्ण बिल, डिस्चार्ज पेपर कम्पनीमा उपलब्ध गराउनु पर्दछ ।

कम्पनीले सोहीअनुसार भुक्तानी गर्छ । दुर्घटना आकष्मिक र नचाहँदा नचाहँदै हुने भएकाले समयमै बीमा गराएमा आफैंलाई लाभ हुने र दुर्घटना भइहालेमा आर्थिक भारबाट मुक्त हुने उनको भनाइ छ ।

भुक्तानी नपाइने अवस्था

चालकले मदिरा सेवन गरेर सवारी साधन चलाएको पाएमा कम्पनीले भुक्तानी गर्दैन । त्यस्तै बिना लाइसेन्स सवारी चलाएको छ भने पनि कम्पनीले भुक्तानी दिँदैन ।

सस्तो छ तेस्रो पक्ष बीमा

अध्यक्ष चंकी क्षेत्री तेस्रो पक्ष बीमा महंगो नभएको बताउँछन् । उनका अनुसार, सस्तोमा १५ सय रूपैयाँमा नै मोटरसाइकलको तेस्रो पक्ष बीमा हुन्छ ।

बसको तेस्रो पक्ष बीमा गर्दा बीमा शुल्क सिटअनुसार निर्धारण हुन्छ । त्यस्तै, ट्रकको बीमा कति टन क्षमता छ, त्यही अनुसार हुने क्षेत्रीले बताए ।

प्याकेज बीमा

दुर्घटनाको कारण आफ्नो मोटरमा हुने क्षतिसहित तेस्रो पक्षको बीमाको योजनालाई प्याकेज बीमा भनिन्छ । यस योजनाले तेस्रो पक्ष बीमा र आफ्नो मोटरको क्षतिलाई बेहोर्छ ।

जस्तै, सवारी साधन चोरी भएको अवस्थामा, बाढी पैरोमा परी क्षति भएमा, भूकम्पले क्षति पुगेमा, पार्किङमा राखेको अवस्थामा टुटफुट भएमा समेत यो योजनाले जोखिम बहन गर्छ ।

यसका साथै थप बीमा शुल्क तिरी हुलदंगा समेतको जोखिमसमेत कभर गर्न सकिन्छ । यसले आन्दोलन अथवा हुलदंगाका कारण मोटरमा क्षति पुगेमा कम्पनीले क्षतिपूर्ति भुक्तान गर्छ ।

यसै योजनाभित्र थप शुल्क तिरी सवारी चालक तथा अन्य कर्मचारीको बीमा, यात्रुपक्ष बीमासमेत गर्न सकिन्छ । सवारी चालक तथा अन्य कर्मचारी बीमाले मोटर दुर्घटना हुँदा तलबी चालक, सहचालक तथा अन्य कर्मचारीलाई शारीरिक क्षति पुगेको अवस्थामा बेहोर्नुपर्ने आर्थिक जोखिम बहन गर्छ ।

यात्रु बीमाले मोटरमा सवार यात्रुलाई लाग्न सक्ने चोटपटकको उपचार खर्च, दुर्घटनाको कारण यात्रुको मृत्यु वा अंगभंग भएमा बेहोर्नु पर्ने दायित्वबाट जोगाउँछ ।

बीमा समितिको नयाँ व्यवस्थाअनुसार दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको अवस्थामा कम्पनीले ५।५ लाख रूपैयाँ भुक्तानी गर्छ भने उपचार खर्च ३ लाख भुक्तानी गर्छ ।

यात्रु पक्ष बिमांक रकम बढाएर सरकारले हाल ५ लाख रूपैयाँ बनाएको छ भने मेडिकल खर्च ३ लाख रूपैयाँ पुर्याएको छ । यसअघि यात्रुपक्ष बिमांक रकम १ लाख रूपैयाँ मात्रै थियो । गत साउनदेखि यात्रुपक्ष बिमालाई समेत सरकारले अनिवार्य गरेको छ ।

त्यस्तै, मोटरसाइकलको हकमा पनि बीमा समितिले नयाँ व्यवस्था गरेको छ । मोटरसाइकल दुर्घटना हुँदा चालक र पछाडि बस्ने व्यक्तिको मृत्यु भएमा कम्पनीले ५.५ लाख रूपैयाँ भुक्तानी गर्छ ।

उपचार खर्चबापत कम्पनीले ३.३ लाख रूपैयाँ भुक्तानी गर्छ । यसअघि चालक र पछाडि बस्नेको मृत्युमा भएमा कम्पनीले १–१ लाख रूपैयाँ भुक्तानी गथ्र्यो भने उपचार खर्चबापत ५.५ हजार रूपैयाँ मात्रै भुक्तानी गरिन्थ्यो ।

 

ताजा अपडेट

नेपालवाच विशेष