NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सडक दुर्घटनामा मलेशियामा नेपाली युवकको मृत्यु

कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार चौधरीको नौ दिनअघि दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ । चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा छ वर्षदेखि कार्यरत थिए । उनी अविवाहित थिए ।

“काकाको छोरोका विवाहका लागि केही दिनमै घर आउँदै छु । केही सामानसमेत खरिद गरेको छु भनेर मलेशियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो”, मृतकका छिमेकी बुद्धिराम चौधरीले भने, “फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेका छौँ ।”

पूरै परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमग्न भएको उनले बताए । मृतकको शव नेपाल ल्याउनका लागि मलेशिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको चौधरीले जानकारी दिए ।