NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दो : लिङ्ग पहिचान गर्दै भ्रूण हत्या

मलङ्गवा । नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो । प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या नौ हजार ४०४ ले घटी हो । सर्लाहीको कुल जनसङ्ख्या आठ लाख ५७ हजार ३६० मध्ये पुरुष चार लाख ३३ हजार ३८२ र महिला चार लाख २३ हजार ९७८ रहेको छ ।

सर्लाहीको २० स्थानीय तहको जनसङ्ख्याको नतिजा समुदाय स्तरमा पनि फरक पाइएको छ । सर्लाहीमा पहाडी समुदायको बाहुल्यता रहेको बाग्मती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी रहेको छ भने मधेशी समुदायको बाहुल्यता रहेको पालिकाहरुमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको पाइएको छ ।

विंस २०६८ को जनगणना अनुसार सर्लाहीको जनसङ्ख्या सात लाख ६९ हजार ७२९ रहेको थियो । तीमध्ये पुरुषको जनसङ्ख्या तीन लाख ८९ हजार ७५६ अर्थात ५१ प्रतिशत र महिलाको जनसङ्ख्या ३ लाख ७९ हजार ९७३ अर्थात ४९ प्रतिशत रहेको थियो । छोरीभन्दा छोराको बढी चाहना र दाइजो प्रथालगायतका कारण यहाँ महिलाको जनसङ्ख्या घट्दै गएको सङ्घीय जनसङ्ख्या कोष सर्लाहीका जिल्ला संयोजक बच्चालाल महतोले बताए ।

विशेषगरी मध्यम वर्गका व्यक्तिहरुले गैर कानुनी रुपमा लिङ्गको पहिचान गरी गर्भपतन गराउने गरेका कारण सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दै गएको उनको भनाइ छ ।

‘विपन्न तथा गरिब परिवारलाई आर्थिक समस्या छ, फलस्वरूप उनीहरु भिडियो एक्सरे गराउन जादैन तर मध्यमवर्गका व्यक्तिहरुले लिङ्गको पहिचान गरी गर्भमा छोरी छ भने त्यसलाई गर्भपतन गराउने गरेको देखिन्छ,’ उनले भने, ‘यहाँ गैरकानूनी रुपमा लिङ्ग पहिचान गर्ने र मेरी स्टोभजस्ता नेपाल सरकारको मान्यता प्राप्त स्वास्थ्य संस्थामा बैध तथा निजी स्वास्थ्य संस्थामा अवैध रुपमा गर्भपतन गर्ने गरिएको छ ।’

पछिल्लो समय लिङ्ग पहिचान गरी भू्रण हत्या गर्ने चलन यहाँ बढेको पाइन्छ । यसले छोराछोरीमा भेदभाव त भएकै छ, महिलाको स्वास्थ्यमा पनि गम्भीर समस्या देखिने गरेको उनको भनाइ छ । उनले पुरुषहरु काम विशेषले घर बाहिर गएका कारण कतिपयको जनगणनामा छुटेको पनि हुन सक्छ भन्दै पुरुषको यकिन तथ्यांक आएमा जिल्लामा महिलाको जनसङ्ख्या अझै घट्न सक्ने बताए ।

महिला र पुरुषको जनसङ्ख्यामा देखिएको असन्तुलनको परिणाम पनि सर्लाहीमा देखिन थालेको महिला मानव रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाले बताए । लिङ्गको पहिचान गरी भ्रूण हत्या, दहेज प्रथा र घरेलु हिंसालगायतका कारण सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दै गएको उनको भनाइ छ ।

छोरीलाई पढाउनुका सट्टा विवाहका लागि दहेज दिनुपर्ने गलत सोचाईका कारण छोरीलाई गर्भमै हत्या गरिँदै आएको पनि उनले बताए । ‘लिङ्गका आधारमा बढी गर्भपतन हुन थालेका छन्,’ उनले भने, ‘सुरक्षित गर्भपतनको अधिकार दुरुपयोग भएको छ । यसको प्रभावकारी अनुगमन हुनुपर्छ ।’

उनका अनुसार केही निजी अस्पतालका स्वास्थ्यकर्मीले लिङग पहिचानलाई पैसा कमाउने धन्दा बनाएका छन् । नाम चलेका अल्ट्रासाउन्ड (भिडीयो एक्सरे) गर्नेले बढी पैसा लिएर लिङ्ग पहिचान गरिदिन्छन् । ‘निजी स्वास्थ्य संस्थामा बढी गर्भपतन हुने गरेका छन्,’ उनले भने, ‘लिङ्गका आधारमा गर्भपतन गरिँदा सर्लाहीमा २० वर्षमुनिका जनसङ्ख्यामा पुरुषको दर बढ्दै गएको छ ।’

लिङ्ग पहिचान गरी भू्रण हत्या गर्नु गैरकानुनी हो भन्दै उनले कोही भारत गएर गर्भपतन गरेर फर्किने गरेको बताए । छोराछोरी बराबरी व्यवहारमा नभएसम्म यस्तो गैरकानुनी धन्दा चलिरहने उनको भनाइ छ ।

पहिलोपटक छोरी भएमा छोराको चाहनामा लिङ्ग पहिचान गर्ने चलन बढेको हो । पितृसत्तात्मक सोचले यस्तो भएको र वर्षमा ४–५ पटकसम्म तथा शिक्षित, धनाढ्य परिवारबाट पनि उल्लेख्य मात्रामा गर्भपतन गराउने गरेको पाइएको सर्लाही बहरथवा–१६ निवासी कैलास कुट क्याम्पस काठमाडौंका उपप्रध्यापक सविन खनालले बताए । ‘मधेसी समुदायमा सकेसम्म छोराको नै जन्म होस् भन्ने चाहना पनि हुन्छ । त्यसकारण पनि छोरी भए भ्रूण हत्या हुने गरेको देखिन्छ,’ उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा १२ हप्तासम्मको गर्भपतन गराएकाको मात्रै तथ्यांक हुन्छ । तर त्योभन्दा बढी समयको पनि गर्भपतन हुने गरेको छ । नौ हप्तासम्मको गर्भ औषधि र १२ हप्ताको औजारबाट फालिन्छ । जथाभावी गरिने गर्भपतनले प्रजनन स्वास्थ्यमा पार्ने गम्भीर असरबारे चेतना जगाउनु आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । छोरी जन्मनै नपाउने अवस्थाको सिर्जना हुँदै गएको छ । यसले भविष्यमा सामाजिक, आर्थिक र लैङ्गिक विचलन आउन सक्ने उनीहरुको भनाइ छ ।