NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते
चाल्र्स डार्विन दिवस

डार्विनको विकासवाद र जिनेटिक फड्को

काठमाडौं । १२ फेब्रुअरी । आज ‘जीव विकासको सिद्धान्त’का प्रतिपादक चाल्र्स डार्विनको जन्म दिन । सन् १८०९ मा आजकै दिन डार्विन जन्मिएका थिए । मानिस र प्राणीको उत्पत्ति इश्वरीय देन हो भन्ने पादरीहरूको कट्टर धार्मिक मान्यतालाई खण्डित गर्दै डार्विनले नै पदार्थको रसायनिक क्रियाबाट एक कोषीय जीव हुँदै आजको आधुनिक मानवसम्मको क्रमिक विकास भएको सिद्धान्त प्रतिपादन गरेर त्योबेला एउटा ‘क्रान्तिकारी वैज्ञानिक विद्रोह’ गरेका थिए । मान्छेका पुर्खा बाँदरहरू हुन् भन्ने तथ्य डार्विनले नै पत्ता लगाएका थिए ।

सन् १८०९ मा श्रुसबरी, इंग्ल्याण्डमा जन्मिएका डार्विनका पिता डाक्टर थिए । सम्पन्न परिवार । पिता चाहन्थे, छोरो डाक्टर बनोस् । तर, चाल्र्स डार्विनचाहिँ शिकार खेल्न, घोडा चढन्, प्रकृतिलाई नजिकबाट नियाल्न मन पराउँथे ।

संयोग पनि कस्तो, सन् १८३१ को डिसेम्बरमा जब चाल्र्स डार्विन २२ वर्षका थिए, उनलाई बिगल नामक पानीजहाजबाट विश्व भ्रमण गर्ने मौका मिल्यो ।

डार्विन निस्किए समुद्र यात्रामा । सुरु–सुरुमा उनलाई सामुद्रिक रोग लाग्यो । टाउको दुख्ने, वान्ता हुने आदि अनेक समस्या देखिए । जहाजका क्याप्टेन पनि चिन्तित थिए, कतै यो केटो जहाजमै मर्ने त होइन भनेर । तर, पाँच वर्षसम्मको जहाज यात्राका क्रममा डार्विन सकुशल रहे, उनलाई केही भएन ।

सन् १८०९ मा श्रुसबरी, इंग्ल्याण्डमा जन्मिएका डार्विनका पिता डाक्टर थिए । सम्पन्न परिवार । पिता चाहन्थे, छोरो डाक्टर बनोस् । तर, चाल्र्स डार्विनचाहिँ शिकार खेल्न, घोडा चढन्, प्रकृतिलाई नजिकबाट नियाल्न मन पराउँथे

उनी दक्षिण अमेरिका, अफ्रिका र अस्ट्रेलिया महाद्वीपका टापुहरूमा पुगे । गैलापगोस टापुमा गएर उनले प्राणी र वनस्पतिको गहन अध्ययन गरे । बीचमा जहाँ–जहाँ जहाज रोकियो, डार्विनले त्यहाँका जीव जन्तु, बोट बिरुवा, पत्थर र चट्टान, कीरा फट्यांग्राको अनुसन्धान गर्दै तिनका नमुना संकलन गर्न थाले । जलचर, उभयचर र थलचरको अवलोकन र विश्लेषणबाट डार्विन के निष्कर्षमा पुगे भने प्राणीका सबै प्रजातिहरू मूल रूपमा एउटै जातिका उत्पत्ति हुन् र त्यसबाटै प्राणीका अनेक प्रजातिको क्रमिक विकास भएको हो ।

‘परिस्थितिअनुरूप आफूलाई ढाल्ने बाध्यताकै कारण प्रजातिहरूमा विविधता आएको हो,’ सन् १८५९ मा प्रकाशित आफ्नो पुस्तकमा डार्विनले यही निष्कर्ष उल्लेख गरेका छन् । उनको यो सिद्धान्त बिलकुल नयाँ र क्रान्तिकारी थियो । समय क्रममा यो सावित हुँदै गयो र अहिले विज्ञानको सर्वमान्य सिद्धान्त बन्न पुगेको छ, ‘क्रम विकासको सिद्धान्त ।’

सन् १८५९ मा प्रकाशित डार्विनको किताब ‘ओरिजिन अफ स्पिसिज’ विश्वभर चर्चित भयो । यसले त्यसबेलासम्मका सबै धार्मिक मान्यताको खण्डन गरिदियो । प्राणीहरूले समय, भूगोल, रहनसहन र प्राकृतिक प्रतिकूलता र अनुकूलताबमोजिम आफूलाई ढाल्दै, परिवर्तित हुँदै जाने क्रममा विविध प्रजातिमा बाँडिएको उनको निष्कर्ष थियो । मानिससम्मको विकास पनि प्राणीहरूको क्रम विकास नै भएको मान्यता अघि सारेपछि डार्विनमाथि धार्मिक कट्टरतावादीहरू रुष्ट पनि भए । तर, त्यो समयमा उनको सिद्धान्तको धार्मिक समुदायले आलोचना गरे पनि कालान्तरमा त्यसको वैज्ञानिक पुष्टि हुँदै गयो ।

प्राणीमा अनुवंशिक कोड भएको डिएनएको जेलिएको भर्‍याङजस्तो संरचना हुन्छ । जसलाई ‘डबलहेलिक्स स्ट्रक्चर’ भनिन्छ । यसको खोजमा योगदान दिएका जेम्स वाट्सनका अनुसार आनुवंशिकीले हरेक पाइलामा डार्विनकै सिद्धान्त पुष्टि गर्छ ।

‘मेरो लागि त चाल्र्स डार्विन यो धतीमा बाँचिसकेका सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन्,’ उनी भन्छन् ।

जेम्स वाट्सन र फ्रांसिस क्रिकले सन् १९५३ मा यस्तो खोज गरे, जसले डार्विनद्वारा प्रतिपादित अधिकांश सिद्धान्तको पुष्टि गरेको छ । उनीहरूले प्राणीको भावी विकासको त्यो नाप–नक्सा अध्ययन गर्ने रसायनिक कोड पत्ता लगाएका थिए, जुन हरेक प्राणी आफ्नो कोषिकामा बोकेर घुमिरहेका हुन्छन् । यो नाप–नक्सा केवल चार अक्षरको डिएनए कोडको रूपमा रहेको हुन्छ । आफ्नो खोजका लागि दुवै वैज्ञानिकलाई सन् १९६२ को चिकित्सा विज्ञानतर्फ नोबेल पुरस्कार दिइएको थियो ।

एडवर्ड आँसवर्न विल्सन अचेल विकासवादी वैज्ञानिकका रूपमा चर्चित छन् । उनी पनि डार्विनसामु शीर झुकाउँछन् ।

‘हरेक युगको आफ्नो एउटा कोशेढुंगो हुन्छ । बितेका दुइ सय वर्षको आधुनिक जीव विज्ञानमा सन् १८५९ मेरो दृष्टिमा कोशेढुंगो हो, जब जैविक प्रजातिहरूको उत्पत्तिका बारेमा डार्विनको पुस्तक प्रकाशित भएको थियो । अनि दोस्रो कोशेढुुंगो हो, जब डिएनएको बनावटको बारेमा वाट्सन र क्रिकको खोज प्रकाशित भयो,’ विल्सन भन्छन् ।

डार्विन तथा वाट्सन र क्रिकसँगै अर्का एक वैज्ञानिक पनि आए, जसले आधुनिक जीव विज्ञानमा आफ्नो अमीट छाप छाडे । उनी थिए, अष्ट्रियाका एक इशाई भिक्षु ग्रेगर मेण्डल । उनी डार्विनकै समकालीन थिए । विज्ञान–इतिहासकार एरन्स्ट फिसरका अनुसार मेण्डलले केराउको नश्लमा वर्णसंकर प्रयोग गरिरहेका थिए । यसक्रममा उनी कुनै नयाँ तथ्य फेला पार्नासाथ डार्विनलाई देखाउँथे ।

यस्तो कुनै जिन छैन, जुन खासमा मानवीय जिन भन्न सकियोस् । मानिसको हरेक कोषिकामा करिब २१ हजार जिन हुन्छन् । करिब यही मात्राको जिन मुसामा पनि हुन्छ

‘डार्विनलाई आनुवंशिकीको नियम थाहा थिएन । यसबारेमा एक समाचारपत्रमा सामग्री प्रकाशित भएको थियो र त्यसको एक प्रति डार्विनलाई पनि दिइएको थियो । तर उनले त्यो पत्रिका पढेका थिएनन् । डार्विनलाई थाहा थिएन कि आनुवंशिक गुण कुन नियम अनुसार एक पिढीबाट अर्को पिढीमा हस्तान्तरण हुन्छ भनेर । त्यसबेला यसबारे कसैले कल्पनासमेत गरेको थिएन,’ मेण्डलले भनेका थिए ।

ग्रेगोर मेण्डल तथा वाट्सन र क्रिकको जोडीले गरेको अनुसन्धानबाट चराहरूका बारेमा डार्विनले हल गर्न नसकेका जिज्ञासासमेत हल भएका थिए । डार्विनले गालापोगोस टापुमा विभिन्न थरीका पन्छी देखेका थिए । कुनै चराको ठुँड छोटो र मोटो थियो र ती फलफूल र बीउ खाएर बाँचिरहेका थिए । कुनै चराको ठुँड पातलो र लामो थियो, जो फूलको भित्रसम्म आफ्नो चुच्चो घुसारेर रसपान गर्थे । डार्विनलाई लागेको थियो कि पक्कै यी सबै चराहरूको पुर्खा एउटै प्रजाति हुनसक्छ । यी चराहरूको विविधताचाहिँ समयकै देन हो । किनकि, डार्विनको पालामा डिएनए, जीन या क्रोमोजोमजस्ता शब्द प्रचलनमै थिएनन् ।

यसैबीच वैज्ञानिकले डिएनए पढ्न सकिने मात्र होइन, देख्नसमेत सकिने तथ्य पत्ता लगाए । प्राणीको रूप–रंग, अकार–प्रकार कसरी बदलिन्छ भनेर आँखाले नै देख्न सकिने कुरा पत्ता लागेपछि डार्विनको सिद्धान्तको व्यवहारिक पुष्टि हुँदै गयो । जब कुनै पनि जिन सक्रिय हुन्छ, त्यसले कोषिकाभित्र आफ्नै ढंगको विशेष प्रोटिन उत्पादन गर्छ । उदाहरणका लागि बिएमपी–४ नामक प्रोटिन उत्पादन गर्ने जिन सक्रिय भएमा कुलिङ पन्छीको ठुँड (मुखको चुच्चो) छोटो र चौडा बन्छ, तर काल्मोड्लिन नामक प्रोटिन उत्पादन गर्ने जिन सक्रिय भएमा चराको चुच्चो लामो र पातलो भएर विकास हुन्छ ।

वैज्ञानिकलाई अब के पनि थाहा भइसकेको छ भने विकासवाद जिनमा परिवर्तनबाट होइन, बरु तिनको सक्रियता वा निष्क्रियताबाट निर्धारित हुन्छ । अतः यस्तो कुनै जिन छैन, जुन खासमा मानवीय जिन भन्न सकियोस् । मानिसको हरेक कोषिकामा करिब २१ हजार जिन हुन्छन् । करिब यही मात्राको जिन मुसामा पनि हुन्छ । अर्थात् नयाँ प्रजातिको उत्पत्तिका लागि प्रकृतिलाई नयाँ जिन उत्पादन गर्न पर्दैन, नयाँ प्रजातिका लागि केवल सक्रिय र निष्क्रिय जिनहरूबीच नयाँ जोडघटाउ पर्याप्त हुन्छ ।

सन् १९९५ मा चिकित्सा विज्ञानको नोबेल पुरस्कार विजेता जर्मनीकी क्रिस्टियाने न्युड्सलाइन–फोलहार्ड यसै क्षेत्रमा अनुसन्धान गरिरहेकी छन् ।
‘सबैभन्दा ठूलो गल्ती के हो भने मानिसहरू सोच्छन्, यदि हामीले केही बुझ्यौं भने त्यसलाई बदल्न सक्छौं । मलाई कुनै मानिसको कुनै विशेषता भएको जिनको बारेमा थाहा छ भन्दैमा म त्यसलाई बदल्न सक्दिनँ । म जिन बदलेर नयाँ मानिस पनि बनाउन सक्दिनँ । किनकि, कुनै पनि प्राणी निकै जटिल संरचनाले बनेको हुन्छ । कुनै अवाञ्छित दुष्प्रभावबिना जिनलाई बिथोल्न सम्भव छैन,’ क्रिस्टियाने भन्छिन् ।

जिनेटिक साइन्स डार्विनको सिद्धान्तभन्दा एक फड्को माथिको खोजको हो, तर यसले दुई सय वर्षदेखि कायम हुँदै आएको डार्विनको ख्याति र महानता भने पक्कै कम गर्ने छैन । किनकि, वैज्ञानिक खोज भनेकै एउटा वैज्ञानिकले जहाँसम्म खोज्यो, त्यसलाई निरन्तरता दिएर नयाँ खोज गर्नु नै हो

वैज्ञानिकहरूले पहिलो पटक भेंडाको क्लोनिङ गरेका थिए । पहिलो पटक डली नामक भेडाको क्लोनिङ गरेको भनेर प्रचारमा आए पनि इयान विल्मटले के स्वीकार गरे भने डलीको क्लोनिङ सन् १९९६ मा उनले होइन, बरू उनका साथी किथ क्याम्पबेलले गरेका थिए ।

अमेरीकाका जीव रसायनविद् क्रेग वेन्टरको कम्पनी सेलेराले जीनामिक्सले मानवीय जिनोमलाई क्रमबद्ध गरेको थियो । भावी विकासका बारेमा उनका विचार निकै असम्भवजस्तै लाग्नसक्छ ।

‘हो, मेरो कुरा पक्कै साइन्स फिक्सनजस्तो लाग्नसक्छ । तर डिजाइन र जेनेटिकल सेलेक्सन अर्थात् अनुवंंशिक चयनले भविष्यमा डार्विनको विकासवादको ठाउँ ओगटनसक्छ,’ वेन्टर भन्छन् ।

जिनेटिक साइन्स डार्विनको सिद्धान्तभन्दा एक फड्को माथिको खोजको हो, तर यसले दुई सय वर्षदेखि कायम हुँदै आएको डार्विनको ख्याति र महानता भने पक्कै कम गर्ने छैन । किनकि, वैज्ञानिक खोज भनेकै एउटा वैज्ञानिकले जहाँसम्म खोज्यो, त्यसलाई निरन्तरता दिएर नयाँ खोज गर्नु नै हो ।

(एजेन्सीहरूको सहयोगमा)