NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नागरिकलाई युक्रेन छाड्न जर्मनी र अस्ट्रेलियाको अपिल

काठमाडौं । आफ्ना नागरिकलाई युक्रेन छाड्न जर्मनी र अस्ट्रेलियाले आग्रह गरेका छन् । युक्रेन र रसियाबीच तनाव बढिरहेका बेला दुई देशले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन अपिल गरेका हुन् ।

जर्मनीले शनिबार युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई बाहिरिन भनेको छ । तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरिएको हो ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनी सीमानजिकै रूसी सैनिक एकार्इहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रूस र युक्रेनबीच फेरि तनाव बढेको छ ।’

‘हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस् । यदि जरूरी ठान्नुहुन्न भने केही समयको लागि यूक्रेनी भूगोल छोड्नुहोस्,’ जर्मनीले भनेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन नागरिकलाई भनेका छन् ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौं सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दाबी छ ।

‘युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त खतरा छ, त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौं,’ प्रधानमन्त्री मोरिसनले भने ।

उनले युक्रेनमा अशान्ति नहोस भन्ने आफूले चाहेको भए पनि द्वन्द्वको अवस्था सृजना हुने खतरा देखिएको उल्लेख गरेका छन् ।

युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको भनाइ छ ।