NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अलमलपछि घर फर्किएको भन्दै कमल थापाले खोले ‘राप्रपा नेपाल’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी घोषणा गरेका छन् । केही समयअघि मात्रै राप्रपाबाट बाहिरिएका थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको घोषणा गरेका हुन् ।

राप्रपा नेपाल राप्रपामा परिणत भएपछि पनि लाक्पा तामाङले निर्वाचन आयोगमा सो पार्टी दर्ता गरेरै राखेका थिए ।
थापा त्यसैको अध्यक्ष भएका हुन् ।

May be an image of 2 people, people standing, people sitting and indoor

केही समयको अलमलपछि घर फर्किएको बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देशको धरातलीय यथार्थ र साथीहरूको सुझावअनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौं ।’

यो कार्यलाई सार्थक बनाउन सहयोग गरेको भन्दै उनले राप्रपा नेपालका नेता तामाङलाई धन्यवाद दिएका छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत उनले राप्रपा नेपालमा आवद्ध हुन र सकारात्मक परिवर्तनमा सहभागी हुुन सबैमा अपिल गरेका छन् ।

दुई वर्षअघि तत्कालीन राप्रपा नेपालका अध्यक्ष थापाले पशुपतिशमशेर राणाको राप्रपा र डा.प्रकाशचन्द्र लोहनीको राप्रपा(राष्ट्रवादी)सँग एकता गरेका थिए ।

एकतापछि पार्टीको नाम राप्रपा राखिएको थियो । अहिले पुनः राप्रपाबाट अलग भएपछि उनले पार्टीको नाम पहिलेकै राप्रपा नेपाल राखेका छन् ।