NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सभामुखको बैठकमा एमाले नजाने, महाभियोगको कडा प्रतिवाद गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्तापछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सापकोटाले सोमबार दिउँसो सर्वदलीय बैठक बोलाएका थिए । एमाले संगठनविभाग प्रमुख खगराज अधिकारीले सभामुखले बोलाएको सर्वदलीय बैठकबारे अनविज्ञता प्रकट गर्दै एमाले सहभागी नहुने बताए ।

‘हामीलाई बैठकबारे केही जानकारी छैन । त्यस्ता बैठकमा हामी सहभागी हुँदैनौं’, अधिकारीले भने, ‘षड्यन्त्रकारी सभामुखले बोलाएको बैठकमा सहभागी हुने कुरै आउँदै उनले कि त राजिनामा दिनुपर्छ कि त हामीले कारवाही गरेको १४ जना सांसदलाई कारवाही गर्नुपर्छ ।’

त्यस्तै उनले स्थानीय तहको चुनाव हुन नदिन प्रधानन्यायाधीश विरुद्ध गठबन्धनले महाभियोग प्रस्ताव ल्याएको आरोप लगाएका छन् । ‘चुनाव हुन नदिने, सर्वोच्चमा विचाराधिन १४ जना सांसदको मुद्दा प्रभावित पार्ने र अदालतलाई आफ्नो कब्जामा लिने षड्यन्त्रका साथ महाभियोग प्रस्ताव ल्याइएको छ । एमाले त्यसको डटेर प्रतिवाद गर्छ’, उनले भने ।’

यसबारेमा एमाले संसदीय दलको बैठक बसेर गठबन्धन सरकार विरुद्ध कडा कदम चालिने अधिकारीले बताए । उनले सभामुखविरुद्धको अडान यथावत रहेपनि चार न्यायाधीशबारे महाभियोग लगाउने सम्बन्धमा संसदीय दलले निर्णय गर्ने जानकारी दिए ।

संविधान र पदीय मर्यादा विपरित काम गरेको आरोपल लगाउँदै कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुसहित गठबन्धन दलका एक चौंथाइ सांसदले आइतबार संसदमा महाअभियोग दर्ता गरेको थियो । विकसित घटनाक्रमबारे निर्णयल लिन एमालेले संसदीय दलको आकस्मिक बैठक बोलाएको हो ।