NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेपाल आयरल्यान्डसँग १६ रनले पराजित, हारका बाबजुद दीपेन्द्र ‘प्लेयर अफ दि म्याच’

काठमाडौं । चार देश सम्मिलित टि–२० क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा भर्खरै सकिएको खेलमा नेपाल टेस्ट टोली आयरल्यान्डसँग १६ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर खेले पनि लक्ष्यमा पुग्न सकेन । नेपालले नौ विकेटको क्षतिमा १११ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै, ओपरनर आसिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दाहोरो अंकको रन पनि बनाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले पूरै २० ओभर खेल्दै सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रले चार, अविनाश बोहराले दुई तथा कमल, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिएका थिए ।


हारका बाबजुल नेपाली खेलाडी प्लेयर अप दि म्याच भएका छन् । चार विकेट लिनुका साथै २८ रनसमेत जोडेका दीपेन्द्र प्लेयर अफ दि म्याच घोषित भएका हुन् ।

सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले हार्न पुगेको थियो ।

यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो ।

यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

यस्तो थियो नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, लोकेश बम, अविनाश बोहरा, जितेन्द्र मुखिया, शरद भेषावकर र कमलसिंह ऐरी ।