NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

फागुन ११ देखि इलाममा तारा एयरको नियमित उडान हुने

काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ ।

निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आईतबार र बिहिबार काठमाडौंदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एयरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

धावनमार्ग कालोपत्रे भई परिक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालीका तथा तारा एअरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमीत उडान हुन लागेको हो ।

विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि वि.सं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनेटर जहाजले परिक्षण उडान गरेको थियो । फागुन ११ देखि काठमाडौँबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए ।

काठमाडौंदेखि इलाम सम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ । हवाई यात्राको लागि हाल एकतर्फि भाडा रु नौ हजार कायम गरिएको छ । काठमाण्डौ -इलाम- काठमाण्डौं को टिकट सेल्स काउन्टर, ट्राभल्स एजेन्सी, यती मोबाईल एप तथा अनलाईन सेवाहरुमा उपलब्ध छ ।

ईलाम नगरपालीकाका प्रमुख महेश वस्नेतले पर्यटन बोर्ड तथा तारा एयरले पहलमा नियमित उडान सञ्चालन गर्न लागेकोमा आभार प्रकट गर्नुहुँदै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे । ईलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ ।

त्यहाँ पर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ ।

नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।

पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायात झञ्झटीलो र समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनले बताए ।

ईलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्रहरु हुन् ।

फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ ।