NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एक हजार ८६३ फर्म विभागको कारबाहीमा

काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यकालगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो ।

अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाहीस्वरुप जरिवाना गर्दा ८९ लाख ८० हजार राजस्व संकलन भएको जनाइएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिए ।

उनले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी दिए । सात महिनाका अवधिमा विभागले ८६३ फर्मलाई जरिवाना, ८२३ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो । यस्तै, १६ फर्मबाट परीक्षण गर्न बस्तुको नमूना संकलन, साधनसहित तीन प्रक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो ।

यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकोले रु २८ लाख ५५ हजार ३१८ बराबरको बस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । विभागले सात महिनाको अवधिमा सबैभन्दा धेरै फार्मेसी पसलको अनुगमन भएको जनाएको छ । तथ्यांक अनुसार उक्त अवधिमा १०६ फार्मेसी पसलको अनुगमन गरिएकामा ३३ वटालाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।

यस्तै, ५३१ खाद्यान्न तथा किराना, १५६ कस्मेटिक तथा कपडा पसल, ८ स्टेशनरी पसल, ४८ अण्डा तथा मासु पसल, २८ मार्ट, २७ मदिरा तथा पेय पदार्थ, ५५ फलफूल तथा तरकारी पसल, ४९ दुग्धजन्य पदार्थ तथा बेकरी र ७५४ अन्य उद्योगको अनुगमन गरिएको थियो ।

विभागले नियमित रुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ ।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । (रासस)