NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

‘प्रधानमन्त्रीले पेलेर एमसिसी अगाडि बढाउन खोजे माओवादी केन्द्र आजै सरकारबाट बाहिरिन्छ’

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारमा रहने वा नरहनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने भएको छ ।

शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल गर्ने भएपछि प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै बालुवाटार गएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा एमसिसीबारे सकातात्मक छलफल नभएपछि अध्यक्ष प्रचण्डले सत्ता साझेदार दल एकीकृत समाजवादी र जसपाका नेताहरूसँग सिंहदरबारमा छलफल गरेका थिए । बैठकमा एमसिसीकै कारण गठबन्धन सरकार भत्काउन नहुनेमा नेताहरू एकमत भएका थिए । एमसिसीलाई कसरी अगाडि बढाउने विषयमा आज ५ बजे गठबन्धनमा सहभागी पाँच दलको निर्णायक बैठक बस्दैछ ।

माओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार आजको बैठकले माओवादी केन्द्र सरकारमा रहने वा नरहने सम्बन्धमा निर्धारण गर्ने बताए ।
‘एमसिसीकै कारण गठबन्धन सरकार नढलोस् भन्नेमा हामी सचेत छौं । गठबन्धन बचाउन अन्तिमसम्म प्रयास गर्छौं’, उनले नेपालवाचसँग भने, ‘बुधबार बसेको संसदीय दलको बैठकले माओवादीको बटमलाइन स्पष्ट गरिसकेको छ । संशोधनविना एमसिसीलाई माओवादीले कुनै हालतमा समर्थन गर्दैन । प्रधानमन्त्रीले गठबन्धन दललाई पेलेर अगाडि बढ्न खोजे माओवादी केन्द्र सरकारबाट बाहिरिन्छ ।’

एमसिसीको लागि गठबन्धन नबनेको स्मरण गराउँदै यसैलाई ढिपी लिएर कांग्रेस अगाडि बढे संघर्षका कार्यक्रम लिएर जनतामा जाने उनले चेतावनी दिए ।

‘गठबन्धन भत्किँदा विपक्षी एमालेलाई फाइदा पुग्छ । संविधान, लोकतन्त्र र व्यवस्था बचाउनका लागि पाँच दलीय गठबन्धन बनेको हो’, उनले भने, ‘एमसिसीलाई लिएर कांग्रेसले आफ्नो सरकार ढाल्छ जस्तो लाग्दैन । अन्तिममा कांग्रेसले आफ्नो निर्णयमा पुर्नविचार गर्नेमा हाम्रो विश्वास छ ।’

राष्ट्रियताभन्दा ठूलो एमसिसी नभएका भन्दै उनले सरकारले जर्बजस्ती संसद्मा पेश गरे माओवादीले विपक्षमा मतदान गर्ने चेतावनी दिए ।