NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भोलि संसदमा एमसिसी टेबल गराउने प्रधानमन्त्री देउवाको अडान

काठमाडौं । बुधबार नै एमसिसी संसदमा टेबल गर्न खोजेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कुनै हालतमा टेबल गरेरै छोड्ने तयारी गरेका छन् । माओवादीको आग्रहमा दुई दिन रोकिए पनि देउवाले नतिजा जे आए पनि शुक्रबार संसद्मा एमसिसी परियोजना टेबल गर्ने तयारी गरेका हुन् ।

देउवा स्वयंले कांग्रेसले एमसिसी अगाडि बढाउने निर्णय पार्टीबाट गरिसकेकोले अब नरोकिने बताएका थिए । ‘एमसिसी अगाडि बढाउने निर्णय हामीले पार्टीबाटै गरिसकेका छौं । यसैले अब यो विषयलाई संसदमा टेबल गर्ने तयारीमा हामी छौं’ कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन गर्दै देउवाले बिहीबार बिहान बालुवाटारमा भनेका थिए , ‘निर्णय भइसकेको विषयमा अब पास वा फेल के हुन्छ भनेर हामी कुर्दैनौं । पास फेल जे भए पनि संसदमा टेबल गर्छौ ।’

बिहीबार बिहान देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । सोही भेटपछि एमसिसीबारे निर्णायक छलफल गर्न बोलाइएको सत्ता गठबन्धनको बैठक ५ बजे बस्ने गरी सारिएको थियो ।

तर देउवाले सत्ता गठबन्धन भत्किने जोखिम आए पनि आफू एमसिसीमा दृढ रहेको भन्दै टेबल गरेरै छोड्ने अडान लिएका छन् ।
प्रचण्डकै आग्रहमा दुई घण्टा सारिएको बैठक आज ५ बजेपछि बस्दैछ । सत्ता गठबन्धनमा आवद्ध दल माओवादी केन्द्र र नेकपा एसले आज ५ बजेपछि बस्ने गठबन्धन बैठकमा प्रधानमन्त्री देउवालाई रोक्ने अन्तिम प्रयत्न गर्ने तयारी गरेका छन् । तर देउवाको तयारी नतिजा जे आए पछि संसदमा लगेर एमसिसीलाई टुंग्याउने भन्ने नै छ ।

तर देउवाले माओवादीको समर्थन नपाए लोकतान्त्रिक समाजवादी पार्टी र एमालेबाट समेत एमसिसी पास गर्न मत पाउने विश्वास लिएको देउवा निकट स्रोतको दाबी । ‘एमसिसीलाई सधैं लम्ब्याएर राख्न हुन्न । यसलाई एउटा टुंगोमा पुर्याउनुपर्छ भनेर प्रधानमन्त्री लाग्नुभएको छ’ देउवा निकट स्रोत भन्छ, ‘प्रधानमन्त्री स्वयंले आजमात्रै पनि फेल पास जे भए पनि एमसिसी टेबल गर्ने अडान लिनुभएको छ ।’

एमसिसीले सत्ता गठबन्धनमा किचलो भएपछि देउवाले संसदको सबैभन्दा ठूलो दल एमालेसँग पनि संवाद अघि बढाएका छन् । देउवाले एमसिसीको विषयमा छलफल गर्नका लागि संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र डा. मीनेन्द्र रिजाललाई जिम्मा दिएका छन् । यी दुवै नेताले एमाले अध्यक्ष केपी ओलीसँग संवाद गरेर सहयोग मागिसकेका छन् । तर ओलीले पहिले सत्तारुढ दलको धारणा लिएर आउन आग्रह गरेको बुझिएको छ ।

माओवादी र नेकपा एसले भोट नहाले पनि एमसिसी पास गराउन बहुमत पुर्याउने रणनीतिमा देउवाले नेताहरूलाई खटाएका हुन् ।
यस अघि नेकपा एसले भोटिङमा उपस्थित नभए पनि एमसिसीको विरोध नगरी पास हुने आश्वासन दिएको कांग्रेसका एक नेता बताउँछन् ।
तर पनि आज हुने गठबन्धनको बैठकपछि एमसिसी भोलि कसरी अगाडि बढ्छ भन्ने विषयले एउटा आकार लिनेछ ।