NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

‘मुकुन्दे पात्रो’ का सर्जक निरौला सचिवमा बढुवा

काठमाडौँ । सरकारले गृह मन्त्रालयका सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले निरौलालाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगले सचिवमा बढुवाका लागि सहसचिवहरु क्रमश मुकुन्द निरौला, विनोद सिंह र गोपीकृष्ण खनालको नाम सिफारिस गरेको थियो ।

सरकारले एक नम्बरमा सिफारिसमा परेका निरौलालाई नियुक्त गरेको एक मन्त्रीले नेपालवाचलाई बताए ।

सरकारले सचिवमा बढुवा गरेको निरौला सार्वजनिक प्रशासनभित्र ‘मुकुन्दे पात्रो’ का रुपमा चर्चित छन् । उनी उक्त पात्रोका सर्जक हुन् । उनलाई सार्वजनिक प्रशासनभित्र ‘इन्साइक्लोपेडियाका’ रुपमा समेत चिनिन्छ ।

तथ्यांक संकलनमा रुची राख्ने निरौलाले कुन सहसचिव कहिले सचिव हुन्छ र कति समय सचिवमा रहन्छ भन्नेसम्मको तथ्यांक बनाएर सार्वजनिक गरेका थिए ।

सार्वजनिक प्रशासनभित्र निरौलाले तयार पारेको त्यही विवरणका आधारमा अधिकाशं सहसचिवहरु आफ्नो सचिव हुने रोलक्रम थाहा पाउँछन् । उनै सहसचिव निरौला सचिवमा बढुवा भएका हुन् ।

अब अन्य बरिष्ठ दुई सहसचिवको आगामी जेठमा मात्र बढुवा हुनेछ । जेठमा सचिव यमकुमारी खतिवडाले अनिवार्य अवकाश पाउँदैछिन् । यस्तै असारमा अर्का सचिव महेन्द्र गुरागाँईले पनि अवकाश पाउँदैछन् ।