NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमसिसीबारे निर्णायक छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । एमसिसीबारे निर्णय लिन सत्तारूढ दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसिसी संसदमा टेबल गराउने तयारी गरेका छन् । तर  सत्ता सहयोगी दल माओवादी केन्द्र र नेकपा एस विपक्षमा लागेकोले यो बैठक निर्णायक मानिएको हो ।

माओवादी र एसले समर्थन नगरे पनि भोलि नै संसदमा एमसिसी टेबल गराउने तयारी प्रधानमन्त्री देउवाको छ ।  तर एमसिसी अघि बढे सरकारबाट बाहिरिने चेतावनी माओवादीले दिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एसले पनि एमसिसी जबर्जस्त अगाडि बढाइए विपक्षमा मतदान गर्ने चेतावनी दिएको छ । तर देउवाले सत्ता सहयोगी दलको विकल्प खोजेर भए पनि एमसिसीलाई टुंगोमा पुर्याउने अडान लिएका छन् ।

यसका लागि देउवाले पार्टीका नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र डा. मीनेन्द्र रिजाललाई एमाले अध्यक्ष केपी ओलीसँग संवादको निम्ति खटाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा भइरहेको गठबन्धनको निर्णायक छलफलमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपालसहित यी दलका सिनियर नेता सहभागी छन् ।