NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

संगीत चोर्ने ‘धुनभित्रका घुन’हरू

काठमाडौं । गीत–संगीत क्षेत्रमा दुईखाले सर्जक हुन्छन् । एकथरी सर्जक यस्ता हुन्छन्, जो सकेसम्म मौलिक र नौला धुन सिर्जना गर्छन् । अनि अर्काथरी चाहिँ अंग्रेजी, हिन्दी, भोजपुरीदेखि चिनियाँ गीतसम्मका धुनको नक्कल गर्दैै नेपाली गीत बजारमा ल्याउँछन् । यी पछिल्ला सर्जकलाई ‘धुनभित्रका घुन’ भन्ने गरिएको छ ।

नेपाली स्रोताले सुन्दै नसुनेका विदेशी गीतका धुन हुबहु नक्कल गरेर संगीतकार भई टोपल्नेहरूले केही वर्षसम्म स्रोतालाई झुक्याउँछन्, हिट हुन्छन् र दाम पनि कमाउँछन् । केही वर्षपछि पोल खुल्छ, तर त्यसले कुनै अर्थ राख्दैन । अचेल भने विदेशी गीत मात्र होइन, स्वदेशकै कुनै हिट गीतकै धुनमा टेकेर त्यसको अलंकारमा केही उलटपुलट गरेर संगीत सिर्जना गर्ने प्रवृत्ति मौलाउन थालेको छ ।

हालै मात्र संगीतकार महेश खड्काको संगीतमा प्रमोद खरेल र रुक्साना लिम्बूले गाएको ‘नोगेन’ शीर्षकको गीत विवादमा आयो । यो गीतको ‘मेरो आस बन्यौ नोगेन’को धुन करिब–करिब राजेश पायल राइले गाएको चर्चित गीत ‘सागर सरी चोखो माया’सँग मिल्छ । फ्लेभर ठ्याक्कै उस्तै छ ।

नेपाली स्रोताले सुन्दै नसुनेका विदेशी गीतका धुन हुबहु नक्कल गरेर संगीतकार भई टोपल्नेहरूले केही वर्षसम्म स्रोतालाई झुक्याउँछन्, हिट हुन्छन् र दाम पनि कमाउँछन् । केही वर्षपछि पोल खुल्छ, तर त्यसले कुनै अर्थ राख्दैन 

‘सागर सरी’का संगीतकार वसन्त सापकोटाले संगीतकार महेशले ‘नोगेन’मा आफ्नो गीतको धुन चोरेको आरोप लगाए । संगीतकार महेशले त्यसको खण्डन गरेनन् मात्र, सापकोटाविरुद्ध मानहानिको मुद्दा हाल्ने चेतावनी पनि दिए । हाल आएर वसन्तले फेसबुकमार्फत महेशसँग माफी मागेकाले चोरीको यो विवाद साम्य भएको छ । यद्यपि, महेशमाथि चोरीको आरोप लागेको यो पहिलो पटक भने होइन । यसअघि हिन्दी गीत ‘परदेशी परदेशी’कै नक्कल गरी महेशले ‘निष्ठुरी निष्ठुरी’ गीत सार्वजनिक गरेका थिए ।

२०७८ माघमा गायिका मेलिना राई र गायक किरण गजमेरको स्वरमा ‘हे दैव’ बोलको गीत पनि विवादमा आयो । रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको यो गीतमा चाहिँ संगीत होइन, शब्द चोरीको आरोप लागेको थियो । गीतकार भूपेन्द्र खड्काले आफ्नो एल्बम ‘आधा सपना’मा रहेको एउटा गीतको शब्दको पूरै पंक्ति चोरिएको दाबी गरेपछि ‘हे दैव’लाई युटयुबबाट हटाइयो ।

केही साताअघि सांगीतिक टेलिभिजन कार्यक्रम ‘बागिना’मा स्वर्गीय लोकबहादुर क्षेत्रीका पुराना लोक गीत चोरीबारे सामग्री प्रशारण भएको थियो । लोकबहादुरका छोरा रोहित क्षेत्रीले आफ्नो पिताका पूरा गीत धमाधम चोरेर नयाँ गीत बनाउने धन्दा चलिरहेको प्रतिक्रिया दिएका थिए । रोहित हाल यस विषयमा प्रतिलिपि अधिकार संरक्षणका लागि कानूनी प्रक्रियामा अघि बढेका छन् ।

अचेल विदेशी गीत मात्र होइन, स्वदेशकै कुनै हिट गीतकै धुनमा टेकेर त्यसको अलंकारमा केही उलटपुलट गरेर संगीत सिर्जना गर्ने प्रवृत्ति मौलाउन थालेको छ

गीत/संगीत क्षेत्रमा चोरीको विवाद बारम्बार चलिरहन्छ । केही वर्षअघि गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको ‘गलबन्दी’ बोलको गीत निकै चर्चित भयो । यसैबीच गायक शम्भु राईले यो गीत आफूले धेरै वर्ष पहिले गाएको ‘देउसी भैलो’ गीतको धुनसँग मिलेको दाबी गरे ।

गायक/संगीतकार राईले प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गरेपछि बल्ल गायक प्रकाश सपुतले युटयुबमा ‘संगीत सिर्जना शम्भु राई’ भनेर नाम उल्लेख गरे, विवाद सल्टियो ।

केही वर्षअघि चलचित्र ‘कृ’मा अनमोल केसी र अदिति बुढाथोकीलाई ‘उकालीमा पछिपछि’ बोलको गीतमा नचाइयो । ०४० सालमा शम्भु प्रधानले निर्माण/निर्देशन गरेको चलचित्र ‘सम्झना’को यो गीतलाई बिना अनुमति चलचित्रमा राखेको भन्दै उजुरी पर्यो । ०७४ चैत्र १३ मा निर्माता सुवास गिरी पक्राउ परे । अन्ततः निर्माता गिरीले ‘सम्झना’का निर्देशक/निर्माता प्रधानलाई ११ लाख रूपैयाँ क्षतिपूर्ति दिएपछि गिरी रिहा भएका थिए ।

चोरीको आरोप लगाउने पनि ‘चोर’

चलचित्र संगीतमा चोरीको आरोप बारम्बार लाग्दै आएको छ । ‘छक्कापन्जा–२’ को ‘नाइलनको साडीमा’का संगीतकार अल्मोडा उप्रेतीमाथि चोरीको आरोप लाग्यो । उनले कान्छा मगर नेपालीको सिर्जना चोरेको आक्षेप छ । चलचित्र ‘शत्रु गते’को ‘रूपै मोहनी’का संगीतकार टंक बुढाथोकीमाथि अग्रज गायक कुमार बस्नेले नै चोरीको आरोप लगाए ।

महेश खड्कामाथि चोरीको बात लागेको यो पहिलो पटक भने होइन । यसअघि हिन्दी गीत ‘परदेशी परदेशी’कै नक्कल गरी महेशले ‘निष्ठुरी निष्ठुरी’ गीत सार्वजनिक गरेका थिए 

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुवो फुल्यो’मा संगीतकार आलोक श्रीको ‘फोटो सिरानी’ बोलको गीतको धुन चोरिएको भन्दै विवाद भयो । आलोकश्रीले आफ्नो गीतको धुन चोरिएको भन्दै होहल्ला गरे । यहींनेर हेक्का राख्नुपर्ने पक्ष के हो भने, गीत चोरीका मामिलामा स्वयं आलोकश्री पनि कम छैनन् ।

केही वर्षअघि चेतन सापकोटाको संगीत र दीपक लिम्बूको स्वरमा ‘मागेर पाइने भए म…’ बोलको गीत सार्वजनिक भएको थियो । यही गीतको धुनसँग हुबहु मिल्ने गरी आलोकश्रीको संगीत रहेको ‘लुकेर लाएको माया’ नामक एल्बममा विकास राना र सुष्मा रानाको स्वरमा ‘तिम्रो आगमनले जीवनमा…’ बोलको गीत सार्वजनिक भयो ।

संगीतकार चेतन सापकोटाले आलोश्रीमाथि चोरीको आरोप लगाए । तर यो विषय केही दिनको होहल्लापछि त्यतिकै सामसुम भयो । आलोकश्रीमाथि चोरीको बात् लगाउने संगीतकार चेतन सापकोटा पनि चोरीका मामिलामा कम विवादमा आउँदैनन् । उनले हिन्दी गीत ‘चलाओ न नैनों से बाँण रे’को धुनलाई ‘दिल चोरेर नजाऊ’मा फिट गरेका थिए ।

‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुवो फुल्यो’मा संगीतकार आलोक श्रीको ‘फोटो सिरानी’ बोलको गीतको धुन चोरिएको भन्दै विवाद भयो । यहींनेर हेक्का राख्नुपर्ने पक्ष के हो भने, गीत चोरीका मामिलामा स्वयं आलोकश्री पनि कम छैनन्

संगीत चोरीको मामिलामा कोहीभन्दा कोही कम देखिँदैनन् । संगीतकार कालीप्रसाद बाँस्कोटा पनि बारम्बार विवादमा आइरहन्छन् । अंग्रेजी र जापानी गीतका धुनहरू चलाखीका साथ आफनो कम्पोजमा घुसाउने गरेको आरोप उनीमाथि छ ।

२०७६ साउनमा संगीतकार बाँस्कोटाविरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर टेकुमा उजुरी पर्‍यो । बाँस्कोटाको ‘समाचार’ बोलको गीतमा संगीतकार बिक्की महतको ‘बुझाइ देऊ न’ गीतको धुन कपी गरिएको आरोप लाग्यो । बाँस्कोटामाथि ‘इन्स्टाको फोटो’ गीतको संगीत चोरेको आरोप पनि छ ।

संगीत चोरीको विवादमा गायक दुर्गेश थापाको नाम पनि चर्चामा आइरहन्छ । दुर्गेशले अली मियाँले लेखेको तथा हरिदेवी कोइराला र प्रेमराजा महतले गाएको एउटा गीतको ‘आकाशैमा बादलु टम्मै छ मनमा के छ भन्नेलाई सम्मै छ’ शब्दलाई ‘एउटा फोटो खिच’ बोलको गीत बीचमा हुबहु घुसाएका छन् ।

आलोकश्रीमाथि चोरीको आरोप लगाउने संगीतकार चेतन सापकोटाले पनि हिन्दी गीत ‘चलाओ न नैनों से बाँण रे’को धुनलाई ‘दिल चोरेर नजाऊ’मा फिट गरेका थिए 

शब्द मात्र होइन, दुर्गेशले गीतको भाकासमेत चोरेको देखिन्छ । पशुपति शर्माको ‘घर त मेरो स्याङ्जा, डालीकाटे घाँस, घाँस काटेर गाईलाई गाईले दिए दूध, कुरो आफैं बुझ’ बोलको भाका चोरेको आरोप छ । चलचित्र ‘छ एकान छ’मा हिन्दी चलचित्र दबंग–२’ को ‘तेरे नयना बडा धोखेबाज रे’को धुनलाई ‘तिम्रो आँखा बडा धोकेबाज छ’ बनाएर प्रस्तुत गरिएको छ ।

चोरीको बात लागेको गीत ‘नोगेन’मा स्वर दिने गायक प्रमोद खरेलले कुनै बेला चर्चामा आउन पाकिस्तानी गायक जुबेन गर्गले गाएको ‘निदियाँ निदियाँ’ गीतको हुबहु धुन कपी गरेर ‘हे माया हे माया’ गाएका थिए । यसबारेमा प्रमोदले भनेका थिए, ‘निदियाँ निदियाँको धुन निकै मन परेकाले मैले त्यही धुनमा नेपाली शब्द राखेर गाएको हुँ, चोरेको भन्दा पनि धुनबाट प्रभावितचाहिँ भएको हुँ ।’

कानूनको उपेक्षा

प्रतिलिपि अधिकार ऐन, २०५९ तथा नियमावली, २०६१ उल्लेख छ, ‘कुनै पनि रचना शब्दअन्तर्गत किताब, पर्चा, लेख, नाटक, नाट्य र संगीत, मुकचित्र, शब्दसहित वा शब्दरहित सांगीतिक रचना, चित्रकला, पेन्टिङ, मूर्तिकला, काष्ठकलालगायतका बौद्धिक रचना प्रतिलिपि चोरी–पैठारी गरेमा त्यस्तो प्रतिलिपि जफत गरी निजलाई कसुरको मात्राअनुसार १० हजार रूपैयाँदेखि एक लाख रूपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुन सक्छ ।’

चलचित्र ‘कृ’का निर्माताले त ११ लाख क्षतिपूर्ति दिनुपर्‍यो, तर अन्य चोरीका मुद्दामा चाहिँ कलाकारहरू नै आपसमा छलफल गरी मौलिक सर्जकको नाम समावेश गरेपछि विवाद सल्टाउने गरिएको पाइन्छ

चलचित्र ‘कृ’का निर्माताले त ११ लाख क्षतिपूर्ति दिनुपर्‍यो, तर अन्य चोरीका मुद्दामा चाहिँ कलाकारहरू नै आपसमा छलफल गरी मौलिक सर्जकको नाम समावेश गरेपछि विवाद सल्टाउने गरिएको पाइन्छ ।

क्षतिपूर्तिस्वरूप रकम नै लिनुपर्ने अडान राखेर यसमा कडी कडाउ गर्ने हो भने चोरीको प्रवृत्ति कम हुनसक्ने ‘भर्सटायल’ गायक थानेश्वर गौतम बताउँछन् ।

गायक जुबेन गर्गले गाएको ‘निदियाँ निदियाँ’ गीतको हुबहु धुन कपी गरेर ‘हे माया हे माया’ गाएका प्रमोद खरेलले स्पष्टीकरण दिँदै भनेका थिए– निदियाँ निदियाँको धुन निकै मन परेकाले मैले त्यही धुनमा नेपाली शब्द राखेर गाएको हुँ, चोरेको भन्दा पनि धुनबाट प्रभावितचाहिँ भएको हुँ

आफूले गाएको ‘बाटो बन्द भो’कै लयसँग मिल्नेगरी मोहन खड्का र कमला पोखरेलले ‘म त रोको रोयै’ बोलको गीत बजारमा ल्याएकोमा थानेश्वरको आपत्ति छ ।

‘सकिन्छ भने मौलिक धुन सिर्जना गरौं, अन्य सर्जकका धुन चोरेर हिट हुनु कुनै सम्मान र इज्जतको कुरा होइन । संगीत चोरीको प्रवृत्तिका कारण यो क्षेत्रमा मौलिक सर्जकहरू आजित भइसकेका छन्, यसमा अब कडा नियम र ठूलै रकम जरिवानाको खाँचो छ,’ थानेश्वर भन्छन् ।

शब्द र विम्बको नक्कल

केही नेपाली गीत यस्ता छन्, जसमा हिन्दी गीतका शब्दको नेपाली अनुवाद पाइन्छ ।

शीतल कादम्बिनीको शब्दमा शिव परियारले गाएको चर्चित गीत हेरौं-
‘कहाँ थियौं तिमी रंग मञ्च उठेपछि आयौ
समयले जवानी यो लुटेपछि आयौ ।’

यो गीतका केही स्थायी शब्द र भाव विम्ब हिन्दी चलचित्र ‘सौतन की बेटी’मा लता मंगेशकरले गाएको गीतसँग हुबहु मिल्छ-
‘कहाँ थे आप जमाने के बाद आए है
मेरे सबाब के जाने के बाद आए है ।’

चर्चित गीतकार राजेन्द्र थापाको शब्द शिल्प बेजोड छ । तर कहिलेकाँही यी माझिएका गीतकार पनि हिन्दी गीतबाट प्रभावित भएको देखिन्छ । गीतकार थापाको शब्दमा प्रमोद खरेलले एउटा गीत गाएका थिए-

‘याद गर्न पनि कोही न कोही त चाहिँदोरहेछ’

नब्बेको दशकमा प्रदर्शित हिन्दी चलचित्र ‘दिवाना’मा गायक विनोद राठौरले गाएका छन्–

‘कोई न कोई चाहिए प्यार करनेवाला’

नेपाली गीतमा ‘प्यार’को ठाउँमा ‘याद’ राखिएको छ, तर ‘कोही न कोही त चाहिन्छ’ भन्ने शब्द र भाव उस्तै छ । यद्यपि, शब्द र लेखन शैली भिन्न भएकाले यसलाई चोरी भन्न नमिल्ने गीतकार थापाको जिकिर छ ।

क्षतिपूर्तिस्वरूप रकम नै लिनुपर्ने अडान राखेर यसमा कडी कडाउ गर्ने हो भने चोरीको प्रवृत्ति कम हुनसक्छ
– गायक थानेश्वर गौतम

हुन त, शब्दका खेलाडी थापा आफैं गीतका खानी हुन्, उनलाई अन्य गीतबाट चोरी हाल्ने दरकार पनि छैन । कहिलेकाहीँ संयोग या भाव प्रभावले पनि गीतका विम्बहरू मिल्ने गर्छ ।

राष्ट्रकवि माधव घिमिरे (हाल दिवंगत)ले धेरै वर्ष पहिले एउटा गीत लेखेका थिए, जुन तारादेवीको स्वरमा रेकर्ड गरिएको थियो-

‘ हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ ।’

राष्ट्रकवि बारम्बार एउटै गुनासो गर्थे, ‘मैले लेखेको पर्वतकी छोरी भन्ने विम्बलाई बिगारेर हिमालकी छोरी, पहाडकी छोरी बनाएर धुस्नो पारिरहेका छन् ।’

‘पर्वतकी छोरी’ विम्बको अनुकरण गरेर त्यसपछि नाम चलेका गीतकारले नै ‘हिमालकी छोरी’ विम्ब राखेर गीत लेखेका अनेकौं उदाहरण छन् । पछिल्लो पटक जुनु रिजालले गाएको ‘हिमालकी छोरी’ बोलको गीत एउटा उदाहरण हो ।

चार बारसम्म मिल्नु चोरी हैन

संगीत संयोजक एवं संगीतकार किरण कँडेलका अनुसार कुनै पनि नयाँ गीतमा चार बार (रिदम बार)सम्म पुराना गीतको धुन मिल्न गएमा त्यसलाई चोरी या नक्कल भन्न मिल्दैन । किनकि, पूर्वीय संगीत विभिन्न रागमा आधारित हुन्छन् । कोमल, शुद्ध र तीव्र गरी जम्मा १२ सुरबाटै कुनै पनि संगीत सिर्जना हुने हो ।

चर्चित गीतकार राजेन्द्र थापाको शब्द शिल्प बेजोड छ । तर कहिलेकाहीँ यी माझिएका गीतकार पनि हिन्दी गीतबाट प्रभावित भएको देखिन्छ

अतः गीतको सममा आउँदा स्थायी या अन्तराको धुनमा यसअघि रिलिज भइसकेका कुनै न कुनै गीतको धुन चार बारसम्म उस्तै–उस्तै सुनिन्छ । उदाहरणका लागि १० वटा नेपाली लोक गीतहरू एक ठाउँमा राखेर सुन्ने हो भने एक अर्काबीच कतैकतै हुबहु मिलेजस्तो सुनिन्छ ।

तर, हरेक गीत उठाउँदाको स्थायी धुन, त्यसको सुरती र चलन भिन्न हुन्छ, फ्लेभर नै भिन्न हुन्छ । तैपनि, बीचबीचमा कतै–कतै चार बारसम्म मेलोडी उस्तै–उस्तै सुनिनसक्छ । संगीतको यो मर्म नबुझेकाले यदाकदा नयाँ गीत रिलिज हुनासाथ अर्को कुनै गीतसँग मिल्न गएजस्तो सुनिनासाथ ‘चोरी’को बात लगाइहाल्छन् ।

महेश खडकाको ‘नोगेन’मा पनि भएको त्यस्तै हो । जम्मा चार बारको धुन मिल्न गएको हो, तर संगीतमा यो स्वभाविक हो ।

उदाहरणका लागि नरेन्द्र प्यासीले गाएको ‘तिमीले दिने माया’को यो स्थायी शब्दको धुन चार बारसम्म हिन्दी चलचित्रको गीत ‘परदेशी परदेशी’को ‘परदेशी मेरे यारा’सँग हुबहु मिल्छ । तर यसलाई चोरी भन्न मिल्दैन ।

रागको फ्लेभर मिल्दाको भ्रम

तबलाबादक होमनाथ उपाध्यायले पंक्तिकारसँग भनेका थिए, ‘एउटै रागमा आधारित अनेक गीतको धुन उस्तै उस्तै सुनिनु स्वभाविकै हो ।’

यसलाई थप पुष्टि गर्दै पशुपति संगीत आश्रमका संगीत गुरु विष्णु श्रेष्ठ भन्छन्, ‘रागमा आधारित बन्दिस या कमर्सियल गीत नै किन नहोस्, उस्तै उस्तै सुनिनसक्छ । किनकि, कुनै पनि रागको आरोह, अवरोह र पकडको एउटा निश्चित नियम हुन्छ, त्यसलाई पछयाउँदा करिब उस्तै धुन निस्कन सक्छ, त्यसैले असली संगीतकारले सुर पछयाउने होइन, सुर छल्ने हो ।’

नेपाली गीतमा ‘प्यार’को ठाउँमा ‘याद’ राखिएको छ, तर ‘कोही न कोही त चाहिन्छ’ भन्ने शब्द र भाव उस्तै छ । यद्यपि, शब्द र लेखन शैली भिन्न भएकाले यसलाई चोरी भन्न नमिल्ने गीतकार थापाको जिकिर छ

महान् गायकहरू नारायण गोपाल या भक्तराज आचार्यले राग यमनमा आधारित रहेर गाएका थुप्रै गीत सुन्दा कता–कता एउटै स्वाद या सौन्दर्य पाइन्छ । धुन फरक भए पनि रागको स्वाद एउटै हुने भएकाले धुन पनि कता–कता मिलेजस्तो लाग्नु स्वभाविकै हो ।

राग मालकौंशमा पाकिस्तानी गायकले गाएको ‘प्यार नही है सुर से जिसको’को धुनसँग नेपाली चलचित्र ‘आधीबाटो’को गीत ‘संगीतले मन शान्त तुल्याउँछ’को धुन हुबहु मिल्छ । काफी थाटमा आधारित राग मालकौंशका सबै कोमल सुर प्रयोग गरिसकेपछि र आरोह, अवरोह, पकड र चलनका नियममा बाँधिएपछि उस्तै–उस्तै सुनिनु स्वभाविकै हो । किनकि, मालकौंशको फ्लेभर संसारमा जसले गाए पनि उस्तै सुनिने न हो ।

अतः संगीतका १२ सुरभित्रैबाट सिर्जना गर्दा संगीतकारले १३ औं सुर सिर्जना गर्न सक्दैन । संगीतकारको अवचेतन मस्तिष्कमा त्यही धुन हुन्छ, जुन उसले साधना र श्रवणका क्रममा पहिले नै सुनिसकेको हुन्छ । अवचेतन मस्तिष्कमा संरक्षित अनेक धुनहरूबाटै उसले नयाँ धुन सिर्जना गर्ने हो र त्यस क्रममा दश वर्षपहिले सुनेको कुनै अन्य सर्जकको मिठो धुन संगीतकारको चेतनामा जागृत भएर आउनसक्छ र नयाँ धुनमा त्यो घोलिनसक्छ ।
सर्जकको नियत सही भएर पनि कहिलेकाहीँ नौलो धुन भनेर सार्वजनिक गर्दा संयोगले त्यो पहिले नै अरू कसैले बजारमा ल्याइसकेको गीतको धुनसँग मिल्न जान्छ, जुन संगीतकारलाई समेत हेक्का हुँदैन । नेपालमा अधिकांश गीतहरू राग पहाडी, भुपाली, यमन र यदाकदा बृन्दावनी सारंगमा कम्पोज हुने गरेको पाइन्छ ।

बीचबीचमा कतै–कतै चार बारसम्म मेलोडी उस्तै–उस्तै सुनिनसक्छ । संगीतको यो मर्म नबुझेकाले यदाकदा नयाँ गीत रिलिज हुनासाथ अर्को कुनै गीतसँग मिल्न गएजस्तो सुनिनासाथ ‘चोरी’को बात लगाइहाल्छन्

राग भुपालीमा सममा आउँदा ‘प, ग, रे, सां’ पछयाउँदै झर्नुपर्छ । हरेक गीतमा प्रायः ‘प, ग, रे, सां’बाटै सममा आएको हामी पाउँछौं । अनि तार सप्तकमा जाँदा ‘धं, सां, रें, गं, पं’सम्म छोइएकै हुन्छ । यसले गर्दा नेपाली गीतका मेलोडी प्रायः उस्तै–उस्तै सुनिन्छन् । त्यसैले त नेपाली गीतको मौलिकपन छ ।

हाम्रा संगीतकार व्यस्त भएपछि टापटिपे अनि काम चलाउ पारा झिक्छन् । राग भीमपलासी, मालकौंश, दुर्गा, शिवरंजिनी, शुद्ध सारङ्ग आदि रागमा आधारित रहेर बिलकुल नौलो र कसैसँग नमिल्ने धुन सिर्जना गर्ने प्रतिभा अचेलका संगीतकारमा देखिँदैन । तीव्र लयका गीतमा शास्त्रीय बान्की घोल्नसक्ने क्षमता पनि देखिँदैन । हल्काफुल्का मेलोडी भरेर बजारमा ल्याएपछि नाच्न मिल्ने गीत हुनासाथ हिट भइहाल्छ, युट्युबमा भाइरल भइहाल्छ, कार्टुन क्रुजदेखि अनेक डान्सर समूह नाचिहाल्छन् ।

महान् गायकहरू नारायण गोपाल या भक्तराज आचार्यले राग यमनमा आधारित रहेर गाएका थुप्रै गीत सुन्दा कता–कता एउटै स्वाद या सौन्दर्य पाइन्छ । धुन फरक भए पनि रागको स्वाद एउटै हुने भएकाले धुन पनि कता–कता मिलेजस्तो लाग्नु स्वभाविकै हो 

सायद यही कारण महेश खड्काकै उत्कृष्ट संगीतले ओतप्रोत अनि किरण कँडेलको शास्त्रीय बान्कीको संगीत संयोजन रहेको अञ्जु पन्तको कालजयी गीत ‘नबिर्से तिमीलाई’कै रिमेक गर्न गीतकार र संगीतकार आज पनि बाध्य छन् । यस्तै स्तरका नयाँ–नयाँ मौलिक सिर्जना ल्याउन यी सर्जक किन सकिरहेका छैनन् ?

किनकि, साधना, साहित्य र संगीतको पक्ष अचेल ओझेलमा परेको छ । रिमेकका नाममा कालजयी गीतको मान मर्दन गर्ने प्रवृत्ति मौलायो भने संगीतको इतिहास र आर्काइभमा नयाँ कलाकारका कमसल उत्पादनको धमिरा लाग्नसक्छ भन्नेतर्फ गीत/संगीत क्षेत्र सजग हुनैपर्छ ।