NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राजेन्द्र लिङ्देनकाे निष्कर्ष : लोकतान्त्रिक आचरण नभएका थापालाई पार्टी अध्यक्ष बनाउनु नै दुर्भाग्य

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विदा भएर कमल थापाले नयाँ पार्टी घोषणा गरे । लगत्तै राजेन्द्र लिङ्देनले नेतृत्व गरिरहेको पार्टीका थुप्रै नेता तथा कार्यकर्ता कमल थापाको पार्टी प्रवेश गरेको समाचार र विज्ञप्तीहरु आइरहेका छन् । यसै विषयमा हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्पर्क गरि तपाईलाई नेता कार्यकर्ताले अध्यक्षको रुपमा स्वीकार गर्न नसकेको हो भनेर सोधेका थियौँ ।

कमल थापाले नयाँ पार्टी खोलेपछि तपाईको पार्टीबाट पुराना नेता–कार्यकर्ताले कमल थापा रोजेको समाचार आउन थालेका छन्, तपाईलाई पार्टीभित्र अध्यक्षको रुपमा स्वीकार गर्न असहज भएको हो ?

त्यस्तो होईन । अहिलेसम्म पार्टी छोडेर कोही पनि कमल थापाको पछि लाग्नुभएको छैन ।

जस्तो, महिला विभागबाट ठूलो संख्यामा पार्टी छोडे भन्ने समाचार आयो नि ?

यो नितान्त हावादारी कुरा हो । त्यसको खण्डन पनि आइसकेको छ । पार्टीको युवा तथा विद्यार्थी संगठनबाटै यो विषयबारे खण्डन भइरहेको छ । यसमा कुनै सत्यता छैन ।

जो जानुभयो उहाँहरू आफैंले चाहीं खण्डन गर्नुभएको छैन नि ?

किन नगर्नू ? जो गए भनेर हल्ला चलाइयो, उहाँहरुले पनि खण्डन गर्नुभएको छ । महिला संगठनतर्फका अध्यक्ष कुन्ती शाही, वरिष्ठ उपाध्यक्षहरू सबै हामीसँगै हुनुहुन्छ । प्रवक्ताहरू पनि सबै हामीसँगै हुनुहुन्छ । उहाँहरूले वक्तव्य दिइरहनुभएको छ । कहिल्यै नदेखेको नसुनेको महिलाहरूको नाम राखेर महिला संगठनका नेताहरू गए भनियो । यो एकदम गलत हो । आधिकारिक मान्छेहरू कोही गएका छैनन् ।
पार्टी अध्यक्ष भएर पार्टी सञ्चालन गर्न कत्तिको गाह्रो हुँदो रहेछ ? यो बीचमा त्यस्तो केही महसुश गर्नुभयो ?

पार्टी अध्यक्ष भइसकेपछि स्वभाविक रूपमा केही जटिलता त हुन्छन् नै । एकदम गाह्रो भन्ने केही पनि छैन । हिजो अध्यक्ष नहुँदा र आज हुँदामा त पक्कै फरक हुने नै भयो । यीनै अप्ठेरा र जटिलालाई चिर्दैै अघि बढ्ने प्रतिबद्धता छ ।

कमल थापा जाँदा पार्टीलाई कत्तिकोे क्षति पुगेकोे छ ?

छैन । एकदमै छैन । पार्टीमा पद नपाएका, लामो समयदेखि कमल थापाको सम्पर्कमा रहेकाहरू केहि उहाँसँगै गएका छन् । तर, सांगठनिक संरचनामा फरक पार्ने किसिमको असर केही पनि परेको छैन ।

यसको मतलब कमल थापा जाँदा तपाईंहरूलाई चुनावमा कुनै पनि असर पर्दैन ?

यसले हामीलाई चुनावमा कुनै असर पर्दैन । नगइदिएको भए राम्रो हुन्थ्यो। तर, गएपछि पनि केही फरक पर्दैन ।

त्यसो भए यत्रो वर्षसम्म अयोग्य मान्छेलाई पार्टी अध्यक्ष बनाएर बसिएछ हैन त ?

उहाँसँग त्यति लामो समय संगत गरियो यस्तो त किन भनौं र ? उहाँको विषयमा थप आलोचना गरिरहन जरुरी भएन । तर, प्रजातन्त्रिक पद्धतीलाई स्वीकार गर्न नसक्ने व्यक्तिलाई यत्तिका वर्ष पार्टी अध्यक्ष मानिएछ भनौं न ।

कमल थापासँग फेरि पनि पार्टी एकताको सम्भावना कत्तिको रहन्छ ?

यो विषय त आजको भोलि नै कसरी भन्न सकिएला र ? सायद यसको जवाफ दिने समय आइसकेको छैन ।