NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एमसिसी संसदमा टेबल गर्ने सहमतिमा सत्ता गठबन्धनमा को–को छन् असन्तुष्ट ?

काठमाडौं । सत्ता गठबन्धनबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदमा टेबल गर्ने सहमति भए पनि सुरुवबाटै विवाद भएको छ । सत्ता गठबनन्धनको निरन्तरको प्रयासपछि आइतबार बल्ल संसदमा टेबल गर्ने विषयमा समझदारी भएको छ । तर सुरुवातदेखि नै एमसिसीका विषयमा सत्ता गठबन्धनका नेताबीच विवाद देखिन थालेको छ ।

एमसिसी संसदमा टेबल गर्ने सहमतिको प्रक्रियामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद हुन पुग्यो । प्रचण्डले लामो समयसम्म संसदमा छलफल हुन नसकेको भन्दै एमसिसीलाई समितिमा छलफलका लागि पठाउनुपर्ने प्रस्ता गरे पनि प्रधानमन्त्रीले सुरुमै अस्वीकार गरिदिएका छन् । प्रचण्डले एमसिसीको विरोध प्रष्ट रुपमा गरेका छैनन् । तर प्रक्रियाको कुरा गरेर यसमा थोरै पनि संसोधन गरेर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

सत्तारूढ दल नेकपा एसले यस अघिदेखि नै संसोधन नभइ यथास्थितिमा एमसिसी पास गर्न नहुने अडान लिएको थियो । तर नेकपा एसका अध्यक्ष माधव नेपाल पनि सम्मिलित सत्ता गठबन्धनको बैठकले एमसिसी टेबल गर्ने सहमति गरेपछि एसका दोस्रो ठूला नेता झलनाथ खनाल तीव्र असन्तुष्ट बनेका छन् । विदेशीको प्रभाव र दबाबमा एमसिसी अघि बढाउन खोजिएको भन्दै पार्टीले सहमति दिएकोप्रति नै खनालले आपत्ति जनाएका हुन् ।

शनिबार मात्रै एसको स्थायी कमिटी बैठकले परिमार्जन गरेपछि मात्रै एमसिसी अघि बढाउने निर्णय गरे पनि आज टेबल गर्ने समति गरेर विदेशीसामू झुक्ने काम भएको बताएका छन् ।

‘हामीले शनिबार मात्रै स्थायी कमिटी बैठकबाट परिमार्जन गरे मात्रै एमसिसी अगाडि बढ्छ भनेका थियौं’ खनालले भने, ‘तर आइतबार नै संसदमा एमसिसी टेबल गर्ने सहमति भएको सुनें । यो भनेको विदेशीसँग झुक्ने कुरा हो । यसले हाम्रो हित हुँदैन ।’

नेता खनालले गत शुक्रबार एमसिसी विना संसोधन पास गर्नै नहुने बताएका थिए । संसदमा टेबल भए राष्ट्रघाती प्रावधानका विषयमा आफूले ५ घण्टा बोल्ने बताएका थिए । खनाल नेकपा हुँदै पार्टीले गठन गरेको एमसिसी सुझाव कार्यदलका संयोजकसमेत हुन् । खनाल संयोजकत्वको समितिले संसोधनसहित एमसिसी पास गर्न सुझाएको थियो । तर निरन्त असन्तुष्ट रहँदै आएका खनानलाई सत्ता गठबन्धनको बैठकमा बोलायउको थिएन ।

खनाल मात्रै होइन सत्ता गठबन्धनकै दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि एमसिसीका विरोधमा छन् । नेता श्रेष्ठले एमसिसी पारित गर्न अमेरिकाले नेपालाई धम्क्याएको बताएका थिए । प्रतिक्रिया दिंदै श्रेष्ठले विदेशीको सामू जस्ताको तस्तै पारित गरेर झु्क्न नहुने बताएका छन् । एमसिसीप्रति नकारात्मक रहेका श्रेष्ठलाई समेत एमसिसी सम्बन्धमा डाकिएका बैठकमा पछिल्लो केही दिनयता बोलाइएको छैन ।

‘सत्ता गठबन्धन दल भइकन पनि राष्ट्रिय जनमोर्चासमेत बैठककमा नबोलाइने दलमा पर्छ । जनमोर्चाले निरन्तर एमसिसी नेपालको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने मत राख्दै आएको छ । अमेरिकाले नेपालको उद्धार गर्न होइन । आफ्नो चीन विरोधी सैनिक गतिविधिमा नेपाललाई सामेल एमसिसीलाई अगाडि हो । धेरै विद्वानहरूको मत पनि यही छ । नेपाली जनताले प्रतिकार गरेनन् भने अमेरिकाले नेपाललाई चीन विरोधी रणभूमि बनाउँछन्’ राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘नेपालका राजनीतिक पार्टीहरूलाई देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र मातृभूमिको अस्मिताको रक्षा गर्न सकेनन् । नेताहरू सत्ता स्वार्थ, लालसा, सत्तामा टिकिराख्ने मोहका कारण अमेरिकाका अगाडि लम्पसार परेका छन् । शीर्ष नेताहरूको सहमति त्यसकै पछिल्लो कडि हो । यसमा हाम्रो असहमति छ । हामी सडकबाट भण्डाफोर गर्छौं । संसदमा हाम्रो सानो संख्यामा उपस्थिति भएपनि एमसिसीको विपक्षमा मतदान गछौं ।’
यतिमात्रै होइन सत्तारू दल नेकपा एसका कार्यकर्तासमेत एमसिसीको विरोधमा सडकमा निस्किएका छन् ।