NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमसिसी संसदमा टेबलबारे माओवादीका नेताहरूको लिखित असहमति

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज परियोजना(एमसिसी) प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने सवालमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरूले लिखित असहमति जनाएका छन् ।

एमसिसी सम्बन्धमा विभिन्न चरणमा छलफल भएपनि असमान प्रावधान संशोधन नभइ जस्ताको तस्तै पारित हुन नसक्ने आडान लिएका छन् । लिखित असहमति जनाउने नेतामा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, महिला नेतृ द्वय जयपुरी घर्ती र रेखा शर्मा रहेकी छिन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनक शीर्ष नेताहरूको बैठकमा एमसिसी संसदमा टेबुल गर्ने सैद्धान्ति सहमति गरेका थिए । त्यसप्रति तीन नेताले लिखित असहमति जनाएका हुन् ।

‘एमसिसी सम्झौतामा भएका असमान शर्तहरू संशोधन नभइ जस्ताको तस्तै पारित हुन सक्दैन । यसका लागि राष्ट्रिय सहमति हुन जरुरी छ’ नेपालवाचसँग गुरुङले भने, ‘विपक्षी दलबाट निरन्तर संसद अवरोध जारी रहेको अवस्थामा राष्ट्रियतासँग जोडिएको महत्वपूर्ण विषय संसदमा टेबल हुन सक्दैन । पहिला संसद अवरोध खुल्ला हुनुपर्छ । त्यसपछि राष्ट्रिय राजनीतिक दलहरूबीच सहमति गरी एमसिसीमा भएका असमान प्रावधान संशोधन हुनुपर्छ । बलजफ्जी गरे विपक्षमा मतदान गर्छौं ।’

एमसिसी संसदमा टेबुल गर्ने विषयमा माओवादी केन्द्रका लिलामणि पोखरेल, लेखनाथ न्यौपानेलगायत नेताहरूसमेत असन्तुष्ट छन् ।