NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

२०१८ मा क्यानडाले जितिसकेको खेलमा नेपालले सनसनी मच्याउँदै यसरी जितेको थियो

क्यानडालाई स्तब्ध पार्न फेरि अर्को खेलमा भिड्दै

काठमाडौं । १९४ रनको लक्ष्य तर १४४ रन बनाउँदा ९ विकेट पतन भइसकेको दयनीय अवस्थामा नेपाली टिम थियो । जितले एकदिवसीय मान्यता दिलाउने महत्वपूर्ण क्षणकाे खुशी नेपालको नवौं विकेट गुमेपछि क्यानडाले मनाउन सुरू गरिसकेको थियो । क्रिजमा करण केसी र सन्दीप लामिछाने थिए ।

यस्तोमा नेपालको जितको आशा लगभग मरिसकेको थियो । हुन पनि अन्तिम एक विकेट बाँकी हुँदा चुनौतीपूर्ण लक्ष्य भेटेर जित निकाल्नु सहज विषय थिएन । तर २०१८ फेब्रुअरी १४ मा लिग २ को नतिजा अर्कै आउँदा नेपालले क्यानडालाई स्तब्ध बनाएर एक विकेटको रोमाञ्चक र दुर्लभ जित दिलाएको थियो ।

लगभग जित्ने आशा मरिसकेको स्थितिबाट उठ्दै नेपालका लागि करणले ३१ बलमा ४२ रन र सन्दीपले १८ बलमा ५ रन बनाउँदै टिमको जित सम्भव बनाएपछि खेलको निक्कै तारिफ भएको थियो । ४२ रन बनाउने क्रममा करणले तीन चौका र चार छक्का प्रहार गरेका थिए । सो महत्वपूर्ण खेलको अन्तिम ओभरसम्म पनि खेल कता पल्टिन्छ टुंगो थिएन ।

अन्तिम ओभरमा क्रिजमा करण केसी थिए । नेपाललाई जितको लागि ८ रन चाहिएको थियो । क्यानडालाई ४३ ओभरदेखि मात्रै एक विकेटको खाँचो थियो । तर सन्दीपले सम्हालिएर केसीलाई साथ दिएपछि नेपाल जितनजिक पुगेको थियो ।

अन्तिम ओभरमा ८ रन चाहिँदा केसीले सुरूका चार बलमा कुनै रन प्रहार गर्न सकेनन् । जसका कारण फेरि क्यानडाका बलरले जितनजिक पुगेको शैलीमा सेलिब्रेसन सुरुवात गरिसकेका थिए ।

तर पाँचौ बलमा क्यानडाका बलर परवेजलाई केसीले छक्का प्रहार गर्दै टिमलाई जितनजिक पुर्याए । अन्तिम बलमा नेपाललाई जितका लागि २ रन चाहिएको थियो । तर क्यानडाका बलरले वाइड फ्याक्दै एक रन र बल अतिरिक्त दिंदा खेल बराबरी भयो । त्यही अतिरिक्त बलमा करणले एक रन प्रहार गर्दै टिमलाई विश्वकप क्वालिफायरमा लगेका थिए । सोही जितले नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो । जित नजिकै अझै मुखैमा आएको ठूलो अवसर नेपाली टिमले खोसिदिंदा क्यानडा स्तब्ध बनेको थियो ।

फेरि आमनेसामने

फेरि दुई वर्षपछि अर्को निर्णायक खेलमा क्यानडाले नेपाल नै प्रतिद्वन्द्वी पाएको छ । तर त्यतिखेर जित दिलाएका करण घाइते भएका कारण टिममा छैनन् । सन्दीप टिमको कप्तान छन् । ओमानमा भइरहेको टी २० विश्वकप क्वालिफायरमा नेपाल र क्यानडा आज भिड्न लागेका हुन् । समूहमा नेपाल दुई जितपछि चार अंकसहित पहिलो स्थानमा छ । दुई टिम सेमिफाइनमा जाने यो समूहको समीकरणमा खेल अघिसम्म नेपाल बलियो अवस्थामा छ । तर क्यानडालाई नेपाल तगारो बनेर उभिएको छ । क्यानडाको दुई खेलपछि २ अंक छ । फिलिपिन्सलाई जिते पनि ओमानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएपछि क्यानडा दबाबमा आएको हो ।

सेमिफाइनलमा स्थान बनाउन क्यानडाले नेपालविरुद्ध सामान्य जितमात्रै निकालेर पुग्ने छैन । क्यानडाले नेपालविरुद्ध ३७ रन बढीले वा १६ ओभरभित्र नेपालले दिएको लक्ष्य पूरा गर्नुपर्नेछ ।

क्यानडाले नेपाललाई निक्कै फराकिलो अन्तरले पराजित गर्ने र ओमानले पनि कमजोर फिलिपिन्सलाई फराकिलाे अन्तरले पराजित गरे मात्रै नेपाल बाहिरिनेछ । तर रनरेटमा बलियो रहेको नेपाललाई अहिले औसत रहेको क्यानडाले फराकिलो अन्तरमा पराजित गर्ने सम्भावना निक्कै कम देखिन्छ ।

नेपाल र क्यानडा तथा ओमान र फिलिपिन्सबीचको खेल आज दिउसो पौने चार बजे एकैपटक हुनेछ ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । क्यानडाको नागरिक भइसकेका दासानायके फेरि नेपाली टिमको प्रशिक्षक भएर आएका छन् । जुन उनले प्रशिक्षण गरेको देशविरुद्ध फेरि नेपाली टिम उतार्दैछन् ।

नेपाल सेमिफाइनमा पुगे अर्को समूहबाट आउन सक्ने युएई, आयरल्याण्ड वा बहराइनसँग खेल्नेछ ।