NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

युएईसँग लज्जास्पद पराजयपछि नेपालको विश्वकप खेल्ने सपनाको अन्त्य

काठमाडौं । बलिङ र ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालको टि–२० विश्वकप खेल्ने सपना सकिएको छ ।

युएईविरुद्ध जितको लागि १७६ रनको लक्ष्य पछ्याएको नेपाल १०७ रनमा अलआउट हुँदा ६८ रनले पराजित हुन पुगेको हो ।

नेपाल पराजित भएसँगै युएईले आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकप खेल्ने भएको छ ।

अर्को सेमिफाइनलमा ओमानविरुद्ध जित निकाल्दै आयरल्याण्डले पनि विश्वकप खेल्ने पक्का गरेको छ ।

युएईले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

नेपाल १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनमा समेटिएको हो ।

१७६ रन पछ्याएको नेपालको लागि कुशल भुर्तेलले सात रन बनाउँदा आशिफ शेख र लोकेश बम शुन्य रनमा आउट हुन पुगे । दीपेन्द्र सिंहले बनाएको ३८ रन नै नेपाली टिमको सबैभन्दा बढी व्यक्तिगत रन हो ।

२० रन बनाएर खेलिरहेका ज्ञानेन्द्र मल्ल लगातार छक्का हान्ने क्रममा आउट भएका थिए । लगत्तैको बलमा ३८ रन बनाएर खेलिरहेका दीपेन्द्र पनि आउट भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको थियो ।

आरिफ शेखले ११, सन्दीप लामिछानेले ४, विवेक यादवले ८, कमल ऐरीले ४, जितेन्द्र मुखियाले पाँच रन बनाए । अविनाश बोहोरा एक रन बनाएर नटआउट रहे ।

बलिङतर्फ कमल ऐरीले चार ओभरमा ३० रन दिंदा कुनै विकेट लिन सकेनन् । जितेन्द्र मुखियाले ३ ओभरमा ३५ रन दिएर तीन विकेट लिए ।
अविनाश बोहोराले चार ओभरमा ४६ रन दिएर तीन विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले चार ओभरमा २४ रन दिंदा एक विकेट लिए । आरिफ शेख दुई ओभरमा २० दिंदा विकेटविहीन बने ।
दीपेन्द्र सिंह ऐरीले तीन ओभरमा १८ रन दिंदा विकेट लिन सकेनन् ।

नेपालको ब्याटिङ लाइनअप ध्वस्त बनाउन युएईका अहमेद राजाले चार ओभरमा २० रन दिएर पाँच विकेट लिए । जुनैद सिद्दिकीले चार ओभरमा २७ रन दिएर तीन विकेट लिए । जाहुर खानले एक र रोहन मुस्तफाले एक विकेट लिए ।
ब्याटिङमा युएईका लागि महम्मद वासिमले ७०, भ्रित्या अरविन्दले ४६ रन बनाए ।

ताजा अपडेट

नेपालवाच विशेष