NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

महिला हिंसाको उजुरीपछि मिडिया सञ्चालक माधव गुरागाईं फरार

काठमाडौं । नेपालआज अनलाइनबाट सामाजिक घृणा फैलाउने तथा प्रायोजित रूपमा गालीबेइजती पूर्ण समाचार लेखेर व्यक्ति तथा संस्थाको चरित्र हत्या गर्ने माधव गुरागाईंविरुद्ध महिला हिंसाको उजुरी परेको छ । उजुरीबारे छानबिन गर्न प्रहरीले बोलाएलगत्तै उनी मोबाइल स्विच्ड अफ गरेर फरार भएका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंमा केही दिनअघि एक महिलाले प्रमाणसहित गुरागाईंले मानसिक यातना तथा हिंसा गरेको उजुरी दर्ता गराएकी थिइन् । लगत्तै परिसरले गुरागाईंलाई सम्पर्कमा आउन भनेको थियो । तर गुरागाईं प्रहरीको सम्पर्कमा नआइ मंगलबारदेखि फरार छन् ।

प्रहरी वृत्त बानेश्वरले उजुरीबारे छानबिनका लागि सम्पर्कमा आउन गरेको आग्रह गुरागाईंले अटेरी गरेपछि मंगलबार र बुधबार दिनभर उनको खोजी गरेको तर नभेटिएको जनाएको छ ।

प्रहरीबाट भागिरहेका गुरागाईंले अहिले सामाजिक सञ्जाल प्रयोग गरेर उल्टै धम्क्याउने कार्य गरिरहेको पीडित ती महिलाले नेपालवाचलाई बताइन् ।

गुरागाईंले पछिल्लो समय पत्रकारिताको आवरणमा सामाजिक घृणा फैलाउने, विभिन्न पेशा व्यवसायीमाथि तथ्यहीन, कपोलकल्पित आरोप लगाएर चरित्र हत्या गर्दै आएका छन् । उनले मानहानी तथा गालीबेइज्जतीपूर्ण विषयलाई पनि समाचारका रूप दिएर आफ्नो अनलाइनबाट प्रकाशन गरिरहेका छन् ।

गुरागाईंले सप्तरीका दिनेश शर्माको परिचय दिने दिनेश पराजुलीलाई प्रयोग गरेर पछिल्लो समय समाचार लेख्दै आएका छन् । अनलाइनमा समाचार सम्पादकका रूपमा चिनाइएका शर्माले गुरागाईंको निर्देशनमा प्रहरीदेखि व्यवसायी, सञ्चारकर्मीलगायतलाई पाकिस्तानी एजेन्ट भन्दै कपोलकल्पित आरोप लगाउने गरेका छन् । त्यसबारे प्रष्टीकरणका लागि बोलावट हुँदा उनले प्रेस काउन्सिल नेपालका सदस्य तथा पदाधिकारीलाई समेत पाकिस्तानी एजेन्टको आरोप लगाएर समाचार प्रकाशन गरेका थिए । गुरागाईंको अस्वभाविक र अपराधिक गतिविधिबाट प्रहरीले समेत उत्तिकै हैरानी खेप्दै आइरहेको छ ।

यहीबीचमा गुरागाईंविरुद्ध महिला हिंसा, साइबर अपराध, मानहानी र समाजिक गालीबेइज्जतीजस्ता मुद्दा एकैसाथ दर्ता भएका छन् ।
नेपाल प्रहरीका एक उच्च अधिकारीले पत्रकारिताको पेशागत धर्मविपरीतका गतिविधि गर्ने यस्ता खराब तत्वलाई हदैसम्मको कारबाही गर्ने बताए ।

नेपालआजका समाचार सम्पादकका रूपमा चिनाइएका पराजुली प्रेस चौतारीमा आबद्ध छन् । दिनेश शर्मा र दिनेश पराजुली गरी दुईवटा फेसबुक चलाउने गरेका छन् । पराजुलीले आफूलाई नयाँ पत्रिकाको सप्तरी समाचारदाताका रूपमा चिनाउने गरेका छन् । उनले नयाँ पत्रिकाको पत्रकार रहेको भ्रम सिर्जना गर्न समाचार सेयर गर्ने गरेका छन् । तर उनी नयाँ पत्रिकाको समाचारदाता नभएको खुलेको छ ।

प्रेस काउन्सिल नेपालले गुरागाईं र पराजुलीले पत्रकारिताको मोहडामा नागरिकलाई लाञ्छना लगाउने, समाजमा अपाच्य अमर्यादित सामग्री सम्प्रेषण गर्ने गरेको निष्कर्षसहित अधिकतम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ ।

०७८ फागुन ५ गते काउन्सिलले पत्र संख्या ०७८-७९ चलानी नं. ५०१ बाट प्रहरीलाई पठाएको पत्रमा प्रचलित कानूनबमोजिम कारबाही अघि बढाउन भनिएको छ । साथै पत्रकारका रुपमा उनीहरुले गर्ने गतिविधि प्रेस काउन्सिलको कार्यक्षेत्रभन्दा बाहिर रहेको र यसले स्वतन्त्र सञ्चारमाध्यमको समेत बदनाम गराएको उल्लेख गर्दै हदै सम्मको कारबाही गर्न सिफारिस गरिएको छ ।