NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रुसद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा

काठमाडौं । रुसले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका हुन् ।

रुसले यतिबेला यस्तो कदम चालेको छ जतिबेला तनाव मत्थर गर्न संयुक्त राष्ट्र संघको  सुरक्षा परिषद्‌‌  बैठक बसिरहेको थियो ।

बिबिसीका अनुसार पुटिनले टेलिभिजन सम्बोधन गर्दै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले यसअघि वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको बताएका थिए ।

रुसले केही दिनअघि युक्रेनका पृथकतावादी समूहले कब्जा जमाएका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । रुसको यस्तो घोषणासँगै अमेरिका, बेलायत, क्यानडालगायत मुलुकले उसका विरुद्ध विभिन्न प्रतिबन्धको घोषणा गरेको थियो । रुसविरुद्ध थप कदम चाल्ने चेतावनी दिएका यी मुलुकले युद्ध घोषणापछि भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।