NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गठबन्धन टुटिसक्यो घोषणा गर्न मात्रै बाँकी छ : माओवादी

काठमाडौं । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट गम्भीर देखिएको सत्तारुढ दल नेकपा माओवादी केन्द्र अन्तिम निर्णयकाे संघारमा उभिएकाे छ ।

अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर प्रधानमन्त्री देउवाले विपक्षी दलसँग सत्ता सहकार्यको हात अगाडि बढाएपछि स्थायी कमिटी बैठक बोलाएको पूर्वस्थायी कमिटी मातृका यादवले जानकारी दिए ।

बैठक प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ । आजको बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे गम्भीर समीक्षा गरिने यादवले बताए ।
‘गठबन्धन टुटिसक्यो घोषणा गर्न मात्र बाँकी छ । एमसिसी पास गर्ने सर्तमा माओवादी केन्द्रले कसैसँग पनि सम्झौता गर्दैन’, यादवले भने, ‘राष्ट्रियता विरोधीसँग सँगै बस्न सकिंदैन । राष्ट्रियतालाई दाउमा राखेर वा राष्ट्रिय स्वाभिमानलाई बन्धक राखेर सँगै जान सकिंदैन । यसबारे बैठकमा गम्भीर समिक्षा गरी अगाडि बढ्छौं । सरकारबाट बाहिरिने कुरा कुनै ठूलो होइन ।’

यादवले एमसिसीको विपक्षमा एमाले उभिए सत्ता सहकार्य हुन सक्ने जिकिर गरे । ‘एमसिसी र सत्ता सहकार्य सँगै हुँदैन । एमालेले गरेको प्रतिगमन स्वीकार गरी एमसिसीको विपक्षमा मत दिने शर्तमा एमालेसँग फेरी सकहकार्य हुन सक्छ’, उनले दावी गरे ।

कांग्रेसले एमसिसीलाई टेबुल गरेपछि संसदीय प्रकृयामा जाँदा पास वा फेल जे भएपनि स्वीकार हुने भने पनि एमालेको उक्साहटमा लागेर गठबन्धन तोडेको आरोप लगाए ।

बिहीबार एमसिसी प्रस्ताव अल्पमतमा पर्ने थाहा पाएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसँग सत्ता सहकार्यको प्रस्ताव राखेका थिए । दुई चरणमा भएको वार्ता सहमति नजिक रहेको दुवै पक्षले दावी गरेको छ । एमाले र कांग्रेसबीचको सहकार्यले गठबन्धन सरकार धरापमा परेको छ ।