NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काभ्रेमा कोरोना संक्रमणदर शून्यमा झर्दै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना संक्रमणमुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमित देखिएको छैन ।

कोरोना संक्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् । पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक/एक सक्रिय संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको र बिहीबार १३ जना संक्रमण मुक्त भएका हुन् । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् ।

जिल्लामा हाल १६ सक्रिय संक्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार संक्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म संक्रमणदरभन्दा संक्रमणमुक्त दर अधिक रहेको केन्द्रको तथ्यांकले देखाएको थियो ।

जिल्लामा हालसम्म १७ हजार ५५० मा संक्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कोरोना संक्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो । हालसम्म कूल सङ्क्रमितमध्ये ९८ दशमलब ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ संक्रमणमुक्त भइसकेका छन् ।