NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘व्याख्यात्मक’ पूरक प्रस्तावप्रति झलनाथ खनालको असन्तुष्टि

‘संशोधन नभएसम्म पारित गर्न सकिँदैन’

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनाल अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट पारित गर्न अघि सारिएको ‘व्याख्यात्मक’ पूरक प्रस्तावप्रति असन्तुष्ट बनेका छन् ।

एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका नेता खनालले सम्झौतामा भएको असमान प्रावधान संशोधन नभई यो वा त्यो बहानामा एमसिसी पस गर्न नसकिने निष्कर्षमा पुगेको खनालनिकट एक नेताले बताएका छन् ।

‘खनाल एसिसी संशोधनबिना कुनै हालतमा संसदबाट अनुमोदन गर्ने पक्षमा हुनुहुन्न । राष्ट्रिय हितविपरीत प्रावधान कायमै राखी ‘व्याख्यात्मक’ पूरक प्रस्ताव पारित गर्न सकिँदैन,’ उनीनिकट एक नेताले भने, ‘सत्ता गठबन्धन जोगाउने नाममा राष्ट्रघाती सम्झौतालाई समर्थन गर्न सकिदैन ।’

पार्टी अध्यक्ष माधवकुमार नेपाल गठबन्धन कायम राख्ने शर्तमा ‘व्याख्यात्मक’सहित एमसिसी सम्झौता अनुमोदन गर्न तयार भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास गर्न गठबन्धन दलहरू तयार नभए एमालेसँग सहकार्य गर्ने चेतावनी दिएपछि प्रचण्ड–माधवले विकल्पमा ‘व्याख्यात्मक’ पूरक अघि सारेका हुन् । यसै विषयमा छलफल गर्न अध्यक्ष नेपालले बिहान ११ बजे पार्टी कार्यालय बानेश्वरमा स्थायी कमिटी बैठक बोलाएका छन् ।

पार्टीको निर्णयविपरीत एमसिसी गत आइतबार सदनमा टेबुल भएकोमा खनालले आपत्ति जनाउँदै संसदको बेल घेराउन गरेका थिए ।