NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

संसदमा एमालेको दोहोरो रूप : विरोध गर्ने र भाग लिने दुवै एकैचोटी

काठमाडौं । लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको प्रतिपक्षी एमालेले एमसिसीको विषयमा भएको छलफलमा पनि संसद अवरुद्ध गर्दै नाराबाजी गरिरहेको छ ।

तर सँगै एमसिसीका विषयमा भइरहेको छलफलमा पनि भाग लिएको छ । नियमित पुरानै माग राखेर नियमित झैं संसद्मा विरोध गर्दै आए पनि एमसिसीको विषयमा भएको छलफलमा भने एमाले नेता भीम रावलले भाग लिएका छन् ।

आफ्नै सांसदहरूले एकातिर नारा लगाइरहँदा एमालेकै सांसद रावलले पोडियमसम्म पुगेर एमसिसीको विरोधमा भनाइ राखेका हुन् । रावलले होहल्लाबीच एमसिसीका विषयमा छलफल गरिएको पास गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । राष्ट्रिय स्वाधिनताको विषयमा यसरी होल्लाका बीच प्रस्तुत गर्नुलाई देशप्रतिको गद्दारी भन्दै रावलले विरोध गरे ।

एमसिसीमा असमान प्रावधान रहेको भन्दै अस्वीकार गर्नसमेत रावलले आग्रह गरे । एमसिसी नेपालको सार्वभौमसत्ताविरुद्ध र स्वाधिनताविरुद्ध छ । यसले राष्ट्रिय हितमा आघात पुर्याउँछ । एमसिएले चर्चेका जग्गा उसैका अधिनमा हुने भएको छ’ रावलले भने, ‘पाँच वर्षमा सम्झौता सकिने भनिए पनि त्यसपछि पनि थप फेरि यही बस्न सक्ने सम्झौतामा यी विषय राष्ट्रघाती छन् ।’

सम्झौतापछि नेपाल अमेरिकाको सुरक्षा छातामुनी हुने जिकिरसमेत रावलले गरेका छन् । यो सम्झौता विदेशी कम्पनीले समानान्तर शैलीमा सरकार चलाउने बाटो भएको जिकिरसमेत रावलले गरे । संसदमा यसरी एमालेले संसदमा विरोध पनि गर्ने र भाग लिने दोहोरो रूप देखाएको हो । एमालेको विरोधको बीचबाट रावलले पोडियमसम्म पुगेर विरोधमा बोलेका हुन् । एमालेले संसद् अवरुद्ध गर्दै आएको एमसिसीको विरोधमा भने होइन सभामुखलाई फिर्ता र नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई कारवाही गर्ने भन्ने हो ।