NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालको व्याख्या अमेरिकाले नमाने एमसिसी अगाडि नबढ्ने गगन थापाको घोषणा

काठमाडौं । कांग्रेस सांसद गगन थापाले एमसिसीको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले पनि मान्नुपर्ने बताएका छन् । नभए एमसिसी सम्झौता अगाडि नबढ्ने घोषणा उनको छ ।

नेपालको संविधान र कानुनभन्दा माथि कोही नहुने थापाले बताए ।

‘सम्झौताका विषयमा नागरिकबाट प्रश्न उठेको छ । सबै मिलेर स्पष्ट पारौं, स्पष्कीकरण सोधौं । हामीले गरेको सन्धीमा बुझाई र व्याख्यालाई घोषणा गर्न सक्छौं । नागरिकको स्तरबाट उठेका प्रश्न कति ठीक होलान् कतिमा संशय होलान् । संसद र सरकारले यी विषयमा आश्वस्त पार्नुपर्छ’ थापाले एमसिसीमाथि संसद्मा भएकाे छलफलका क्रममा भने, ‘बुँदागत रुपमा लगेर छलफल र पारित गर्नुपर्छ । अमेरिकाले हाम्रो व्याख्यालाई मान्छ, मान्नुुपर्छ नभए सम्झौता अघि बढ्दैन । व्याख्यात्मक घोषणमा लेखिएको विषयमा अर्को पक्षलाई ठीक लागे मात्रै अगाडि लाने हो । यत्ति हुन्छ भने हीनताबोध नपालौं । दायाँबायाँ भयो भने एउटा पक्षले दायित्व बोक्दैन, खारेज गर्यौं भन्न पो सक्नुपर्ने हो ।’

एमाले नेता प्रधानमन्त्री हुँदा अघि बढेको प्रस्तावलाई एमालेले पनि समर्थन गर्ने विश्वास लिए ।

थापाले अमेरिकासँग ६० अरब मात्रै होइन अब चीन र भारतसँग लिनुपर्ने र देश विकासको काम गर्नुपर्ने बताइ । ‘एमसिसीमा अमेरिकासँग ६० अर्ब मात्रै होइन चीनसँग बिआरआइबाट ७० अर्ब र भारतसँग ८० अर्ब मागौं’ थापाले भने, ‘देशका पक्षमा काम गरौं । उठेका प्रश्नमा व्याख्यात्मक घोषणा आएपछि मात्रै यो सन्धीलाई पारित गरौं ।’