NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यी हुन् एमसिसीका विपक्षमा रहेका चार सांसदहरू

काठमाडौं । अमेरिकी अमेरिकी आर्थिक सहयोग सम्झौता एमसिसी संसदबाट ध्वनीमतमा बहुमतले पारित भएको छ । प्रतिपक्षी एमालेको अवरोधका बीच एमसिसी संसदमा ध्वनीमतले पारित भएको हो ।

सत्तारुढ दलसँग बहुमत भएकोले ध्वनीमतमा एमसिसी पारित भएको हो । एमसिसीका पक्षमा हुने सांसदले हात उठाएर समर्थन गर्दा हुन्न भन्नेमा चार सांसद मात्रै देखिए । जसमा एमालेका दुई र अन्य दलका दुई सांसद रहे । एमालेबाट भीम रावल र झपट रावलले एमसिसी पास गर्न हुन्न भन्नेमा हात उठाए ।

एमसिसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि विपक्षमा हात उठाउने सांसदमा परे ।

संसदमा प्रतिपक्षी दल एमाले निरनतर विरोधमा उत्रिंदै आएको छ । तर उसको विरोध सभामुखलाई हटाउनुपर्ने र नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई कारवाही गर्नुपर्छ भन्नेमा हो । एमसिसीको विरोधमा होइन ।

एमसिसी अमेरिकी रणनीतिक र सैन्य मामिला भएको, नेपालको कानुनभन्दा माथि रहेको भन्दै विरोध भएपछि सरकारले १२ बुँदामा यसको व्याख्या गर्दै अनुमोदनमा लगेको हो । एमसिसी आर्थिक सहयोग मात्रै रहेको र रणनीतिक सैन्य सहयोग नभएको, नेपालको कानुनभन्दा माथि नरहेको सरकारले १२ बुँदे घोषणामार्फत् जनाएको छ ।