NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एमसिसी पारित भएपछि अमेरिकाले भन्यो : अब नेपालमै रोजगारी सिर्जना हुन्छ

काठमाडौं । आइतबार संसद्बाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी ) अनुमोदन भएसँगै नेपालस्थित अमेरिकी दूतावासले यो निर्णय सधैं नेपाल सरकारकै हातमा भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै दूूतावासले एमसिसी अनुमोदन भएसँगै अब नेपाली जनताका लागि थप रोजगारी सिर्जना हुने, विद्युत सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानीको खर्र्च पनि घट्ने दाबी गरेको छ ।

त्यस्तै अमेरिका र नेपाबीचको सम्झौता केवल सम्झौताभन्दा धेरै फराकिलो रहेको दाबी गर्दै दूतावासले नेपाल र नेपालीको लोकतान्त्रिक मूल्यमान्यता र दीर्घकालिन आर्थिक समृद्धिलाई सधै समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा मात्रै नभएर एमसिसी स्थापनाको २० वर्षमा यसका कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको दुतावासले जनाएको छ ।

‘आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवद्र्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसिसीले कम्पयाक्ट सम्झौता गर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

संसद्ले अनुमोदन गरेसँगै अब यो पाँच वर्षको कार्र्यक्रम कार्यान्वयनमा जाने दूतावासले जनाएको छ ।

यही वर्र्ष नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध ७५ औं वर्षमा प्रवेश गर्दैछ । यी वर्षमा भएका परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको दूतावासले जनाएको छ ।

त्यस्तै, नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमसँगै थप माध्यमबाट मद्दत गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल सरकारले सन् २०१७ मा दुई करोड ३० लाखभन्दा बढी नेपालीलाई सहयोग हुने अपेक्षासहित एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । यसले नेपालका उर्जा र यातायाततका क्षेत्रमा आधुकिकीकरण गर्ने लक्ष्य लिइएको थियो ।