NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रचण्डले भने, ‘ओलीका कारण एमसिसी गिजोलियो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण अमेरिकी सहयोग परियोजना एमसिसी गिजोलिएको आरोप लगाएका छन् ।

सोमबार एमसिसी सम्बन्धमा आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी उनले नेकपाकालमै आफूले संशोधन नगरी एमसिसी पारित गर्न नसकिने अडान राखेको दाबी गर्दै ओलीले नमान्दा समस्या आएको बताए ।

‘मेरो अध्यक्षतामा बसेको तत्कालीन नेकपाको बैठकमा एमसिसी संशोधन वा अन्य कुनै विकल्प नखोजी पारित हुन सक्दैन भन्दै हामीले अडान लियौं’, उनले भने, ‘ओलीजीले एसिसीका एक अक्षर पनि दायाँ–बायाँ गर्न मिल्दैन भन्दै अडान लिनुभयो । जस्ताको तस्तै पास गर्न विपक्षी दलका नेता शेरबहादुर देउवालाई उच्चाल्नुभयो ।’

त्यतिबेला पार्टीभित्र एमसिसीको सवालमा ओली अल्पमतमा परेको प्रचण्डको भनाइ छ । एमसिसीलाई गहिरोसँग अध्ययन गर्न आफँैले झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल गठन गरेको उनले जिकिर गरे ।

प्रचण्डले राष्ट्रियताको विषयसँग जोडिएकाले सबैपक्षको सहमतिमा अगाडि बढाउनुपर्छ भनेर ओलीसँग सम्वाद गरे पनि उनले नमानेको बताए ।

आफ्नो सरकारको पालामा एमसिसी प्रक्रिया अगाडि बढाएपनि त्यतिबेला यस्तो प्रावधान नभएको जिकिर गरे ।

‘एमसिसी ओलीको पालामा विवादित भयो । पहिले विवाद र विमति थिएन । ओली सरकारमा हुँदा आइपिएसको अंग भएको अमेरिकी अधिकारीले प्रतिक्रिया दिएपछि विवादमा तानियो’, उनले भने, ‘सम्झौताको वास्तविक दस्तावेजमा संसद्बाट अनुमोदन गर्ने प्रावधान थिएन । ओली सरकारले नै संसदमा दर्ता गराएका हुन् ।’

एमसिसीलाई जटिल बनाउने र गिजोल्ने काम आफूबाट नभइ ओलीकै कारण भएको जिकिर गरे ।