NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते
एमसिसी पारितपछि बोल्यो चीन

‘नेपाल हिन्द–प्रशान्त सैन्य रणनीतिको हिस्सा बन्दैन भन्ने विश्वास छ’

काठमाडौं । नेपालको संसद्बाट अमेरिकी परियोजना एमसिसी अनुमोदन भएपछि यसबारे चीनले प्रतिक्रिया दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतिक्रिया दिएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वनविनले नेपालको संसद्बाट पारित एमसिसी र सत्तारुढ दलहरूले गरेको व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको जनाएका छन् ।

‘हामीले नेपालको संसद्बाट एमसिसीसँगै पारित भएको व्याख्यात्मक घोषणापत्र हेरेका छौं’, उनले भने ।

वनविनले नेपालको संविधान एमसिसी सम्झौताभन्दा माथि नै हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकाले नेपालको नीति र कानूनको सम्मान गर्ने आफूले ठानेको उनले बताएका छन् ।

‘सम्बन्धित मुलुकको सार्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्न र अरू मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने कुरामा चीनले जोड दिँदै आएको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘आफ्नो हितका लागि अरू मुलुकको सार्वभौमिकता र हितलाई नोक्सान गर्न हुँदैन ।’

प्रवक्ता वनविनले एमसिसीका कारण नेपाल अमेरिकाको ‘हिन्द प्रशान्त रणनीति’को सैन्य र सुरक्षा सदस्य बन्ने छैन भन्ने आफूहरूको विश्वास लिएको बताएका छन् ।

एमसिसीका विरोधीहरूले यसलाई ‘हिन्द प्रशान्त रणनीति’को हिस्सा भएको दाबी गरिहेको बेला चीनको यस्तो प्रतिक्रिया आएको हो ।