NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पुटिनले पड्काउलान् त परमाणु बम ?

काठमाडौं । कल्पना गर्दा पनि मानिस आतंकित हुनसक्छ, के एकाएक परमाणु युद्धका कारण विश्वको मानव सभ्यता महासंकटमा फस्न सक्छ ? के यो पृथ्वीमा जताततै खरानी र रेडिएसनको साम्राज्य होला त ?

यस्तो अवस्थाको कल्पना सायदै कसैले गर्ला । सुन्दर पृथ्वीमा वैज्ञानिक विकास र आविष्कारले नयाँ–नयाँ आयामका सौन्दर्य थपिरहेको छ । मानव सभ्यता झन्–झन् उन्नत हुँदैछ ।

करिब दश हजार वर्षको मानव सभ्यता शक्ति राष्ट्रहरूको सनककै भरमा पलभरमै धरापमा पर्ला ? पक्कै नपर्ला । तर, रुस र युक्रेन युद्ध जसरी अगाडि बढ्दैछ, त्यसले कतै त्यस्तै अनिष्ट निम्तिने त होइन भन्ने चिन्ता बढेको छ ।

विश्वमा एकातिर सुन्दर सिर्जना भइरहेको छ । केही दिनअघि मात्र दुबईमा विश्वकै सबैभन्दा सुन्दर भवन ‘म्युजियम अफ द फ्यूचर’को उद्घाटन गरियो । नौ वर्ष लगाएर निर्मित यो साततले भवन वास्तवमै वास्तुकलाको अनुपम नमुना हो ।

यो यस्तो संग्रहालय हो, जसले मानवताको भविष्यको रूपरेखा प्रदर्शित गर्छ । मानव विकासका क्रममा आउने सम्भावित चुनौती र अवसर स्पष्ट गर्र्दै समाधानतर्फ अग्रसर हुन प्रेरणा दिन्छ ।

यो यस्तो जीवन्त संग्राहलय हो, जसको इन्जिनियरिङ कम्प्युटरको माध्यमबाट गरियो । स्टेनलेस स्टिलबाट निर्मित यो भवनमा रोबोटको सहयोगबाट निर्मित करिब एक हजार कलाकृति राखिएको छ ।

एकातिर यही धर्तीमा यस्ता सुन्दर सिर्जना पनि भइरहेका छन्, अर्कोतिर युक्रेनमा कुनै बेला कसैले निर्माण गरेका यस्तै सुन्दर सिर्जनामाथि धमाधम बमका गोला खसिरहेका छन् । र, यही बमबारीबीच एउटा दुःखद् खबर आएको छ, रुसको परमाणु हतियारको तैनाथी ।

परमाणु हाई एलर्टको सन्त्रास

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमाथि लागेको आर्थिक प्रतिबन्धको जवाफमा परमाणु हतियार तम्तयार राख्न आदेश दिएपछि विश्वभर तेस्रो विश्वयुद्धको सन्त्रास फैलिएको छ । रुसी सेनाको परमाणु निवारक बल यतिबेला हाई एलर्टमा छ ।

राष्ट्रपति पुटिनले आइतबार मात्र रुसी रक्षामन्त्री सर्गेइ शोइगु र चिफ अफ स्टाफ वालेरी गेरासिमोवसँगको वैठकका क्रममा यो घोषणा गरेका थिए । रुसको परमाणु निवारक बलमा विभिन्न खालका सामरिक हतियार समावेश छन् ।

यी हतियार पारम्परिक र परमाणु क्षमतासहित आक्रमण गर्न सक्छन्, जसको उपयोग आक्रामक या रक्षात्मक रूपमा गर्न सकिन्छ । विश्वका हरेक परमाणु शक्ति सम्पन्न राष्ट्रसँग परमाणु निवारक बल छन् । यद्यपि, युद्धमा अहिलेसम्म यो शक्तिको उपयोग कमै भएको देखिन्छ । पुटिनचाहिँ यस्ता हतियारको तैनाथीबाट अमेरिकालगायतका पश्चिमा राष्ट्रहरूमा आफ्नो दबाब बढाउन चाहन्छन् ।

पुटिनले घोषणा गरेका छन्, ‘पश्चिमी देशले रुसविरुद्ध आर्थिक क्षेत्रमा मात्र शत्रूतापूर्ण कारबाही गरिरहेका छैनन्, म ती नाजायज प्रतिबन्धका बारेमा कुरा गरिरहेको छु, जसबारे हरेकलाई थाहा छ । प्रमुख नाटो देशका शीर्ष अधिकारी पनि हाम्रो देशविरुद्ध आक्रामक बयान दिइरहेका छन् ।’

पुटिनको संकेत स्विफ्ट भुक्तानी प्रणालीतर्फ थियो । आइतबार नै अमेरिका र युरोपेली राष्ट्रहरूले रुसका प्रमुख बैंकहरूलाई स्विफ्ट भुक्तानी प्रणालीबाट अलग गर्ने घोषणा गरेका थिए । पश्चिमी राष्ट्रहरूको यो कदमलाई ‘रुसमाथि आर्थिक परमाणु हमला’ बताइएको छ । यसबाट रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय लेनदेनमा निकै समस्या भोग्नुपर्नेछ । यति मात्र होइन, रुसी बैंकहरूमा यसबाट अलग हुँदा चर्को घाटा व्यहोर्नुपर्ने आशंका छ ।

स्पिफ्ट अर्थात् ‘सोसाइटी फर वल्र्डवाइड इन्टर बैक फाइनान्सियल टेलिकम्युनिकेशन’ एउटा उच्च सुरक्षायुक्त नेटवर्क हो । यसमा अन्तर्राष्ट्रिय वित्तीय लेनदेन गरिन्छ । यसको स्थापना सन् १९७३ मा टेलेक्सको विकल्पका रूपमा गरिएको थियो । अहिलेसम्म विश्वका २ सयभन्दा बढी देशहरू आफ्नो बैंकिङ्का लागि स्विफ्ट नेटवर्कको उपयोग गर्छन् । यसलाई ग्लोबल फाइनान्स चेनका लागि एक अपरिहार्य प्रविधि मानिएको छ । स्विफ्टलाई बेल्जियमस्थित एक बोर्डले सञ्चालन गर्दै आएको छ । यसमा रुसको सेन्ट्रल काउन्टरपार्टी क्लियरिङ सेन्टरमा व्यवस्थापन बोर्डका अध्यक्ष एडी एस्टानी पनि संलग्न छन् ।

ग्लोबल बैंकिङ चेनबाट अलग हुनुपरेको झोकमा पुटिनले परमाणु हतियार तैनाथीको आदेश दिएपछि युरोपमा तनाव बढेको छ । युरोपमा रुसका साथै फ्रान्स र बेलायतसँग पनि परमाणु हतियार छ । फ्रान्स र बेलायत अमेरिकाका मित्र तथा नाटो सदस्य हुन् ।

रुसको यो घोषणासँगै आसपासका फ्रान्स र बेलायतले पनि आ–आफ्नो परमाणु हतियार तैनाथ गर्नसक्छन् । यद्यपि, परमाणु हतियारका हकमा पनि अमेरिकाको सहयोगबिना फ्रान्स र बेलायतले रुससँग मुकाबिला गर्न सक्दैनन् । यस्तोमा कथंकदाचित अमेरिकाले पनि रुसकै नजिक लगेर परमाण हतियार तैनाथ गरेको खण्डमा आगामी दिनमा परिस्थिति झन् गम्भीर हुनसक्छ ।

बढ्दैछ, परमाणु हतियार

‘फेडरेशन अफ अमेरिकन साइन्टिस्ट’को एक रिपोर्टअनुसार, रुससँग अहिले कुल ४ हजार ४ सय ७७ परमाणु हतियार छन् । यसमा २ हजार ५ सय ६५ स्ट्राटेजिक र १ हजार ९ सय १२ ननस्ट्राटेजिक हतियार छन् । बितेका केही वर्षमा रुसले आफ्नो परमाणु शक्ति तथा त्यसको आधारभूत संरचनामा तीव्रताकासाथ आधुनिकीकरण गरिरहेको छ ।

रुसले युक्रेन र अन्य युरोपेली राष्ट्रको सीमामा पहिलेदेखि नै कैयौं परमाणु अखडा निर्माण गरेको छ । त्यहाँ तैनाथ गरिएको लन्चर्सबाट परमाणु हतियार तुरुन्त फायर गर्न सकिन्छ । रुसको परमाणु हतियार सोभियत संघको पालाको नभएर आधुनिक भएको बताइन्छ । सन् २०१२ मा रुसका रक्षामन्त्री सर्गेइ सोइगुले आफ्नो देशको परमाणु भण्डारमा आधुनिक हतियार र उपकरणको सञ्चय ८९ दशमलव १ प्रतिशत पुगेको बताएका थिए ।

एफएसएको एक रिपोर्टअनुसार विश्वका चार देशसँग आक्रमणका लागि तम्तयार परमाणु हतियार छन् । यो सूचीमा १८ सय सक्रिय परमाणु हतियारका साथ अमेरिका अग्रस्थानमा छ । दोस्रो स्थानमा रुस छ, जोसँग सक्रिय परमाणु हतियारको संख्या १६ सय छ । तेस्रो स्थानमा फ्रान्स र चौथो स्थानमा बेलायत छन् ।

अमेरिकाले आफ्नो परमाणु हतियारलाई ब्यालेस्टिक मिसाइलहरूमा फिट गरेर अलग–अलग स्थानमा तैनाथ गरेको छ । अमेरिकाको कूल परमाणु हतियारको संख्या ५ हजार ५ सय ५० पुगेको छ । जसमा ३८ सय हतियार स्टकपिसमा राखिएको छ । यसका साथै १ हजार ७ सय ५० यस्ता हतियार छन्, जसको म्याद सकिएर निष्क्रिय भइसकेका छन् ।

नेपालका छिमेकी मुलुक भारत र चीन पनि परमाणु हतियारले लेस छन् । पछिल्लो तथ्यांक अनुसार भारतसँग १ सय ६० र चीनसँग २ सय ५० परमाणु हतियार छन् । त्यसैगरी फ्रान्ससँग २ सय ९० र बेलायतसँग २ सय २५ परमाणु हतियार छन् ।

होला त परमाणु युद्ध ?

नाटो र रुसबीच बढ्दो तनाव तथा रुसमाथिको आर्थिक प्रतिबन्धका कारण रुसले परमाणु हतियारको उपयोग गर्ला त ? रुसको परमाणु अलर्टप्रति अमेरिका र रुसले कडा विरोध जनाएका छन् । नाटोले भनिसकेको छ, ‘रुस यतिबेला पूरै विश्वमा डरको बातावरण बनाउन चाहन्छ ।’

दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा दुई वटा परमाणु बम खसालेको थियो । त्यो आक्रमणको पीडा हिरोसिमा र नागासाकीले अहिले पनि भोगिरहेको छ । यस्तोमा रुसी परमाणु अलर्टले पूरै विश्वलाई संत्रस्त पारेको छ । यदि रुसले परमाणु आक्रमणको दुस्साहस गरेको खण्डमा यसको परिणाम हाम्रो कल्पनाभन्दा बाहिरको हुनेछ ।

शान्तिको अवस्थामा परमाणु हतियार बललाई यसरी अलर्टमा राखिँदैन । यो बलले यसक्रममा लञ्च हुनेलाई डिस्कनेक्ट गरिदिन्छ । यदि आफूमाथि कुनै आक्रमण हुने खतरा रुसलाई महसुस भयो भने उसले सर्किटलाई तारबाट पुनः जोड्न सक्नेछ । लञ्चको आदेश आउनासाथ तत्काल आक्रमण गर्न सकिन्छ । एकपटक प्रारम्भिक कमाण्ड जारी गर्नासाथ सिस्टम सक्रिय भइहाल्छ । यो स्थितिमा हतियार प्रणालीले तब आक्रमण गर्नेछ, जब उसलाई लाग्नेछ कि उसको क्षेत्रमा परमाणु हमला भएको छ ।

परमाणु बल अलर्ट गर्नुको अर्थ रुसले नै पहिलो हमला गर्ने भने हैन । अर्थात् रुसले आफूले पहिला आक्रमणको तयारी गरिरहेको छैन । रुसले सबैभन्दा पहिला हमला तब गर्नेछ, जब त्यस्तो कुनै चेतावनी उसलाई मिल्नेछ ।

हालसम्म कुनै पनि देशले परमाणु अलर्ट गरेको पाइँदैन । परमाणु हतियारको होड र शीतयुद्धकालमा पनि परमाणु बललाई यसरी अलर्ट राखिएको थिएन । विश्वले पहिलो पटक यसखालको परमाणु अलर्ट देखेकाले पनि संत्रास बढेको हो ।

विश्वका परमाणु शक्ति सम्पन्न राष्ट्रहरूले सामरिक र रणनीतिक दबाबका लागि पनि परमाणु हतियार थुपार्ने गर्छन् । परमाणु हतियारको प्रयोगबाट शत्रू मात्र होइन, आफूसमेत समाप्त हुनसक्ने भएकाले कसैले पनि परमाणु हतियारको पहिलो प्रयोग गर्दैनन् र जापानको अपवादबाहेक अहिलेसम्म प्रयोग भएको पनि छैन ।

हार्वर्ड केनेडी स्कुलका प्राध्यापक एवं अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनका विज्ञान प्रविधि नीतिका पूर्व सल्लाहकार म्याथ्यू बनले भनेका छन्, ‘युक्रेन युद्धमा परमाणु हतियारको प्रयोग होलाजस्तो मलाई लाग्दैन ।’

यसको कारण के हो भने अमेरिका र नाटोले स्पष्ट भनिसकेका छन् कि युक्रेनमा आफ्नो सेना पठाउने छैनौं । यदि रुसमा कुनै सैन्य आक्रमण नभएको खण्डमा पुटिनले परमाणु हतियारको प्रयोग गर्ने छैनन् । युक्रेनको तुलनामा रुसको सैन्य शक्ति निकै बलियो छ ।

बोस्टन विश्वविद्यालयका वैश्विक अध्ययन विभागका वरिष्ठ प्राध्यापक पल हेयरका अनुसार, रुसको मुख्य उद्देश्य युक्रेनमा कब्जा गर्ने र रुसको ऐतिहासिक शक्ति पुनः विश्वलाई देखाउनु हो । उनले भनेका छन्, ‘पुटिनको उद्देश्य विश्वलाई परमाणु युद्धमा धकेल्ने किमार्थ होइन ।’

यो पनि पढ्नुहोस्

रुस–युक्रेन युद्ध : ‘साँढे’को जुधाइमा मिचिन हुँदैन ‘बाच्छा’