NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमसिसी पास भएको पर्सिपल्ट किन पत्रकार सम्मेलन गर्दैछन् ओली ?

काठमाडौं । संसदमा अवरोध गरिरहे पनि एमसिसीको पक्ष र विपक्षमा नखुलेको प्रमुख प्रतिपक्षी एमालेले आज पत्रकार सम्मेलन गर्दैछ ।

एमसिसीको पक्ष वा विपक्षमा कता भन्नेबारे कुनै धारणा नल्याएको एमालेले आज दिउसो पत्रकार सम्मेलन गर्न लागेको हो । अध्यक्ष केपी ओली नै पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन दिउसाे १ तीनकुनेस्थित राेयल ब्यांकेटमा हुन लागेकाे हाे ।

पत्रकार सम्मेलनमा एमसिसीसँगै समसामयिक राजनीतिका बारेमा ओलीले बोल्ने भएका छन् । लामो समयदेखि एमालेले सभामुखको राजीनामा र माधव नेपालको पार्टीका १४ सांसदलाई कारवाही गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

एमसिसी पास गर्नु अघि कांग्रेससँग मिलेर अघि बढ्ने गरी एमालेले वार्ता पनि गरेको थियो । तर एमसिसीमा सत्तारुण् दलभित्रै सहमति भएपछि एमालेविनै प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका थिए ।

एमसिसीको पक्षमा एमाले संस्थागत रुपमा नउभिए पनि यसको विरोधमा उत्रिएको छैन । यस अघि केपी ओली नेतृत्वको सरकारकै पालामा एमसिसी संसदमा अघि बढे पनि छलफल हुने र भोटिङको तहसम्म पुगेको थिएन ।

एमाले अध्यक्ष ओली, नेताहरू प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डेलसहितका नेताहरू खुलेरै एमसिसीको पक्षमा लागेका छन् । एमसिसी पास भएको भोलिपल्टै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दै एमसिसी नेपालको हितमा रहेको दाबी गरेका थिए ।

सम्झौतामा नेपाललाई हानी गर्ने विषय उल्लेख नभएको भन्दै उनीहरूले यो आर्थिक सहयेग मात्रै रहेको दाबी गरेका थिए । सरकारले पनि एमसिसी नेपालको हितमा रहेको भन्दै संसदबाट पारित भएकोमा खुशी व्यक्त गरेको थियो ।

गत आइतबार विवादित बनेका विषयमा १२ बुँदे व्याख्यात्मक घोषणापछि प्रतिनिधिसभाबाट एमसिसी बहुमतले पारित भएको थियो ।