NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रचण्डसँग झगडा गरेका नारायणकाजीले भेटमा के भने ?

काठमाडौं । एमसिसीको विवादले माओवादी केन्द्र फेरि फुटको संघारमा पुगेको छ । एमसिसीप्रति असहमति जनाउँदै आएका नारायणकाजी श्रेष्ठ एमसिसी पास गरेपछि अध्यक्ष प्रचण्डसँग रिसाएका छन् ।

एमसिसी पाए भएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै प्रचण्डले श्रेष्ठलाई उद्यृत नगरी कसैले नयाँ बाटो हिड्न चाहेमा स्वतन्त्र हुने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिपछि नेता झन् प्रचण्डसँग झन् बढी रिसाएका थिए । एमसिसी राष्ट्रघाती रहेको भन्दै यस अघिदेखि नै आलोचना गर्दै आएका श्रेष्ठ पास गरेपछि प्रचण्डसँग रिसाउने मात्रै होइन झगडामा नै उत्रिएका थिए ।

पूर्व एकताकेन्द्र पक्षधरले समेत श्रेष्ठलाई अब अलग पार्टीमा हिड्ने गरी अभियानमा लाग्नुपर्ने सुझाव पनि दिएपछि प्रचण्ड श्रेष्ठलाई फकाउन उनकै हात्तीवनस्थित निवासमा पुगेका हुन् ।

भेटकाे सुरुमै श्रेष्ठले अध्यक्षको सोमबारको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएको माओवादी निकट स्रोतको भनाइ छ ।

‘मैंले अहिले होइन पहिलेदेखि नै एमसिसीका केही प्रावधान हाम्रो राष्ट्रियतालाई आघात पार्ने छन् भन्दै आएको थिएँ । एमसिसी पास गर्नै हुन्न भन्नेमा मेरो अडान थिएन । तर केही विषय संसोधन गर्नुपर्छ भन्ने थियो । हामीले संस्थागत रुपमा विरोध पनि गरेका थियौं’ श्रेष्ठले प्रचण्डसँग भनेका थिए, ‘तर तपाईंले कोही नयाँ बाटोमा हिंड्न चाहे स्वतन्त्र हुने अभिव्यक्ति दिनुभयो । के हो तपाईंको अभिव्यक्तिको सन्देश ?’

जवाफमा प्रचण्डले एमसिसीमा १२ बुँदे व्याख्याले धेरै विषयको सम्बोधन गरेको भन्दै केही मतभेद छन् भने छलफलबाट टुंग्याएर अघि बढ्नुपर्ने बताएको स्रोतको भनाई छ । आफूले एउटा प्रसंगमा भने पनि श्रेष्ठप्रति लक्षित नगरेको र अन्यथा नलिन आग्रह गरेका थिए । माओवादीसामु धेरै अभिभारा भएको भन्दै प्रचण्डले नयाँ निर्णयमा अघि नबढ्नसमेत श्रेष्ठसमक्ष आग्रह गरेका छन् ।

श्रेष्ठलाई लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, कृष्णबहादुर महरा, राम कार्कीसहितका नेताको साथ रहेको छ ।

एमसिसी संसदबाट अनुमाेदन भएपछि नारायणाकाजीले सामाजिक संजालमा लेखेका थिए-अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराइ छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्ति एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।

याे पनि पढ्नुस्

प्रचण्ड र नारायणकाजीबीच झगडा, गिरिराजमणिको चेतावनी