पोखरामा भेटियो बर्डफ्लु, २०० पक्षी नष्ट
पोखरा । पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो ।
ती वडामा आज खटिएको प्रविधियुक्त टोलीले २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरिएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा ग्रीष्म न्यौपानेले जानकारी दिए ।
उनले भने, ‘उक्त क्षेत्रमा व्यावसायिक फार्म नभए पनि खुला जग्गा र घरको छतमा राखेर पाल्ने संख्या सोचेभन्दा बढी भेटिएको छ ।’
दुवै स्थानमा आजैदेखि फागुन २७ गतेसम्म पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा समेत रोक लगाइएको उनको भनाइ छ ।
पोखरा–१५ सीताराम पुल नजिक सिद्धिमार्ग अलस्कापुर टोलका खुशीमान गुरुङ र पोखरा–१७ घारीपाटन हिमाल दूध डेरी नजिक खेमबहादुर क्षेत्रीले पालेको स्थानीय जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको बताइएको छ ।
स्थानीयवासी खुशीमान र खेमबहादुरले घरमा पालेका कुखुरा र हाँस धमाधम मर्न थालेपछि जिल्ला प्रयोगशालामा ल्याई आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएसँगै थप परीक्षणका लागि काठमाडौँ पठाइएकामा एकैदिन फागुन १५ गते दुवै स्थानमा सङ्क्रमण पुष्टि भएको हो ।
सञ्चार अधिकृत न्यौपानेले भने, ‘सङ्क्रमण देखिएको स्थानलाई इपिसेन्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।’
स्थानीय जनप्रतिनिधिको रोहवरमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्राविधिक, प्रहरीसहितको टोलीले पक्षी र पक्षीजन्य पदार्थ नष्ट गर्ने अभियान सञ्चालन गरेको हो । आजै नष्ट गरिएका पक्षी र सङ्कलन गरिएको पक्षीजन्य पदार्थलाई पोखराको ल्याण्डफिल्ड नजिकै खाली जग्गामा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको छ ।
ताजा अपडेट
-
साढे चार करोडको लागुऔषधसहित ठमेलबाट दुई विदेशी पक्राउ
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
सहसचिव धनीराम शर्माको नेतृत्वमा बजेट लेखन समिति गठन, को-को छन् समितिमा ?
-
अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग
प्रतिक्रिया