NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सहिद रामवृक्ष यादवको शालिक प्रकरणले माओवादी बैठकमा तनाव बल्झाउँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहिद रामवृक्ष यादव प्रकरण विवाद फेरि बल्झिने भएको छ । आठौं महाधिवेनपछि शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकमा विविध अन्तर्गत सहिद यादवको शालिकबारे एजेण्डा पेश भएपछि विवाद पुनः बल्झिने भएको हो ।

१५ पुसमा महाधिवेशन बन्दशत्रमा प्रदेश २ बाट सत्यनारायण भगतको समूहको रिर्पोटिङ गर्ने क्रममा यादवको सालिक हटाएको विषयमा विरोध जनाएका थिए । उनले तत्कालीन शिक्षामन्त्री एवं माओवादी स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले सालिक हटाएको भन्दै राजनीतिक अपराध गरेको आरोप लगाएका थिए । उक्त आरोपप्रति क्रुद्ध भएको पोखरेल समूहले भगतले शब्द फिर्ता नलिएसम्म बन्दसत्र चल्न नदिने चेतावनी दिएका छन् ।

त्यसपछि दुवैपक्षबीच हात हालाहालको स्थितिमा सिर्जना भएपछि अध्यक्ष प्रचण्डले नै हस्तक्षेप गर्नुपरेको थियो । पोखरेल समूहले बन्दसत्र नै बहिस्कार गरेका थिए ।

अन्त्यमा प्रचण्डले छानविन गरी सत्यतथ्य बाहिर ल्याउने आश्वासन दिँदै भगतलाई आफ्नो शब्द लिखितरूपमा फिर्ता लिन आग्रह गरेका थिए । प्रचण्डको आग्रहमा आफ्नो शब्द फिर्ता लिएपछि बन्दसत्र पुनः चलेको थियो ।

त्यसबारे कुनै सुनुवाइ नभएको भन्दै भगत लगायत नेताहरूले नेतृत्वलाई दबाव दिएपछि केन्द्रीय कमिटीको एजेण्डा बनाइएको एक नेताले बताए ।

विवादको कारण के हो ?

केन्द्रीय सदस्य भगतका अनुसार महोत्तरीको बर्दिवास नगरपालिका–११ स्थित खयरमारामा तत्कालीन माओवादीले रामवृक्ष स्मृति ब्रिगेड अस्थायी क्याम्पसहित यादवको शालिक बनाएका थिए । सेना समायोजन भएपछि अस्थायी क्याम्प सरकारको मातहतमा आएको थियो । त्यही अस्थायी क्याम्पमा ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री पोखरेलले निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेका थिए । त्यहाँ सहिद यादवको शालिक हटाएर निर्मल लामाको शालिक राखिएको थियो ।

पोखरेलकै नेतृत्वमा शहिद यादवको शालिक हटाएको आरोप लगाउँदै उनी विरुद्ध मधेस प्रदेशका प्रधिनिधिले कडा आपत्ति जनाउँदै आएका छन् । निर्मल लामाको शालिक हटाएर सहिद यादवको शालिक नराखेसम्म आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

यादव पूर्व माओवादीका हुन् । लामालाई पूर्व एकताकेन्द्रले नेता मानेको थियो । एमसिसी संसदबाट अनुमोदन प्रकरणमा माओवादी र पूर्व एकताकेन्द्रबीच कुरा नमिलेरिहेका बेला सालिकको विषयमा फेरि विवाद बल्झाएको हो ।

को हुन् रामवृक्ष यादव ?

तत्कालीन विद्रोही माओवादीका केन्द्रीय सदस्यसमेत रहेका यादवलाई २०५१ साल भदौ १ गते राति पार्टीको कार्यक्रम सकेर घर फर्किने क्रममा जनकपुरमा राज्य पक्षबाट हत्या भएको थियो । उनको स्मरणमा पार्टीले शालिक निर्माण गरेको थियो । माओवादीले हरेक भदौ २ गते रामवृक्ष यादव स्मृति दिवस मनाउँदै आएको छ । हरेक वर्ष फागुन १४ देखि २० सम्म माओवादीले सहिद सप्ताह मनाउँदै आएका छन् ।