NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रचण्डको स्वीकारोक्ति : अमेरिकाको डरले एमसिसी पारित गर्न सघाएँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको घेराबन्दीमा पर्ने डरले आफूले अमेरिकी परियोजना एमसिसी संसद्बाट पारित गर्न सघाएको बताएका छन् ।

आज काठमाडौंको राष्ट्रिय सभामा सुरु भएको आठौं महाधिवेशनपछि बसेको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा उनले यस्तो बताएका हुन् ।

एमसिसी पारित गर्न सघाएकोमा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र गिरिराजमणि पोखरेलले बैठकमा आपत्ति प्रकट गरेका थिए । त्यसको जवाफ दिने क्रममा प्रचण्डले आफ्नो बाध्यताबारे प्रष्ट पारेका थिए ।

नेकपाका तत्कालीन अध्यक्ष र प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले एमसिसी संसद्मा दर्ता गरेको तर त्यसलाई पारित गर्न नदिन आफूले नेकपाका तत्कालीन वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल नै बनाएको स्पमरण गराएका थिए ।

तर, माओवादीलाई घेराबन्दीमा पार्ने र सिध्याउने कुरा थाहा पाएपछि आफू एमसिसी पारित गर्न सघाउन बाध्य भएको प्रचण्डले स्पष्ट पारे ।

त्यसका लागि व्याख्यात्मक टिप्पणी उपर्युक्त भएको सल्लाहबमोजिक आफू त्यसमा राजी भएको उनको भनाइ थियो ।

व्याख्यात्मक टिप्पणीमा लेखिएका कुराहरू अमेरिकाले मान्नेमा आफू आशावादी रहेको उनले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

आठौं महाधिवेशनपछि पुस १९ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएपछि पटक–पटक स्थगित हुँदै आएको थियो ।

माओवादी केन्द्रमा २३६ जना केन्द्रीय सदस्य छन् । ठाउँ नपगेर राष्ट्रिय सभामा बैठक राख्नुपरेको हो ।

यसैका साथै बैठकमा माओवादी केन्द्रको सहिद रामवृक्ष यादव प्रकरण विवाद फेरि बल्झिएको छ । विविधअन्तर्गत सहिद यादवको शालिकबारे एजेण्डा पेश भएपछि विवाद पुनः बल्झिएको हो ।

केन्द्रीय कमिटीको अर्को बेठक आइतबार बस्नेछ ।