NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मटिहानीका पाँच पसलमा आगलागी, डेढ करोड क्षति

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु डेढ करोड बराबरको धनमाल क्षति भएको उनको भनाइ थियो ।

मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ ।