NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भिसा र पासपोर्टविना एक व्यक्ति रहस्यमय रुपमा यसरी पुगेका थिए विमानभित्रसम्मै

काठमाडौं । केही समय अघि भिसा र पासपोर्टविनै एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नै लागेको विमानसम्मै पुगेको घटनाका सन्दर्भमा छानविन समितिले प्रतिवेदन तयार पारेको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजकत्वमा गठित विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित छानविन समितिको प्रतिवेदनमा मानसिक सन्तुलन ठीक नभएका ती व्यक्ति विदेश जाने सपना पूरा गर्न विमानस्थलका सबै सुरक्षा घेरालाई जिल्याउँदै विमानभित्रै पुगेको उल्लेख छ ।

प्रतिवेदनमा ती व्यक्ति कोटेश्वरतर्फको बाहिरी भाग (हाल नर्सरी) बाट सुरक्षाकर्मीलाई छक्याउँदै विमानसम्म पुगेको उल्लेख छ । बाहिरी घेराको सुरक्षा असावधानी र भित्र पुगेपछि पनि सुरक्षाकर्मीको वेवास्ताले यस्तो घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

विमानसम्मै पुगेपछि मात्रै ती व्यक्तिलाई सिसिटिभीले खिचेको थियो । तर, सुरक्षाका लागि गेटमा राखिएका सिसिटिभीलेसमेत ती व्यक्तिलाई खिच्न नसकेको उल्लेख छ । विमानस्थलमा राखिएका सबै सिसिटिभीले काम नगरेको, बाहिरीदेखि भित्री सुरक्षा घेराका पर्याप्त सुरक्षा सावधानी नअपनाइँदा ती व्यक्ति विमानभित्रैसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सुरक्षा कमजोरीकै कारण ती व्यक्ति विमानसम्म पुगेको भन्दै प्रतिवेदनले सुरक्षा सावधानीका लागि बाहिरी सुरक्षा घेराको भौतिक सुधार, नियमित र प्रभावकारी गस्ती, सुरक्षा पोस्टको भौतिक सुधार, पासमा कडाइ, प्रभावकारी सूचना प्रवाहसहितका विषमया काम गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

कसैले अनधिकृत रुपमा विदेशन पुर्याउन खोजेको नभई आफ्नै लहडमा पटकपटक प्रयास गर्दा विमानसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ ।
गत फागुन ९ गते राति पौने १० बजे रौतहटका रौतहटका १८ वर्षीय शे. हसरे आलम विमानस्थलको बलियो सुरक्षा घेरालाई जिल्याउँदै विमानभित्रै पुगेका थिए । पासपोर्ट र भिसाविनै ती व्यक्ति उड्न तयार भएको नेपाल एयरलायन्सको विमानमा छिरेपछि राति १० बजेर २३ मिनेटमा प्रहरीले विमानभित्रैबाट ती व्यक्तिलाई निकालेको थियो ।

त्यसअघि २ माघमा पनि प्रहरीको घेरा तोड्दै ती व्यक्ति भित्र जान खोज्दा समातिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सुरक्षा संयन्त्रको कमजोरीको कारण घटना भए पनि विमानस्थल सुरक्षा समितिको बैठकले अहिलेसम्म नबसेको जनाइएको छ ।