NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

त्रिभुवन विमानस्थलमा ढलबाटै रनवेमा पुग्नेदेखि अनधिकृत व्यक्ति सहजै छिर्न मिल्ने यस्ता छन् २६ छिद्र

काठमाडौं । छानविन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा लापरवाही र कमजोर पूर्वाधारको कारण अनधिकृत व्यक्ति पासपोर्ट र भिसाविनै विमानसम्म पुगेको प्रतिवेदन तयार गरेको छ ।

गत फागुन ९ गते राति पौने १० बजे रौतहटका रौतहटका १८ वर्षीय शे. हसरे आलम विमानस्थलको बलियो सुरक्षा घेरालाई जिल्याउँदै विमानभित्रै पुगेका थिए । पासपोर्ट र भिसाविनै ती व्यक्ति उड्न तयार भएको नेपाल एयरलायन्सको विमानमा छिरेपछि राति १० बजेर २३ मिनेटमा प्रहरीले विमानभित्रैबाट ती व्यक्तिलाई निकालेको थियो ।

त्यसपछि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजकत्वमा गठित विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित छानविन समिति बनाएको थियो । प्रतिवेदनमा मानसिक सन्तुलन ठीक नभएका ती व्यक्ति विदेश जाने सपना पूरा गर्न विमानस्थलका सबै सुरक्षा घेरालाई जिल्याउँदै विमानभित्रै पुगेको उल्लेख छ । तर यसरी उनीभित्रसम्म प्रवेश गर्नुका पछाडि विमानस्थलको सुरक्षा लापरवाही र कमजोर भौतिक पूर्वाधारलाई कारण मानिएको छ ।

प्रतिवेदनमा ती व्यक्ति कोटेश्वरतर्फको बाहिरी भाग ९हाल नर्सरी० बाट सुरक्षाकर्मीलाई छक्याउँदै विमानसम्म पुगेको उल्लेख छ । बाहिरी घेराको सुरक्षा असावधानी र भित्र पुगेपछि पनि सुरक्षाकर्मीको वेवास्ताले यस्तो घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

विमानसम्मै पुगेपछि मात्रै ती व्यक्तिलाई सिसिटिभीले खिचेको थियो । तर, सुरक्षाका लागि गेटमा राखिएका सिसिटिभीलेसमेत ती व्यक्तिलाई खिच्न नसकेको उल्लेख छ ।

यिनै सुरक्षा जोखिम र कमजोर पूर्वाधारलाई देखाउँदै समितिले विमानस्थलमा २६ ठाउँबाट अनधिकृत व्यक्ति विमानस्थलसम्म छिर्न सक्ने देखाएको छ । जसमा गेटमा प्रभावकारी लक सिस्टम नहुनु, प्रभावकारी तारबार नहुनु, सिसिटिभी सबै नल्चनु, ढलको ह्युमपाइनलाई बेबारिसे छोड्नु जस्ता विषयलाई उठाइएको छ । यी स्थानमा सुधार नगरे अनधिकृत व्यक्ति एयरपोर्टभित्र सहजै छिर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनधिकृत व्यक्ति छिर्न सक्ने २६ छिद्रलाई यसरी देखाएको छ

१. विमास्थलबाट उत्तरतर्फ रहेको त्रिभुवन आर्मी गल्फ कोर्सको दुई नम्बर गेटमा प्रपर लक सिस्टम र रेस्टेक्टिड एरिया साइन पोस्टिङ नभएको हुँदा लक सिस्टम र साइन पोस्टिङको व्यवस्था नभएको देखिन्छ ।

२. विमानस्थलको उत्तर बागमती नदीतर्फ रहेको एक्सओटि क्याफे नजिक रहेको ढुंगाको पर्खालमाथि करिब ६० मिटर फेन्सिङ नहुँदा उक्त इलाकामा फेन्सिङ नगरेमा अनाधिकृत व्यक्ति गल्फ कोर्सको क्षेत्र हुँदै डोम्यास्टिक पार्किङ वे सम्म प्रवेश गर्न सक्ने खतरा रहेको छ ।

३ . विमानस्थलबाट उत्तरतर्फ रहेको काली रंगशाला जाने दोबाटो नपुग्दैको कल्भर्टको तल पानी पास हुने ठाउँमा हाल रहेको ग्याविन वायरको बार निकै नै कमजोर रहेको र हाल उक्त स्थानबाट सजिलै मानिस प्रवेश गरी नहरको बाटो हुँदै दक्षिणतर्फको उकालो बाटो रन वेसम्म पुग्न सक्ने अवस्था रहेको छ ।

४ विमानस्थलबाट उत्तरतर्फ रहेको काली रंगशाला चोकबाट गोठाटार जाने बाटोको दायाँतर्फ रहेको गेटमा प्रपर लक सिस्टम नभएको र उक्त गेट हाल प्रयोगमा समेत नरहेको अवस्था छ ।

५. विमानस्थलबाट उत्तरतर्फ रहेको काली रंगशाला चोकबाट गोठाटारतर्फ जाने उकालोको दाहिना दक्षिणतर्फ रहेको पेरिमिटर फेन्सिङमा १० मिटर कन्र्सनटिना वायर अभाव छ ।

६.विमानस्थलबाट पूर्वतर्फ रहेको गोठाटार पेप्सिकोला सडक खण्डको करिब ३५० पेरिमिटर फेन्सिङमा कन्र्सनटिना वायर नभएको देखिन्छ ।

७. विमानस्थलबाट पूर्वतर्फ रहेको ईओडि गेट नजिकैको कल्र्भटमा बारको रुपमा प्रयोग भएको फलामे बार जीर्ण अवस्थामा रहेको । तसर्थ ४ फिट डायमिटर रहेको आरसिसी ह्युम पाइपको चार वटा मुखमा खुल्ला भाग रहेको छ ।

८. विमानस्थलबाट पूर्वतर्फ रहेको पेप्सिकोला चोकमा रहेको ६×५ मिटरको कल्र्भटमा कुनै पनि बार नभएकोले उक्त स्थानबाट विमानस्थल निषेधित क्षेत्रमा सजिलै आवतजवात गर्न सकिने अवस्था छ ।

९. विमानस्थलबाट पूर्वतर्फ रहेको स्थानीयहरुको बस्तीमा रहेको पेरिमिटर फेन्सिङअन्र्तगत ५ मिटर फेन्सिङ टुटेको देखिन्छ ।

१०. विमानस्थलबाटट पूर्वतर्फ रहेको एयरपोर्ट कन्सट्रक्सन कम्पनीमा कार्यरत कर्मचारीहरूले हाल प्रयोग गरिरहेको घरहरूबाट दक्षिणतर्फ थपिएको बारबेड वायरको नयाँ पेरिमिटर फेन्सको बारबेड वायरको ग्यापबाट विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गर्न सहज देखिएको छ ।
११.मौजुदा बारबेड वायरको फेन्समा जस्ता प्रयोग गरी बलियो फेन्सिङ गर्नुपर्ने हालको फेन्सिङमा २ तहको कन्र्सनटेरिना वायर अभाव रहेको देखिन्छ ।

१२. विमानस्थलको दक्षिणतर्फ रहेको भीओरडीएमई पोष्टको अपोजिट जडीबुटी कोटेश्वर सडकखण्ड अन्र्तगत विमानस्थल निषेधित क्षेत्रभित्र सालिक भएको इलाकामा नर्सरी सञ्चालनमा रहेको छ । यस स्थानमा मानिसहरुको आवतजावत भइरहने हुँदा सुरक्षा जोखिम बढेको देखिन्छ ।

१३. विमानस्थलको दक्षिणतर्फ रहेको भोरमेड पोष्टको अपोजिटमा विमानस्थल निषेधित क्षेत्रभित्र रहेको शालिक भएको इलाकाको पश्चिमतर्फ फेन्सिङ कमजोर रहेको छ । उक्त इलाकाबाट रन वे को दक्षिणतर्फ प्रवेश गर्न सक्ने देखिन्छ ।

१४.विमानस्थलको पश्चिमतर्फ रहेको कोटेश्वर चोकमा विमानस्थल पेरिमिटर फेन्सिङसँगै सार्वजनिक सवारी साधनहरु पार्किङ गर्ने स्थान बनाइएकाले सुरक्षा संवेदनशीलता थपिएको छ ।

१५.विमानस्थलको पश्चिमतर्फ कोटेश्वरबाट तीनकुने जाँदा दाहिनातर्फ विमानस्थल पेरिमिटर फेन्सिङ क्षेत्रमा आरसिसी ह्युम पाइप रहेको र उक्त स्थानबाट अनधिकृत व्यक्तिहरु विमानस्थल निषेधित क्षेत्र प्रवेश गर्न सक्ने देखिन्छ ।

१६. विमानस्थलको पश्चिमतर्फ रहेको तीनकुने चोक नजिकैको पेरिमिटर फेन्सिङ क्षेत्रमा २ वटा २/२ मिटरको कल्र्भटहरु रहेका छन् । उक्त कल्र्भटको प्रयोग गरी विमानस्थल निषेधित क्षेत्र प्रवेश गर्न सहज रहेको देखिन्छ ।

१७. विमानस्थलको पश्चिमतर्फ रहेको अप्रोज गेट नजिक विमानस्थल पेरिमिटर फेन्सिङ क्षेत्रमा नाला रहेको छ । उक्त नालाबाट अनधिकृत व्यक्तिहरु विमानस्थल क्षेत्र प्रवेश गर्न सक्ने देखिन्छ ।

१८.विमानस्थलको उत्तरतर्फ रहेको रन वे को २० ल्याण्डिङ साइडको तलतर्फ गहिरो भागमा रहेको सर्भिस ट्रयाकको बायाँतर्फ करिब २५० मिटर प्रोपर फेन्सिङ नभएको देखिन्छ ।

१९.विमानस्थलको पूर्वतर्फ रहेको नेपाल प्रहरीद्वारा विगतमा बासस्थानको रुपमा प्रयोग गरिरहेको क्षेत्रमा कुनै पनि सुरक्षा निकायको उपस्थिति÷ड्युउटी नभएको हुँदा उक्त स्थानबाट अनाधिकृत व्यक्तिहरुको प्रवेश हुन सक्न प्रवल सम्भावना रहेको छ ।

२०.विमानस्थलको पूर्वतर्फ रहेको हेलिप्याड इलाकामा यात्रु, हेलिकप्टर तथा एयरलायन्सका सञ्चालक, कर्मचारीलगायत अन्य व्यक्तिहरु प्रवेश गर्न सक्ने भएकाले हेलिप्याड इलाकादेखि त्रि.अ.वि दमकलसम्मको इलाकाको सर्भिस ट्रयाकको बायाँ करिब २ सय मिटरमा फेन्सिङ कमजोर रहेको छ ।

२१. विमानस्थलको पूर्वतर्फ रहेको ६ नम्बर पोष्ट नपुग्दै बायाँतर्फ रहेको गेट(हाल घाँस काट्न आउने व्यक्तिहरुबाहेक अन्य प्रयोजनको लागि उक्त गेट प्रयोगमा नभएकोमा प्रपर लक सिस्टम नभएको देखिन्छ ।

२२. विमानस्थलको दक्षिणतर्फ रहेका ०२ ल्याण्डिङ साइडको बाटो पारी रहेको गेटमा प्रपर लक सिस्टम अभाव रहेको छ । उक्त गेटको माथिपट्टि कन्र्सनटिना वायर छैन ।

२३. विमानस्थलको पूर्वतर्फ रहेको ईओडि होल्डिङ युनिटको कार्यालयबाट करिब चार सय मिटर दक्षिणतर्फ रहेको पुरानो घरलाई मौसम विभागले स्टोर हाउसको रुपमा प्रयोग गरिरहेको भन्ने वुझिएको छ ।

उक्त घरमा सिन्धुपाल्चोक स्थायी घर भई हाल बारा कोल्ववी बस्ने हेम बहादुर खत्रीको छोरा माधव खत्री, उनकी श्रीमती, एक छोरा र एक छोरी गरी जम्मा ४ जनाको परिवार विमानस्थल क्षेत्र करिब १८ वर्षदेखि बसोबास गर्र्दै आइरहेको र र आवतजावत गर्ने ईओडि होल्डिङ युनिटको मूख्य प्रवेशद्वार प्रयोग गर्ने गरेको । हालसम्म उक्त परिवारबाट कुनै पनि शंकास्पद गतिविधि नगरेतापनि विमानस्थलको सुरक्षा संवेदनशीलता थपिएको ।

२४. विमानस्थल भन्सार कार्यालयदेखि उत्तर आयल निगमसम्म इलाकामा भित्री पेरिमिटरमा प्रपर फेन्सिङको अभाव छ ।

२५.विमानस्थलको दक्षिणतर्फ रहेको भोरमेड पोष्टको अपोजिटमा रहेको विमानस्थलको १५० मिटर पेरिमिटर फेन्सिङ पूर्ण रुपमा जीर्ण रहेको छ । उक्त इलाकाबाट रन वे को दक्षिणतर्फ इलाकाबाट रन वे को दक्षिणतर्फ प्रवेश गर्न सक्ने देखिन्छ ।

२६. विमानस्थलको पश्चिमतर्फ रहेको सिनामंगल चोकबाट आयाल निगम प्रवेश गर्ने मूख्य गेटबाट बायाँ उत्तरतर्फ फुट पाथ र आयल निगम क्षेत्रमा प्रपर फेन्सिङको अभाव छ । यसले गर्दा अनाधिकृत व्यक्ति प्रवेश गर्न सक्ने अवस्था रहेको छ ।

फोटो सौजन्य : नेपाल ट्राभलरडटकमबाट ।

याे पनि पढ्नुस्

भिसा र पासपोर्टविना एक व्यक्ति रहस्यमय रुपमा यसरी पुगेका थिए विमानभित्रसम्मै