NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबविरुद्ध नेपाल भारी अन्तरले विजयी

काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली नेभी स्पोर्ट्स क्लबलाई १११ रनको भारी अन्तरले पराजित गरेको छ ।

नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का नेभी स्पोर्ट्स क्लब २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो । श्रीलङ्का नेभीका लागि एम मधुशङ्काले सर्वाधिक ३९ रनको योगदान गरे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई÷दुई विकेट लिए । सागर ढकाल, कमलसिंह ऐरी र करण केसीले एक÷एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे । आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमलसिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११ र ज्ञानेन्द्र मल्लले दुई रन जोडे । श्रीलङ्का नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार विकेट लिए भने अवादतले तीन विकेट हात पारे ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलङ्का गएको हो । त्यहाँ नेपालले चार अभ्यास खेल खेल्नेछ । चार अभ्यास खेल सकिएपछि नेपाल त्यतैबाट युएई प्रस्थान गर्नेछ । विश्वकप लिग–२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।