NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानमा यस्ता छन् कांग्रेसका ८ उद्देश्य

काठमाडौं । कांग्रेसले स्थानीय तहको चुनावलक्षित अभियानलाई अघि बढाउँदै छ । फागुन २९ देखि चैत २९ सम्म कांग्रेसले स्थानीय तहलाई जिताउने अभियान, अघिल्लो सरकारको भण्डाफोर, कांग्रेस सरकारको प्रभावकारी कदम, एमसिसीबारे बुझाउनेसहितका विषयमा कार्यकर्ता र नागरिक तहसम्मै अभियान पुर्याउने भएको हो । यो अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदैछ ।

यस्ता छन् कांग्रेस अभियानका ८ उद्देश्य

१ . वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने ।

२. स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने । कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपिल गर्ने ।

३. ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालनतर्फ उन्मुख गराउने ।

४. नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने ।

५. नेकपाको सरकारको गत ३ वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने ।

६. प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने ।

७. नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपिल गर्ने ।

८. करिब–करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग। परियोजना एमसीसी कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसदबाट पारित भएको हुँदा त्यसबारेमा जनस्तरमा छरिएका भ्रम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने ।