NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आङछिरिङ्ग शेर्पा स्मृति गल्फ हुने, पुरस्कार राशी १३ लाख

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट’ हुने भएको छ ।

प्रतियोगिता यती एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा हुन लागेको हो । आगामी मार्च फागुन २७ र २८ गते गोकर्ण गल्फ क्लबमा दुई दिने गल्फ प्रतियोगिता हुन लागेको हो ।

No description available.

शेर्पाको तेस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

“पर्यटन व्यवसायी स्व. शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफैँपनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,” प्रवक्ता बर्तौलाले भने ।

गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो । प्रत्येक बर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यसअघि नै यती एयरलाइन्सले घोषणा गरिसकेको छ । उक्त प्रतियोगितामा रजिस्ट्रेसन शुल्कमार्फत् संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ ।

प्रतियोगितामा विजेता र उपविजेता, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको विजेता र उपविजेता, भेट्रान तर्फका विजेता, जुनियर तर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग रु ३ लाख धनरासी बराबरको ट्राभल प्याकेज जित्नेछ ।

अन्य विजेताले यती गु्रपकै सञ्चालनमा रहेको विभिन्न कम्पनी तथा रिसोर्टहरू तथा निकटका संस्थाहरूले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । सम्पूर्ण विधामा गरी करिब १३ लाख मूल्य बराबरको पुरस्कार वितरण हुनेछ ।

उक्त प्रतियोगितामा यती एयरलाइन्स, तारा एयर, हिमालय एयरलाइन्स, एल्टिच्युट एयर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ्ग रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एअरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनीजस्ता प्रायोजक सहयात्री संस्था रहेका छन् ।

यती समूहका प्रबन्ध निर्देशक शेर्पाको ०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । जसमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितको टोली पनि थियो ।