NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको फराकिलो जित, पुग्यो क्वार्टरफाइनलमा

काठमाडौं । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गलाई ७–१ गोलको फराकिलो अन्तरले हराएको छ ।

यस जितसँगै बायर्न समग्रमा ८–२ गोल अन्तरको जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।

पहिलो लेगमा बायर्न र साल्जबर्गले १–१ गोलको बराबरी खेलेका थिए ।

घरेलु मैदानमा बायर्नलाई सहज जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको १२ औं मिनेटमै पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए ।

२१ औं मिनेटमा लेवान्डोस्कीले पुनः पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

यस्तै खेलको २३ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । बायर्नको पनि ३–० अग्रता बनायो ।

त्यसपछि पनि बायर्न रोकिएन । खेलको ३१ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरेपछि बायर्नले ४–० को अग्रता लियो ।

थोमस मुलरले ५४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता ५–० को बनाए ।

खेलको ७० औं मिनेटमा साल्जबर्गका केजरगार्डले सान्वना गोल फर्काएका थिए ।

त्यसैगरी खेलको ८३ औं मिनेटमा मुलरले नै व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता ६–१ को बनाए ।

त्यसपछि ८६ औं मिनेटमा लिरोय सानेले गोल गर्दै बायर्नलाई ७–१ को फराकिलो जित दिलाए ।