NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

माधव नेपालको ८ बुँदे राजनीतिक प्रतिवेदनका के छ ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आठ बुँदे राजनीतिक प्रतिवेदनमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, एमालेसँगको विद्रोह, एमसिसी पारित गर्नुको बाध्यता, चुनावी तयारीलगायत विषयबारे व्याख्या गरेका छन् ।

व्याख्यात्मक टिप्पणीसहित एमसिसी संसद्बाट अनुमोदन भएपछि चर्को आलोचना खेपेका अध्यक्ष नेपालले फागुन २३ मा बसेको पोलिटब्यूरो बैठकबाट अनुमोदन गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका हुन् ।

अध्यक्ष नेपालले प्रतिवेदनको दोस्रो बुँदामा तत्कालीन एमालेको दक्षिणपन्थी विर्सजनवाद, व्यक्तिवादी अहंकारवाद, स्वैच्छाचारी निरङ्कुश र चरम गुटवन्दीविरुद्ध विद्रोह गरेको दाबी गरेका छन् ।

यस्तो छ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेश गरेका आठ बुँदे राजनीतिक प्रतिवेदन :

१. वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपाल

अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पहिलो बुँदामा समाजवाद र पुँजीवादबीचको अन्तर्विरोध नयाँ उचाइमा पुगेको उल्लेख छ । साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूबीचको अन्तर्विरोध जटिलमोडमा पुगेको विश्वमा पुनः शितयुद्ध निम्तिने खतरा रहेको उनले निष्कर्ष निकालेका छन् ।

नेपालले आफ्नो प्रतिवेदनमा समाजवादी चीनले गरेको दु्रतदर आर्थिक वृद्धिबाट अतालिएका अमेरिकालगायत पश्चिमा राष्ट्रले त्यसलाई अवरोध गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन् ।

त्यही शिलशिलामा चीनले अगाडि सारेको अन्तर्राष्ट्रिय विकास साझेदारी (बिआरआई) कार्यक्रमलाई रोक्न पश्चिमा नेटो संगठन गोलबन्द हुन लागेको र हिन्द प्रशान्त रणनीति अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ ।

२.दक्षिणपन्थी विर्सजनवादविरुद्ध विद्रोह र पार्टी पुनर्गठन

अध्यक्ष नेपालले प्रतिवेदनको दोस्रो बुँदामा तत्कालीन एमालेको दक्षिणपन्थी विर्सजनवाद, व्यक्तिवादी अहंकारवाद, स्वैच्छाचारी निरङ्कुश र चरम गुटवन्दीविरुद्ध विद्रोह गरेको दाबी गरेका छन् ।

एमालेसँगै संघर्षका क्रममा गठन गरिएको समानान्तर कमिटीलाई भदौ ९ मा एकीकृत समाजवादी पार्टी गठन भएपछि सबै जनवर्गीय संगठनमा रुपान्तरण भएको उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । पार्टी पुर्नगठनको क्रममा देशभर अहिले सबै वडामा आफ्नो संगठन विस्तार भएको दाबी गरेका छन् ।

३.पाँचदलीय गठबन्धन र सरकारमा सहभागिता
अध्यक्ष नेपालले यस बुँदामा नेकपालाई प्राप्त जनमतका आधारमा केपी ओली प्रधानमन्त्री भएको तर आफ्नै अहंकार र गलत विचारले संविधानविपरीत दुई–दुई पटक संसद् विघटन गर्दासमेत आफ्नो गल्ती नस्वीकारेपछि प्रतिगमनको विरुद्ध बाध्य भएर विद्रोह गर्नुपरेको उल्लेख गरेका छन् । संविधान, लोकतन्त्र र व्यवस्थालाई बचाउनका लागि आफूहरू बाध्य भएर सरकारमा जानुपरेको उनले दाबी गरेका छन् ।

४. राष्ट्रिय सभाको निर्वाचनमा एकीकृत समाजवादी

प्रतिवेदनको ४ नम्बर बुँदामा नेपालले माघ १२ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले आफ्नो सिट संख्या सुरक्षित गरी थप एक सिट थप गर्नुलाई उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् ।

५.एमसिसी र व्याख्यात्मक घोषणा

अमेरिकी सहयोग परियोजना एमसिसी सुरुमा हस्ताक्षर गर्दा विवादित बुँदा नभएको र पछि थप भएको नेपालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । ओली नेतृत्वको सरकार बन्नु अघिसम्म एमसिसी संसद्बाट अनुमोदन गर्ने बुँदा नभएको जिकिर गर्दै उनले ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको आरोप लगाएका छन् । उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि एमसिसीले फेरी विवाद सतहमा आएपछि पार्टीले झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल गठन गरेको उल्लेख छ ।

कार्यदलले एमसिसी सम्झौतामा ११ बुँदा आपत्तिजनक भएको बताएपछि यथास्थितिमा एमसिसी पास नगर्ने पार्टीले निर्णय गरेको आफ्नो प्रतिवेदनमा उठाएका छन् । तर, फागुन १५ सम्म आइपुग्दा कांग्रेस र एमालेबीच विभिन्न चरणमा वार्ता भएको छ । एमसिसी अनुमोदन नभए सभामुखलाई हटाउने, आफ्ना १४ सांसदलाई कारवाही गर्ने र पार्टीको अस्तित्व नै समाप्त पार्ने षड्यन्त्र भएपछि व्याख्यात्मक टिप्पणीसहित वैकल्पिक बाटो रोजी ठूलो दुर्घटना रोकेको दाबी गरेका छन् ।

६.वर्तमान राष्ट्रिय परिस्थिति

यस बुँदाअन्तर्गत अध्यक्ष नेपालले मुलुकको राजनीति अझै तरल अवस्थामा रहेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादी पार्टीको अस्तित्व समाप्त पार्न र गठबन्धन टुटाउन ठूलो षड्यन्त्र ओलीबाट भइरहेको उल्लेख गरेका छन् । उनले मुलुकको राजनीति अतिवादी दक्षिणपन्थी र वाम लोकतान्त्रिक गरी दुई धारमा रहेको जिकिर गर्दै प्रतिगामी व्यक्तिवादी प्रवृद्धिबाट मुलुकलाई जोगाउन इमान्दारपूर्वक लाग्नुपर्ने उल्लेख गरेका छन् ।

७.तत्कालीन कार्ययोजना

नेपालले ७ औं बुँदामा पार्टीले लिएको तत्कालिन कार्यदिशा र कार्ययोजनालाई सेवा गर्ने खालको हुनुपर्ने बताएका छन् । दलाल नोकरशाही पुँजीवादी शोषण, दमन, उत्पीडन र साम्राज्यवादी हस्तक्षेपविरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगेर्ना गर्नुपर्ने उल्लेख गरेका छन् ।

८. चुनावको तयारी

यस बुँदामा स्थानीय तहको चुनावलाई पार्टीले अधिकतम उपयोग गर्ने नीति लिएको छ । चुनावी परिणाम धेरैभन्दा धेरै आफ्नो पक्षमा पार्न पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने रणनीति बनाएको छ ।

नेता–कार्यकर्तालाई माधवको निर्देशन : एमसिसीविरुद्ध लेखेका स्टाटस मेटाउनू