NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

तौल बढाउन चाहानुहुन्छ ? यसरी खानुहोस् बदाम

काठमाडौं । प्रायः मानिसहरु मोटोपनका कारण चिन्तित हुन्छन् र तौल घटाउने प्रयास गर्छन् । तर केही व्यक्तिहरु निरन्तर तौल बढाउन प्रयास गर्दा पनि दुब्लै हुन्छन् । दुब्लो तथा पातलो शरिरले मानिसको व्यक्तित्वमा असर पार्छ । साथै आत्मबल पछि घटाउँछ ।

मानिसहरुले तौल बढाउन प्रोटीन पाउडर वा सप्लिमेन्टको प्रयोग गर्छन् । योबाहेक तौल बढाउन हामी प्राकृतिक तरिका पनि अपनाउन सक्छौं । जसका लागि बदाम उपयुक्त मानिन्छ । बदाममा प्रोटीन र स्वस्थ फ्याट हुन्छ । यसले हाम्रो तौल बढाउन सहयोग गर्छ । बदाम क्यालोरी, प्रोटिन, फाइबर र हेल्दी फ्याटका साथै पोटासियम, भिटामिन इ, क्याल्सियम र म्याग्नेसियमको पनि स्रोत हो ।

१) बदाम र दुध
बदाम र दुध दुवैमा प्रोटीन भरपूर मात्रामा पाइन्छ । यो मांशपेशीको विकासमा फाइदाजनक हुन्छ । तौल बढाउन बदाम र दुध एकैसाथ सेवन गर्न सकिन्छ । यसका लागि ४/५ वटा बदाम रातमा भिजाएर राख्ने र बिहान यसलाई पिसेर दुधसँग मिलाएर खान सकिन्छ । लगातार यसरी बदाम र दुध खाँदा तौल बढ्दै जान्छ ।

२) बदामको दूध
बदामको दुध पिउँदा पनि हामी तौल बढाउन सक्छौं । यसका लागि राती भिजाएर राखेको बदाम पिसेर दुधमा घोल्न सकिन्छ । दुधमा बदाम हालेपछि त्यसमा इलैंची पाउडर र चिनी राखेर उमाल्नुपर्छ ।

३) बदामको हलुवा
मोटाउनका लागि बदामको हलुवा पनि बनाएर खान सकिन्छ । तातो पानीमा बदाम उमाल्ने र यसलाई मसिनो हुने गरी पिस्ने । एक प्यानमा घिउ तताउने र बदामको पेस्ट हाल्ने । बदामको पेस्ट खैरो हुने बेलासम्म चलाउने, त्यसपछि चिनी हाल्ने । तयार भएको बदामको हलुवामा किसमिस, काजु, पिस्ता पनि मिसाउन सकिन्छ ।

४) बदामको लड्डु
बदामको लड्डु बनाएर खाँदा पनि मोटाउन सकिन्छ । यसका लागि हल्का तातो पानीमा भिजाएको बदाम पिस्ने । एउटा प्यानमा घिउ, चिनी र बदाम–दुधको पेस्ट हाल्ने र एकछिन फ्राइ गर्ने । फ्राइ गरेको एकछिन पछि हातले विस्तारै लड्डुको आकार दिन सकिन्छ । दैनिक बदामको लड्डु खाँदा तौल बढ्छ ।