NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी हुन् माधव नेपालले मन्त्रीहरूलाई दिएका १० निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीका कार्यशैलीप्रति अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि पोखेका छन् ।

बिहीबारदेखि काठमाडौंको बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टीको निर्देशन बमोजिम प्रभावकारी काम गर्न नसकेकोमा असन्तुष्टि जनाएका हुन् ।

स्रोतका अनुसार पार्टीबाट सरकारको नेतृत्व गरेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षमन्त्री कृष्णकुमार श्रेष्ठको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्ट देखिएका छन् । कोभिड–१९ महामारीले जनता आक्रान्त भइरहेको अवस्थामा २ लाख ४० हजार भ्याक्सिन गायब भएपछि मन्त्री खतिवडाको निकै आलोचना भएको थियो । मन्त्री खतिवडाको कार्यशैलीप्रति अध्यक्ष नेपालले सार्वजनिक रूपमै आलोचना गरेका थिए ।

त्यस्तै शहरी विकासमन्त्री झाँक्रीले स्थानीय तहका प्रमुखसँग मिलेर जनहितविपरीत काम गरेको भन्दै नेपाल असन्तुष्ट छन् । यसैगरी श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नागरिक तथा श्रमिकको पक्षमा राम्रो काम गर्न नसकेकोमा नेपाल असन्तुष्ट छन् । त्यस्तै नारायणहिटी संग्राहलयबाट बतास समूहलाई हटाएर चर्चा कमाएका मन्त्री प्रेमबहादुर ओलीको कामप्रति सन्तुष्ट रहे पनि उनको अराजक शैलीप्रति उनी सन्तुष्ट छैनन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार समूहगत छलफलमा सरकारमा सहभागी मन्त्रीहरूले जनपक्षीय काम गर्न नसकेको भन्दै फिर्ता बोलाउनुपर्ने सुझाव दिएका छन् ।
अध्यक्ष नेपालले आफ्ना पार्टीबाट संघीय सरकार र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई कात्तिक पहिलो साता १० बुँदे निर्देशन दिएका थिए ।

यस्ता छन् १० बुँदे निर्देशन :

१. इमान्दारिता र कर्तव्य निष्ठाका साथ काम गर्न ।
२. राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न ।
३. निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहन ।
४.योग्यता, क्षमता र कार्यसम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनोट गरी जिम्मेवारी दिन ।
५. विवादमा पर्ने कुनै पनि काम नगर्न ।
६. स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न ।
७. पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न ।
८. सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूबाट नियमित रूपमा राय परामर्श लिन ।
९. नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटोछरितो ढंगले काम गर्न ।
१०. पाँचदलीय गठबन्धनको भावनाअनुरूप अन्य दलहरूसँग सहकार्य गर्न ।

एकीकृत समाजवादीबाट को–को मन्त्री छन् ?

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरी भदौ २ मा एमालेबाट माधव नेपाल समूह अलग भएपछि निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरिएको थियो । भदौ ९ मा आयोगले उक्त पार्टीलाई मान्यता दिएपछि असोजको तेस्रो साता देउवा नेतृत्वको सकारमा चार मन्त्री र एक राज्यमन्त्री सहभागी भएका थिए ।

एकीकृत समाजवादीबाट मन्त्रीको नेतृत्व विरोध खतिवडाले गरेका छन् । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । त्यस्तै रामकुमारी झाँकी सहरी विकास, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री र कृष्णकुमार श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ सहभागी छन् ।

मन्त्रीहरूको कार्यशैलीप्रति माधव नेपाल असन्तुष्ट, बैठकमै आलोचना