NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

के केजरीवालले कांग्रेसलाई ‘रिप्लेस’ गर्लान् ?

दिल्ली । अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) ले भारतकाे राज्य पञ्जाबमा भारी बहुमतका साथ जित हासिल गरेको छ । पञ्जाबको ११७ विधान सभा सिटमध्ये ९१ सिट जितेको छ । यस जितपछि अरविन्द केजरीवालले आपको जित एक क्रान्ति भएको र यो क्रान्ति पुरै देशभर फैलिने बताएका छन् । उनले अब देशलाई अगाडि बढ्न कसैले रोक्न नसक्ने पनि बताए । उनले आफ्नो पार्टी राष्ट्रिय स्तरमा विस्तार हुने पनि बताए ।

पञ्जाबको नतिजापछि केजरीवालले भने, ‘हामीले ७५ वर्ष बर्बाद गरेका छौं । अब धेरै समय बर्बाद गर्न हुँदैन । सबै आम आदमी पार्टीमा सहभागी हुनुपर्छ । आप पार्टी हैन क्रान्ति हो । यस पार्टीले भगत सिंहको सपना पुरा गरिरहेको छ ।’

आपले पञ्जाब जितेपछि नेता राघव चड्ढाले आपले कांग्रेसको स्थान लिने प्रतिक्रिया दिएका थिए । पञ्जाबमा कांग्रेसलाई हराएर आपले सत्ता हासिल गरेको हो । गोवामा पनि आम आदमीले दुई सिट जितेको छ ।

पञ्जाबमा जित हासिल गरेपछि केजरीवाल दिल्लीको हनुमान मन्दिर पुगेका थिए । उनीसँगै उनका क्याबिनेट मन्त्री मनिष सिसोदिया र सत्येन्द्र जेन पनि थिए । यसभन्दा पहिला पनि आम आदमी पार्टीले राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बढाउने प्रयास गरेको थियो तर सफलता मिलेको थिएन । तर यसपटक पञ्जाबमा आपले गरेको अप्रत्याशित जितपछि पार्टी उत्साहित भएको छ ।

आम आदमी पार्टी सन् २०१२ मा ‘इन्डिया अगेन्स्ट करप्सन’ संस्थाले गठन गरेको थियो । सन् २०१४ को लोकसभा निर्वाचनमा आपले ४०० सिटमा उम्मेदवार उतारेको थियो । केजरीवाल पनि नरेन्द्र मोदीविरुद्ध बनारसबाट चुनावी मैदानमा उत्रिएका थिए । तर आम आदमी पार्टीले त्यसबेला पञ्जाब जम्मा ४ सिट जित्यो । यसपछि राष्ट्रिय स्तरमा आम आदमी पार्टीको आगमन रोकिएको थियो ।

सन् २०१५ मा भएको दिल्ली विधानसभा निर्वाचनमा आपले ७० मध्ये ६७ सिटमा जित हासिल गरेको थियो । यस जितपछि आपको आशा बढ्यो तर केही समयमै योगेन्द्र यादव र प्रशान्त भुषणलाई पार्टीबाट निलम्बन गरियो ।

यसपछि आम आदमी पार्टीले धेरै राज्यमा चुनाव लडे पनि सन् २०१७ मा पञ्जाबमा मात्रै खाता खोल्न सफल भएको थियो । त्यस समय त्यहाँ २० सिट जितेको थियो । सन् २०२० मा दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ७० मा ६२ सिट जित्यो । भनिन्छ, आपले रातारात कांग्रेसको ठाउँ लिन त सक्दैन तर कांग्रेसको खाली ठाउँ भर्ने क्षमता भने आपसँग छ ।

आपको यस जितपछि सन् २०२४ मा विपक्षीको ठाउँ अरविन्द केजरीवालले लिन सक्छन् । कांग्रेसको मनमोहन सिंहको सरकारमा कानुनमन्त्री रहेका अश्विनी कुमार आप र टिएमसी वैकल्पिक राजनीतिमा महत्वपूर्ण खेलाडी बनेको बताउँछन् ।